भारतको पहिलो टेलेन्ट हन्ट ‘झुम इन्टरनेसनल’को ग्राण्ड फिनाले आगामी 9 नोभेम्बरका दिन आयोजना हुने भएको छ। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथि रहनेछन्। कार्यक्रमको उद्देश्य शारीरिक रूपमा असक्षम व्यक्तिहरूको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु रहेको आयोजक पक्षबाट थाह लागेको छ। कार्यक्रमको तयारीलाई लिएर आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका युवाध्यक्ष लाक्पा मोक्तानको विशेष उपस्थितिमा एउटा समन्वय बैठक सम्पन्न भयो। कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको हुने भएकाले यसलाई भारतसँगै नेपाल, भुटानजस्ता छिमेकी राष्ट्रहरूसम्म पुग्नेगरी व्यपक प्रचार गर्नुपर्ने महत्त्वमा जोड दिइएको छ। कार्यक्रम एसकेएम सामाजिक सेवा प्रकोष्ठ र सारथी फाउन्डेसनको सहकार्यमा सिक्किम राज्य सहकारी सङ्घको सहयोगितामा आयोजना हुनेछ।











