तीनधारे, (निसं)ः स्प्रीङडेल एकेडमी स्कूलको 16 औँ वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको खेल मैदानमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूमा खेलकूदप्रतिको रुचि, अनुशासन र टीमभावना विकास गर्ने उद्देश्य राखिएको थियो। कार्यक्रमको सुरुवात विद्यार्थीहरूको आकर्षक मार्च पास्ट, एरोबिक ड्रिल तथा प्रेरणादायी स्पोर्ट्स स्लोगन प्रस्तुतिसँगै गरिएको थियो। यस कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधान अध्यापक शरणकुमार राईले राखेका थिए। उद्घाटन समारोहमा विद्यार्थी, शिक्षकशिक्षिका, अभिभावकहरू तथा महानदी सिविटार वेलफेयर वरिष्ठ नागरिक संघका वरिष्ठ सदस्यहरू जगनाथ छेत्री, मैतसिंह राई, निमा तामङ, मदन तिवारी, अशोक कुमार छेत्री, सल्लाहकार श्री जुद्दा शमशेर छेत्री, दुर्गाप्रसाद तामङ तथा सचिव बीरुनारायण प्रधानको उपस्थितिमा राष्ट्रिय गान र राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो। यस खेलकूद कार्यक्रम अन्तर्गत 3 वटा ट्रयाक इभेन्ट र 10 वटा क्षेत्र (फिल्ड) इभेन्ट सम्पन्न भए। उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरूलाई गोल्ड, सिल्भर र ब्रोन्ज मेडल प्रदान गरियो। जम्मा 66 वटा मेडल वरिष्ठ नागरिक संघका सदस्य तथा अभिभावकहरूद्वारा वितरण गरिएको थियो। खेलकूद कार्यक्रमको समन्वय शिक्षिका सुनिती घिसिङ, प्रतिशा देवान, रति सुब्बा र आशिका यादवले गरेका थिए भने कार्यक्रमको सफल सञ्चालन उद्घोषक शिक्षिका ईशा राईले गरेकी थिइन्। कार्यक्रमको अन्त्यमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै खेलकूदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरा व्यक्त गरियो।












