पश्चिम बंगाल विधानसभा चुनावको मिति नजिकिँदै जाँदा सबै राजनीतिक दलका उम्मेदवारहरूले आफ्नो चुनावी प्रचार तीव्र बनाएका छन्। कोही घर–घर पुगेर मत मागिरहेका छन् भने कोही सभा र जनसम्पर्क कार्यक्रममा व्यस्त छन्। यसैबीच बाँकुडा जिल्लाबाट चुनाव प्रचारको एउटा अनौठो दृश्य सार्वजनिक भएको छ। तृणमूल कांग्रेसकी महिला उम्मेदवार श्यामोली राय बागडी आफ्ना समर्थक र कार्यकर्तासँग लोकल ट्रेनमा यात्रा गर्दै मत माग्दै गरेको देखिएकी छिन्। उनले ट्रेनभित्रै यात्रुहरूसँग कुरा गर्दै आगामी चुनावमा आफूलाई मत दिन आग्रह गरिन्। उनको यो प्रचार शैली अहिले सामाजिक सञ्जालमा निकै चर्चामा आएको छ। समाचारअनुसार उनी बिहानै कुमरुल स्टेशनबाट ट्रेन चढेर प्रचारमा निस्किएकी थिइन्।
यात्रुहरूसँग कुराकानी गर्दै उनले स्थानीय समस्या बुझ्ने प्रयास गरिन् र राज्य सरकारका विकास योजनाबारे जानकारी पनि दिइन्। प्रचारकै क्रममा उनले ट्रेनभित्रै एक विक्रेताबाट भुँजा (मुरी) किनेर यात्रुहरूसँगै बसेर खाएको दृश्यले उनको साधारण र जनतासँग नजिक रहने शैली देखाएको छ। उम्मेदवार श्यामोली राय बागडीले चुनावको समय निकै कम बाँकी रहेकोले सकेसम्म धेरै मानिससम्म पुग्न यस्तो तरिका अपनाएको बताएकी छिन्। ट्रेन र बस स्ट्यान्डजस्ता स्थानहरू जनतासम्म पुग्न सबैभन्दा प्रभावकारी माध्यम भएको उनले बताइन्। साथै उनले आफ्नो जितप्रति पूर्ण विश्वास व्यक्त गर्दै क्षेत्रमा विकासलाई अझ अगाडि बढाउने प्रतिबद्धता जनाएकी छिन्।












