गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पुलबिजनबारी गोक समष्टिद्वारा गोक ग्रामको रोङ्दु कोप्रेल क्षेत्रमा व्यापक घरदैलो तथा जनसम्पर्क अभियान सञ्चालन गरिएको छ। अभियानका क्रममा स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष संवाद गर्दै वर्तमान पहाडको राजनीतिक परिवेश, गोर्खा समुदायका समसामयिक मुद्दा तथा गोरामुमोले विगतदेखि निर्वाह गर्दै आएको राजनीतिक भूमिकाबारे जानकारी आदान–प्रदान गरिएको गोरायुमो समष्टि अध्यक्ष अमोद लकान्द्रीले जानकारी दिए।जनसम्पर्क अभियानको विशेष आकर्षणका रूपमा सन् १९८६ को गोर्खाल्याण्ड आन्दोलनका अग्रणी योद्धाहरू गंगामाया सुब्बा, मनबहादुर सुब्बा, बी.आर. सुब्बा तथा डम्बर बिष्टसँग भेटघाट कार्यक्रम सम्पन्न गरियो।
गोरामुमोका प्रतिनिधिहरूले उनीहरूलाई खादा ओढाएर सम्मान व्यक्त गर्दै आन्दोलन तथा संगठनप्रति पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरेका थिए। भेटघाटका क्रममा आन्दोलनका अनुभवी योद्धाहरूले गोरामुमोका संस्थापक अध्यक्ष स्वर्गीय सुवास घिसिङसँग निकट रहेर कार्य गरेको अनुभव साझा गर्दै सन् १९८६ को आन्दोलनमा आफूहरूले निर्वाह गरेको भूमिकाबारे जानकारी गराए। साथै, उनीहरूले वर्तमान नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टी अध्यक्ष मन घिसिङको हात अझ सशक्त बनाउने, संगठन विस्तारलाई तीव्रता दिने तथा आफ्नो क्षेत्रमा नयाँ समिति गठन गरी पार्टीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अभियानका क्रममा स्थानीयवासीहरूसँग संगठनात्मक सुदृढीकरण, जनसमस्याको पहिचान तथा आगामी दिनमा पार्टीलाई जनस्तरसम्म थप सशक्त रूपमा पुर्याउने विषयमा पनि छलफल भएको बताइएको छ। उक्त जनसम्पर्क तथा घरदैलो अभियानमा समष्टि उपाध्यक्ष गाइस सुब्बा, केन्द्रीय समिति सदस्य आर.सी. गुरुङ, समष्टि सदस्य पेम्बा डुक्पा तथा अमित छेत्रीको सक्रिय उपस्थिति रहेको थियो। गोरामुमोले यस्ता कार्यक्रममार्फत जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै संगठनलाई आधारस्तरदेखि सुदृढ गर्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।












