मिरिकको अपर सिरिङ गाउँका युवाहरूले सडक किनारमा हुने अवैध पार्किङका कारण स्थानीयवासी तथा पर्यटकहरूलाई समेत सास्ती भएको भन्दै मिरिक ट्राफिक कार्यालयमा लिखित गुनासो दर्ता गरेका छन्।युवाहरूले बुझाएको निवेदन अनुसार हनुमान नगर (सिरिङ गाउँ) देखि मिरिक एकेडेमी स्कूलसम्म तथा हनुमान नगर हुँदै ग्लेनमोर स्कूलबाट मिरिक अदालत जाने सडक खण्डमा दैनिक रूपमा धेरै सवारी साधन, विशेषगरी विद्यार्थीहरूका कारपुल गाडीहरू, बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म सडक किनारमा पार्क गरिने गरेको छ। निवेदनमा उल्लेख गरिएअनुसार यसले नियमित सवारी आवागमनमा बाधा पुर्याउनुका साथै स्थानीय बासिन्दा र उक्त मार्ग प्रयोग गर्ने पर्यटकहरूलाई समेत आवतजावत गर्न कठिनाइ भइरहेको छ। मिरिक भ्रमणमा आउने पर्यटकहरूले ट्राफिक जाम तथा साँघुरो सडकका कारण अनावश्यक सास्ती व्यहोर्नुपरेको स्थानीयहरूको भनाइ छ। हाल उक्त क्षेत्रमा खानेपानी पाइपलाइन विस्तारसम्बन्धी भूमिगत कार्यसमेत भइरहेकाले सडक अझ साँघुरो बनेको र समस्या झन् गम्भीर बन्दै गएको जनाइएको छ। पार्किङ गरिएका अधिकांश सवारी साधनका चालकहरू गाडी छाडेर अन्यत्र जाने भएकाले आवश्यक पर्दा सवारी सार्न सम्पर्क गर्नसमेत कठिन हुने गरेको स्थानीयवासीहरूले बताएका छन्।अपर सिरिङ गाउँका युवाहरूले ट्राफिक प्रशासनलाई उक्त समस्याप्रति गम्भीर ध्यान दिन, अवैध पार्किङ नियन्त्रण गर्न तथा स्थानीयवासी र पर्यटकहरूको सहज आवतजावत सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन्। निवेदन मिरिक ट्राफिक कार्यालयले ३ जुन २०२६ मा आधिकारिक रूपमा प्राप्त गरेको जनाएको छ।












