खरसाङ, (निसं)ः खरसाङ शहरको कतिपय स्थानमा फालिएको फोहोर-मैलामा रातिको समय भुस्याहा कुकुरहरू झुत्तिने गरेका छन्। यसरी फोहोर-मैलामा खाना खोजिरहेका कुकुरहरू मानिसहरूको निम्ति समस्या भइरहेको पनि गुनासोहरू प्राप्त भएको छ। शहरको कतिपय स्थानमा फालिएका फोहोर-मैलामा खाना खोज्दै गरेका कुकुरहरूले छेउबाट हिँड़िरहेका मानिसहरूलाई झम्टिने, छेउबाट हिँड़दा टोक्न खोज्ने गरेको मानिसहरूले बताएका छन्। फोहोर-मैलाको थुप्रोमा खाना खोजिरहेका यस्ता कुकुरहरू कुनै समय लड़ाई गरेर समस्या सृजना गर्ने गरेको पनि मानिसहरूले बताएका छन्।
मन्टभियट चिया बगानका एक व्यक्तिले रातिको समयमा यसरी फोहोर-मैलामा खाना खोजिरहेका अथवा फोहोर-मैलामा खानेकुरो खाइरहेका कुकुरहरूसित जोगिन पर्ने बताउदै एक रात तिनी यसरी फोहोर-मैलामा खानेकुरो खोजिरहेका कुकुरहरूको नजिकबाट जाँदा दुई-तीनवटा कुकुरले एकै साथ झम्टिएर टोक्न खोजेको बताए। तिनले भने यसरी फोहोर-मैलामा खानेकुरो खोजिरहेका कुकुरहरूको नजिकबाट हिँड़दा कुकुरहरूलाई खनेकुरो खोसिदिन्छ भन्ने हुन्छ अथवा खानेकुरो खान दिँदैन भन्ने हुन्छ। ङ्वारर् गरेर झम्टिन्दै टोक्न खोज्दो रहेछ। कुकुरले यसरी फोहोर-मैलामा खानेकुरो खोजिरहेको अथवा खाइरहेको छ भने तर्किएर हिँड़ेको उत्तम हो। तिनले यसरी सड़क किनार, बाटो, गल्लीमा फोहोर-मैला थुपार्नु पनि गलत रहेको बताए।
मन्टभियट रोडका एक व्यक्तिले रातिको समयमा फोहोर-मैलामा बाहिरबाट आएका कुकुरहरूले खानेकुरो खोज्ने र खाने गरेको र लड़ाई गर्ने गरेको बताउदै रातिको समयमा कुकुरहरूको लड़ाईले आफू दिक्क बनेको पनि बताए। स्मरण गराइन्छ, खरसाङ शहरी क्षेत्रमा वर्तमानमा धेरै मैलादानी बन्द गरिएको छ भने नगरवासीको घर, दोकानबाट निस्किएको फोहोर-मैला रातिको समयमा कतिपय नगरवासीले कुनै स्थानमा ल्याएर थुपार्ने गरेका छन्। राति नगरवासीले थुपारेका फोहोर-मैला बिहानै नगरपालिका कर्मचारीहरू आएर उठाएर लैजाने गरेका छन्। यसरी राति मानिसहरूले शहरको विभिन्न स्थानमा थुपारेका फोहोर-मैलामा भुस्याहा कुकुर, बिरालो अनि बाँदरहरूले खानेकुरो खोजेर खाने गरेको पाइएको छ।











