आध्यात्म र अनुशासनबीच उदाएकी अभिनेत्री श्यामाश्री

Share this news

सञ्जय प्रधान⇒ 

सानोमा बोल्न हिचकिचाउने श्यामाश्री शेर्पा आज नेपाली चलचित्रको संसारमा सशक्त अभिनेत्रीको रुपमा उदाएकी छिन्। एक महिना अघि २९ सेप्टेम्बर फूलपातीमा रिलिज भएको उनीद्वारा अभिनीत चलचित्र ‘माइतीघर’ले निक्कै प्रशंसा बटुल्न सफल बन्यो। आफ्नो प्रभावकारी अभिनयका कारण उनी दर्शकहरूबीच छाएकी छिन्। यथार्थपूर्ण कथामा जीवनको अर्थ खोज्ने श्यामाश्री अहिले अभिनय र निर्माण दुवै यात्रामा आत्मविश्‍वासका साथ अघि बढ़िरहेकी छिन्।

पूर्व सिक्किमको सिङताम निवासी दावा छिरिङ शेर्पा र सावित्री छेत्रीकी छोरी श्यामाश्री सानैदेखि टेलिभिजन र चलचित्रप्रति आकर्षित थिइन्। तर उनको पारिवारिक वातावरण फरक थियो- आध्यात्मिक र अनुशासित। भागवतगीतामा रुची भएका बाबु दावा शेर्पाले बिहेअघि नै हिन्दू धर्म ग्रहण गरेर ‘प्रणामी’ बने, आमा पेशाले शिक्षिका थिइन्। हिउँदमा आमाबाबुले धार्मिक शिविरहरूमा लैजाने गर्थे। छोरी सरकारी कर्मचारी या धर्मप्रचारक बनोस् भन्ने चाहना परिवारको थियो। आध्यात्म र अनुशासनबीच पलाएको थियो श्यामाश्रीको चाहना।

‘‘चलचित्र निर्माण खेलाँची होइन। यसमा सम्पूर्ण समय, उर्जा, सोच्ने तरिका र आर्थिक दिगोपन चाहिन्छ’’

सानैदेखि नृत्य मन पराउने हुनाले गान्तोकको डान्सशालामा भरतनाट्यमको प्रारम्भिक तालिम लिइन्। अनुहारका भाव र अभिव्यक्तिहरूले उनलाई आकर्षित गर्थे। सिक्किमका नृत्य प्रतियोगिताहरूमा सहभागी भएर जितेकी पनि छिन्। टाँसी नामग्याल एकाडेमीमा पढ़ेकी उनी सानोमा कम्ति बोल्थिन्, प्राय: आफैभित्र सीमित रहन्थिन्। नाच्न मन पराउँथिन् तर स्कूलमा मनको कुरा खुलेर भन्न सक्दिन थिइन्, त्यसैले कार्यक्रमहरूमा सहभागी भइनन्। घरका जमघटमा पनि नाच्न लजाउँथिन्, तर मनभित्र अभिनेत्री बन्ने लक्ष्य दृढ़ थियो। एकपटक स्कूलमा नेशनल स्कूल अफ् ड्रामाको ‘किड्स वर्कशप’मा सहभागी हुँदा अभिनयबारे राम्ररी बुझिन्। बाल्यकाललाई हेर्दै उनी सम्झिन्छिन्, ‘‘सो बेला आत्मविश्‍वास कम भएर पनि होला।’’

अभिनेत्री बन्ने मोहले स्कूल सकेपछि कलकत्ताको श्री शिक्षायतन कलेजबाट जर्नलिज्म एण्ड मास कम्युनिकेशनमा स्नातक गरिन्। अभिनयमा लाग्ने कुरा परिवारले सहजै स्वीकारेनन्। श्यामाश्रीले आफ्नो निर्णय आफै लिने भन्दा बाबुले मुम्बईमा लगेर ‘किशोर नमित कपूर एक्टिङ इन्स्टिच्युट’मा भर्ना गरिदिए, जहाँ बलिवुडका चर्चित कलाकारहरू प्रियंका चोपड़ा, रणवीर सिंह, वरुण धवन, जोहन अब्राहम, पारिणीति चोपड़ाले पनि तालिम लिएका छन्। त्यहींबाट श्यामाश्रीले अभिनयमा एक वर्षको डिप्लोमा गरिन्।

 चलचित्र ‘माइतीघर’मा नायिका श्यामाश्री शेर्पा।

श्यामाश्रीको लागि मुम्बई टर्निङ प्वाइन्ट बन्यो। त्यहाँ उनले क्यामेराअघिको अभिनय, नाटक, सड़क नाटक राम्ररी बुझेर अनुभव बटुलिन्। कलेजमा हुँदासम्म मनभित्र दबिएकी कलाकार मुम्बईमा अंकुरित भइन्। त्यहाँ उनी आत्मविश्‍वासी बनिन्, त्यसैले मुम्बईप्रति आभार प्रकट गर्छिन्। उनी भन्छिन्, ‘‘आज म जे छु, मुम्बईले बनायो।’’ मुम्बईमा रहँदा उनले म्यागी, बिग बजार, मारुती गाड़ी, आईपीएलका विज्ञापनहरूमा काम गरिन्। त्यहाँ उनले ‘द् मिसिङ’ लघु चलचित्रमा पहिलो अभिनय गरिन् र पछि अन्य केही लघु चलचित्रहरूमा पनि देखिइन्। मुम्बईबाटै जय मेहता प्रोडक्सनको धारावाहिक ‘सुरभी’मा मुख्य भूमिकामा देखिइन्। यो धारावाहिक एमएक्स प्लेयरमा प्रसारित भयो र पछि दिल्ली दूरदर्शन राष्ट्रिय च्यानलले पनि प्रसारण गर्‍यो।

मुम्बई बसे पनि उनले परिवारको आध्यात्मिक संस्कारलाई आफूसितै जोड़ेकी देखेर आमाबाबु खुशी भए। उनी ‘प्रणामी’ धर्मका ग्रन्थहरू पढ़ि्छन्, ध्यान गर्छिन्। फरक विचारधाराकी आमा- छोरीले पारिवारिक संस्कार आत्मसात गरेकी देखेर आमा उनको अभिनय यात्रामा सहयात्री भइन्। अभिनय यात्राबारे उनी भन्छिन्, ‘‘यसमा प्यासन मात्र होइन, निखारिनु र पढ़्न पनि पर्छ।’’

कोभिड-१९ को लकडाउनपछि उनी सिक्किम फर्केर विभिन्न प्रोजेक्टहरूमा लागिन्। सन् २०२२ मा उनले ‘प्रेस कुकर’मा अभिनय गरिन्। सान्डुप लेप्चाद्वारा निर्देशित यो चलचित्र कुङ्मा हाउसद्वारा निर्माण गरिएको थियो। त्यसपछि ‘दार्जीलिङ मेल’का निर्देशक दिलीप राईद्वारा निर्देशित ‘मनको कुरा’मा अभिनय गरिन्, जुन रिलिज हुन बाँकी छ।

सन् २०२२ मा उनले आफ्नै प्रोडक्सन हाउस ‘सादा प्रोडक्सन्स्’ स्थापना गरिन्, जसको नाम आमाबाबु सावित्री छेत्री र दावा छिरिङ शेर्पालाई समर्पित गरिएको छ। श्यामाश्रीले चलचित्रमार्फत समाजलाई मनोरञ्जन मात्र होइन, सन्देश दिने सोच लिइन्। उनी भन्छिन्, ‘‘अहिले भिजुअल मिडियम ठूलो भएको छ, यसबाट हामीले अझ स्पष्ट रूपमा समाजका यथार्थ कुराहरू देखाउन सक्छौं।’’ उनकै ‘सादा प्रोडक्सन’बाट बनेको चलचित्र ‘तारा द् लस्ट स्टार’मा समाजको यथार्थलाई उजागर गरिएको छ। सामतेन भुटियाद्वारा निर्देशित यो चलचित्र विश्‍वकै प्रसिद्ध चलचित्र महोत्सव ‘कान्स फिल्म फेस्टिवल’मा सन् २०२४ मा प्रदर्शन भएको थियो।

‘तारा द् लस्ट स्टार’को कथा उनको मनमा बसेको सामाजिक यथार्थ थियो। आमासँग कथा साझा गर्दा चलचित्र बनाउन सुझाव दिइन्। श्यामाश्रीले कथा, र निर्देशक सामतेन भुटियाले पटकथा तयार गरे। आमाले प्रोत्साहन दिँदै चलचित्र निर्माणमा साथ दिइन्, जसमा श्यामाश्री स्वयं मुख्य भूमिकामा छिन्। त्यसपछि त्रिवेणी राईद्वारा निर्देशित ‘शेप अफ मोमो’ (नेपाली नाम-‘छोरा जस्तै’)मा अभिनय गरिन्। यो नारीवादी चलचित्र अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रदर्शन भएर चर्चित बन्यो, अब आउँदो वर्ष सिनेमाघरहरूमा रिलिज हुने सम्भावना छ। सिक्किमकै खाङ्सार प्रोडक्सन्सद्वारा निर्मित सुरज खातीद्वारा निर्देशित ‘हो नि हजुर’ पनि रिलिजको तयारीमा छ।

उनको प्रभावकारी अभिनय रहेको ‘माइतीघर’ले राम्रो सफलता पाएको छ। यस चलचित्रका निर्माता रोहित अधिकारी र निर्देशक मिलन तामाङ हुन्। पाँच दशकअघिको क्लासिक चलचित्र ‘माइतीघर’कै सर्वाधिक लोकप्रिय गीत यसपाली रिमेक गरिएको छ।

चलचित्र उद्योगमा महिलाको सुरक्षाबारे फरक दृष्टिकोण हुन्छ। श्यामाश्रीका अनुसार, विश्‍वसनीय प्रोडक्सन हाउसहरूमा सबै कुरा ठीक हुन्छन्। सबै कुरा बुझेर व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ। उनीसित कथाहरू छन् तर अहिले ‘सादा प्रोडक्सन्स्’बाट निर्माण गर्न समय मिलेको छैन। उनी भन्छिन्, ‘‘सादा प्रोडक्सन्स्’का धेरै प्रोजेक्टहरू आउनेछन्, अहिले अभिनय यात्रालाई प्राथमिकता दिएकी छु।’’

अभिनयमा व्यस्त भएकी कारण चलचित्र निर्माण गर्न नपाएकी उनी भन्छिन्, ‘‘चलचित्र निर्माण खेलाँची होइन। यसमा सम्पूर्ण समय, उर्जा, सोच्ने तरिका र आर्थिक दिगोपन चाहिन्छ।’’   यताका बजार साना भएकाले व्यापारका लागि कठिन हुन्छ। यस्तै कुरामा उनी भन्छिन्, ‘‘चलचित्र बनाउँछौं, तर व्यावसायिक रुपमा गाह्रो हुन्छ। निर्माता पनि बाँच्नुपर्छ।’’ भारतमा बनिएका नेपाली चलचित्रलाई विकास गर्न र नेपालमा मार्केटिङ गर्नेबारेमा उनी प्रयासरत् छिन्।

श्यामाश्री अभिनेत्री र निर्माता दुवै हुन्। उनी भन्छिन्, ‘‘मलाई यथार्थपूर्ण चलचित्र मनपर्छ। म कलात्मक र व्यावसायिक चलचित्रमा फरक मान्दिनँ, किनभने दुवैमा कला चाहिन्छ। मेरो भिजन यथार्थपूर्ण कथा देखाउने हो।’’ दर्शकले आफैलाई चलचित्रभित्र पाउने र समाजको ऐनाजस्तै चलचित्र बनाउन उनी रुचाउँछिन्।

सानोमा बोल्न हिचकिचाउने श्यामाश्री शेर्पा आज आत्मविश्‍वासी र सशक्त अभिनेत्रीको रूपमा चिनिएकी छन्। संघर्ष र अध्ययनबाट अभिनयमा गहिरो पकड़ बनाएकी उनले समाजका यथार्थ कथाहरू पर्दामा उतार्दै फरक पहिचान बनाइरहेकी छिन्।


Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ