लद्दाखका प्रख्यात अभियन्ता तथा शिक्षा सुधारका पक्षधर सोनम वाङचुकले आगामी ६ जुनमा नयाँदिल्लीमा आयोजना हुने ‘ककरोच जनता पार्टी’ (सीजेपी) को प्रदर्शनमा सहभागी हुने घोषणा गरेका छन्। उनले ५ जुनसम्म केन्द्र सरकारले शिक्षा क्षेत्रसँग सम्बन्धित पछिल्ला विवादहरूमा प्रभावकारी कदम नचाले तथा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले नैतिक जिम्मेवारी नलिए आफू आन्दोलनमा सहभागी हुने बताएका हुन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा वाङचुकले भारतको शिक्षा नीतिमा सकारात्मक पक्ष भए पनि त्यसको कार्यान्वयन सन्तोषजनक नरहेको टिप्पणी गरेका छन्।
उनले हालैका वर्षहरूमा नीट (NEET), सीयूईटी (CUET) तथा सीबीएसई परीक्षा प्रणालीसँग जोडिएका विवादहरूले लाखौँ विद्यार्थीको भविष्य प्रभावित भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा व्यापक सुधारको आवश्यकता औँल्याएका छन्। प्राथमिक तहदेखि नै गुणस्तरीय पूर्वाधार, दक्ष जनशक्ति र प्रभावकारी व्यवस्थापन सुनिश्चित नगरे सन् २०४७ सम्म विकसित भारत निर्माण गर्ने लक्ष्य पूरा गर्न कठिन हुने उनको भनाइ छ। सीजेपीले पछिल्लो समय परीक्षा व्यवस्थापन, मूल्याङ्कन प्रक्रिया तथा शिक्षा प्रशासनमा देखिएका कमजोरीविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ। संगठनका संस्थापक अभिजित दिप्केले पनि ६ जुनमा भारत फर्केर दिल्लीको जन्तर–मन्तर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन्। उक्त आन्दोलनमार्फत शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै शिक्षा प्रणालीमा सुधारका लागि दबाब सिर्जना गर्ने उद्देश्य रहेको बताइएको छ। वाङचुकको समर्थनपछि आन्दोलनले थप चर्चा पाएको छ।
‘थ्री इडियट्स’ चलचित्रका पात्र ‘राञ्चो’को प्रेरणास्रोतका रूपमा परिचित वाङचुक लामो समयदेखि शिक्षा, वातावरण तथा हिमाली क्षेत्रका अधिकारका विषयमा आवाज उठाउँदै आएका छन्। उनले आन्दोलनलाई विद्यार्थी र युवाको भविष्यसँग जोडिएको विषय भन्दै समस्याको स्थायी समाधानका लागि सरकार, नीति निर्माता र सरोकारवालाबीच गम्भीर संवाद आवश्यक रहेको बताएका छन्। यसैबीच, सामाजिक सञ्जालमार्फत तीव्र रूपमा फैलिएको सीजेपी अभियानले बेरोजगारी, शिक्षा प्रणाली र युवाका मुद्दालाई केन्द्रमा राख्दै देशव्यापी बहस सिर्जना गरेको छ। आन्दोलनमा विद्यार्थी, अभिभावक तथा विभिन्न सामाजिक अभियन्ताहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको आयोजकहरूले जनाएका छन्।











