खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिकाे महारानी चियाबारीमा हिमालयन फ्रि चर्चको आयोजनामा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न भएको छ। महारानी चियाबारीको स्कूल परिसरमा सम्पन्न उक्त प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रममा प्रमुख वक्ताको रुपमा प्रेरित ध्रुव ‘शिष्य’ उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सन्त मेरिज ग्राम पञ्चायत एकको पञ्चायत प्रधान रोशनहाङ सुब्बा, महारानी चियाबारीको प्रबन्धक, समाजको सभापति कर्म थामी, रेभ. सिमोन मुखिया लगायत अन्यहरु उपस्थित रहेका थिए। स्थानीय पास्टर सुनिल तामाङ र केवल सेञ्चुरीले सञ्चालन गरेको कार्यक्रममा शारदा गजमेर, पास्टर प्रमीत सुनाम र अन्यले गीत प्रस्तुत गरेका थिए भने नानीहरुले समूह नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा आराधनामा जोना तामाङले अगुवाई गरेका थिए। कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै प्रेरित ध्रुव ‘शिष्य’ले बाईबलबाट सन्देश बाँडेका थिए। उनले मानिसहरुको मनको पीर मेटाउन क्रिसमसको बेलामा संसारमा जन्मनु भएको यीशुले मेटाउन सक्छ, किनभने यीशुले सबैलाई प्रेम गर्नुहुन्छ भनी बताएका छन्। यस अवसरमा प्रेरित ध्रुव ‘शिष्य’ लाई हिमालयन फ्रि चर्च महारानीको तर्फबाट सम्वर्द्धना जनाइएको थियो। यस अवसरमा उनलाई श्रद्धार्पणसहित शल ओढाएर सम्बर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइएको थियो। यसै कार्यक्रममा महारानी गाउँका 12 जना वरिष्ठ नागरिकहरुलाई चर्चको तर्फबाट खदार्पणसहित उपहार प्रदान गरेर सम्मान जनाइएको थियो। यस अवसरमा सबै वरिष्ठ नागरिकहरुका लागि प्रार्थना पनि गरिएको थियो। कार्यक्रमलाई विशिष्ट अतिथिको रुपमा उपस्थित पञ्चायत प्रधान रोशनहाङ सुब्बाले सम्बोधन गरेका थिए। कार्यक्रममा चर्चको तर्फबाट केक काटेर प्रि क्रिसमस पालन गरिएको थियो। यस अवसरमा केकको लागि प्रार्थना सेविका निता छेत्रीद्वारा प्रार्थना गरिएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन पास्टर सुनिल तामाङले राखेका थिए भने अन्तिम प्रार्थना र आशिष रेभरेन्ट सिमोन मुखियाले राखेका थिए। महारानीमा सम्पन्न प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिमालयन फ्रि चर्च महारानीको पास्टर सुनिल तामाङले विस्तृत जानकारी गराएका थिए।










