गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले, पश्चिम बंगाल, सरकारद्वारा राज्यका सबै निम्न उच्च विद्यालयदेखि उच्चत्तर तहसम्मका विद्यालयहरूमा राज्यको गीत ‘बागंलार माटी, बागंलार जल’ गीत बिहानको प्रार्थना सभाको समय गाइनुपर्ने राज्य सरकारको अध्यादेश जारी गरिएको भए तापनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अलग एवं स्वायत्त व्यवस्था रहेको कारणले उक्त अध्यादेश जीटीएक्षेत्रका विद्यालयहरूमा लागु नहुने सबैलाई अवगत गराएका छन्। उक्त अध्यादेशको सन्दर्भमा दार्जीलिङ पहाड़मा पनि विभिन्न प्रकारको चर्चा-परिचर्चाहरू चलिरहेको छ। दार्जीलिङ पहाड़को आफ्नै छुट्टै विशेषता छ। यहाँ विविध भाषा- संस्कृति र परम्पराहरू रहिआएको छ भने दार्जीलिङवासीले हरेक धर्म परम्परालाई सम्मानजनक दृष्टिकोणले हेरिने गरिएको छ। यसरी विविधतामाझ अनेकताको एउटा ज्वलन्त उदाहरणको रूपमा दार्जीलिङ पहाड़ले आफ्नो अस्तित्व कायम राखिरहेको भए तापनि यहाँको राजनैतिक, भौगौलिक तथा पारम्पारिक व्यवस्थामा भने सैयौं वर्षदेखि केही पृथकता छ। दार्जीलिङ पहाड़को आफ्नै सांस्कृतिक पहिचान र परम्परा रहिआएको छ र मानिसहरूको भावना यसैसित जड़ित छ। यसैले दार्जीलिङ पहाड़को सांस्कृतिक परम्परालाई सम्मान गर्दै राज्य सरकारको उक्त गीत पहाड़का विद्यालयहरूमा लागु नहुने थापाले सबैलाई अवगत गराएका छन्। दार्जीलिङ पहाड़का सबै विद्यालयहरूमा राष्ट्रगीतभन्दा अघि आफ्नै विद्यालय गीत, प्रार्थना गीतहरू गाइने प्रचलन छ र सोही प्रचलनलाई सम्मान अनि मान्यता दिँदै दार्जीलिङ पहाड़का विद्यालयहरूमा आजसम्म जे परम्परा रहिआएको छ सोही परम्परा नै यथावत् रहने उनले बताएका छन्।












