दार्जीलिङको कलामा चार दशकदेखिको मौन प्रवर्तक

Share this news

सञ्जय प्रधान⇒ 

सानोमा लुकी लुकी नाच्ने लह्मु शेर्पा आज दार्जीलिङको सांस्कृतिक भूमिमा सक्रिय नाम बनेको छ। गएको चार दशकदेखि उनले भारतीय शास्त्रीय नृत्य र नेपाली लोकनृत्य सिकाउँदै स्थानीय स्तरमा यसको प्रवर्धन गर्ने कार्यमा विशेष योगदान दिँदै आएकी छिन्। स्व० फूर्वा लामा शेर्पा र स्व० पुष्प लामाकी छोरी लह्मु शेर्पाले आफ्नो जीवन शास्त्रीय र लोकनृत्यको संरक्षण र प्रवर्धनमा समर्पित गरेकी छिन्।

दार्जीलिङको एन बी सिंह रोडस्थित ‘त्रिवेणी संगीतालय’ भन्ने साथ लह्मु शेर्पा बुझिन्छ। पचपन्न हट्टा निवासी लह्मु शेर्पाले यही संगीतालयमा चार दशकको अन्तरालमा सयौं होइन, हजारौंलाई नृत्य सिकाएकी छिन्। कसैलाई शास्त्रीय कथकमा डिग्री, कसैलाई मौलिक लोकनृत्यमा जरा गाड़्न प्रेरणा दिएकी छन्। शायद कति नृत्य सिक्नेहरू थाके होलान्, तर लह्मु शेर्पा थाकेकी छैनन्। बाबु तबला वादक, दिदी स्व०  कुमारी शेर्पा सितार वादक भएकाले घरमा संगीतको रमाइलो वातावरण थियो। दिदी नेपालमा सुपरिचित सितार वादक थिइन्। सन् १९८५ मा बाबुले वाद्य, संगीत, नृत्यको संगमको प्रतीक रूपमा ‘त्रिवेणी संगीतालय’ स्थापना गरेको लह्मु बताउँछिन्। पहिला यहाँ नृत्यसँगै वाद्य वादन र गायन पनि सिकाइन्थ्यो। अहिले नृत्य मात्र सिकाइन्छ, र यहींबाट डिग्री पनि गर्न सकिन्छ।

हाम्रो लोकनृत्य, शास्त्रीय नृत्यको जगेरा गर्न म दार्जीलिङलाई माया गरेर नै मर्छु

चार वर्षको उमेरदेखि लह्मु शेर्पाले हातले समाउन सकी नसकी सितार बजाउन सिकेकी हुन्। नृत्य भने यस्तै १४ वर्षकी हुँदादेखि लुकी लुकी शुरु गरेकी हुन्। कारण बाबुले सितार बजाउनु भन्थे। दार्जीलिङका नृत्यका सुपरिचित गुरुजी गगन लेप्चासित कथक र लोक नृत्य सिकिन्। उनले सितार र नृत्य दुवैमा विशारद गरेकी हुन्। लोक नृत्य दावा यल्मो, रञ्जित घिसिङ र काठमाड़ौंमा प्रवेश बान्तवासित पनि सिकिन्। त्यति बेला गगन लेप्चा, दावा योल्मो लोक मनोरञ्जन शाखामा थिए। सितार आकाशवाणी खरसाङका पूर्वा लामासित र गीति गुञ्ज संगीत महाविद्यालयका संस्थापक स्व0 प्रतापसिंह लोहारसित पनि सिकेको उनी बताउँछिन्।

सन् १९९२ देखि ‘त्रिवेणी संगीतालय’को जिम्मेदारी लह्मु शेर्पाले लिइन्। ‘त्रिवेणी संगीतालय’ कलकताको ‘बंगीय संगीत परिषद’ र ‘सर्व भारतीय संगीत-ओ-संस्कृति पर्सिषद’सित सम्बद्धता छ। उनी शास्त्रीय नृत्यका एकजना परीक्षक पनि हुन्, अन्य ठाउँतिर परीक्षकको रुपमा जान्छिन्। उनीद्वारा तालिम प्राप्त अनुष्का छेत्री सन् २०१४ को ‘डान्स इण्डिया डान्स’ (डीआईडी)मा पहिलो उपविजेता बनेकी थिइन् भने बिन्दा पोर्तेल ‘जी बंगला डान्स’मा विजयी बनेकी छिन्। लह्मु शेर्पा दार्जीलिङबाट उत्कृष्ट नृत्य कलाकारहरू तयार गर्न निरन्तर कार्यरत छिन्। उनीसितै नृत्य सिकेकी दार्जीलिङ भेकका सुपरिचित कलाकार पन्नु गजमेरले सालबारीमा नटराज कला केन्द्र स्थापना गरेकी छिन्। सोनादा निवासी हाल अमेरिका बस्दै आएकी सुपरिचत गायिका डोमा शेर्पाले पनि नृत्य उनीसितै सिकिन्। डोमा शेर्पाकै सक्रियतामा लदाखमा हुने ‘नरोपा’ उत्सवमा नृत्यको निम्ति सहभागी बन्नसकेको उनी सम्झिन्छिन्। खरसाङकी सुपरिचित लोक गायिका सुचिता खातीको गीतमा ‘उफ्री उफ्री नाँच्थे’ भन्दै सम्झिएर हाँस्छिन्।

उनले धेरै म्यूजिक भिडियोहरू, र आदित्य रायाको चलचित्र ‘हम जाएगा हुन्छु म पनि’ र ‘पुनर्जन्म: कथाको शुरुवात’मा कोरियोग्राफ गरेकी छिन्।  दार्जीलिङको लोकप्रिय ब्याण्ड ‘कार्निभल’सित धेरै कार्यक्रमहरू गरेको लह्मु शेर्पा बताउँछिन्। सुपरिचित संगीतकार चन्दन लोम्जेलको सक्रियतामा स्थापित भएको कार्निभलको सांस्कृतिक प्रकोष्ठ ‘कञ्चनजङ्घा सांस्कृतिक टोली’मा लोकनृत्यका कार्यक्रमहरू धेरै गरिन्। यसमा लोक संगीतको टोलीले मञ्चमै गएको गीतमा लोकनृत्य गर्दा खुबै रमाइलो हुने गरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘‘पहिला मञ्चमा लाइभ गीतमा लोकनृत्य गरिन्थ्यो। मेरो गुरू छवि सिंहले मादल बजाउनु हुन्थ्यो। मलाई धेरै सिकाउनु भयो। उनले संगीतको क्षेत्रमा आफ्नो जीवनको अन्तिम क्षणसम्म नै साथ दिनुभयो।’’ उनको देहवासनले ‘त्रिवेणी संगीतालय’लाई क्षति पुगेको बताउँछिन्।

दार्जीलिङ गोर्खा पार्वत्य परिषदको सूचना अनि सांस्कृतिक विभागमा पाँच छ वर्ष काम गरिन्। कक्षा पाँचमा हुँदा पश्‍चिम बंगाल सूचना अनि संस्कृति विभागको सक्रियतामा ‘बम्बई’ (अहिले मुम्बई)मा नृत्य प्रदर्शन गरिन्। सो बेलाको कुरा सम्झिन्छिन्, ‘‘त्यति बेला टल्किने कागजको गरगहना बनाएर लगेका थियौं, सिरुपाते खुकुरी पनि लगेका थियौं।’’ पछि त्रिवेणी संगीतालयको टोली लिएर कोलकाताको विभिन्न ठाउँमा नेपाली लोकनृत्य प्रस्तुत गरेको बताउँदै यसको निम्ति पश्‍चिम बंगाल सूचना अनि संस्कृति विभागकी वरिष्ठ अधिकारी सुप्रिना ब्लोनप्रति आभार प्रकट गर्छिन्। त्रिवेणी संगीतालयको टोलीलाई लिएर नेपालमा पनि च्याब्रुङ नृत्य गरिन्। दिल्लीमा आर्ट अफ् लिभिङका श्री श्री रवि शंकरका करिब 350 जना सदस्यहरूलाई हातमा थाल लिएर मारुनी नृत्य गराएकी थिइन्। दार्जीलिङ पहाड़ी भेकमा हुने विभिन्न नृत्य प्रतियोगिताहरूका उनी निर्णायक पनि हुन्। दार्जीलिङमा भएको ‘बागवानी’ कार्यक्रमको नृत्य प्रतियोगितामा पनि उनी तीन वर्ष निर्णायक थिइन्। यस प्रतियोगितामा घरका आमाहरू पनि सहभागी रहेको उनी बताउँछिन्।

लह्मु शेर्पासित अमेरिका, अस्ट्रेलिया, जापानबाट विदेशीहरू आएर सितार सिकेर गए। संगीतमा उनीहरूको समर्पणबारे उनी भन्छिन्, ‘‘उनीहरू यति बढ़ी घोटिए, डेढ़ महिनामै धेरै सिके।’’ एकजना अमेरिकी विद्यार्थीले उनलाई अमेरिकामै लैजाने प्रयास गरे, तर दार्जीलिङ, यहाँका  प्रतिभाहरू र कलाकारहरूलाई माया गर्ने हुँदा गइनन्। नृत्यको क्षेत्रमा इच्छा राख्नेहरूका लागि यसमा राम्रो अवसर रहेको उनको भनाइ छ। उनी भन्छिन्, ‘‘हाम्रो लोकनृत्य, शास्त्रीय नृत्यको जगेरा गर्न म दार्जीलिङलाई माया गरेर नै मर्छु।’’ नृत्य सिक्न आउने आधा भन्दा बढ़ीलाई नि:शुल्क सिकाउँछिन्।

दार्जीलिङ भेकमा लोकनृत्य, शास्त्रीय नृत्यको स्थितिलाई हेरेर उनी चिन्तित छिन्। कयौं नृत्य कलाकार जन्माउने ‘त्रिवेणी संगीतालय’को संचालनको भविष्यबारे पनि उनी चिन्तित छिन्। आफ्नो संस्कृति बाँचिरहोस् भन्ने कामना गर्छिन्। वर्तमान स्थितिलाई हेर्दा दार्जीलिङबाट झर्रा लोक संगीत हराएर जाने त होइन! भन्ने कुरालाई लिएर पनि उनी चिन्तित छिन्। लह्मु शेर्पाको साधना भनेकै मौन संघर्षको कथा हो, जसले दार्जीलिङको नृत्य संस्कृतिलाई अझै जरा गाड़ेर उभ्याइरहेछ।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ