यसरी नै यी 313 जना शिक्षक-शिक्षिकाहरूले आगामी माध्यमिक, एघारौं श्रेणीको सेकेण्ड सेमिस्टर तथा बाह्रौं श्रेणीको फोर्थ सेमिस्टरका परीक्षार्थीहरूलाई पनि कोचिङ दिइरहेका छन्। तर आफ्नो नोकरी नै निश्चित नभएपछि उनीहरूले विद्यार्थीहरूको पढ़ाईलाई त्यति गम्भीरता देलान्? जति विगतमा उनीहरूले दिने गरेका थिए। नोकरी पाएपछि धेरैले व्याङ्कहरूबाट ऋण लिएको पनि जानकारी पाइएको छ। अब आफ्नो नियुक्ति नै खारेज भएपछि यो ऋणको बोझ, घर-परिवार चलाउने जिम्मेवारीको कारण उनीहरूले आफ्ना विद्यार्थीहरूलाई ठीकसित पढ़ाउन सक्लान्? यो चिन्ताले 313 जना शिक्षक-शिक्षिका, उनीहरूका परिवार मात्रै होइन, यी हजारौंको सङ्ख्यामा रहेका विद्यार्थीहरूका अभिभावकहरूलाई पनि सताइरहेको छ। यी विद्यार्थीहरूले यस्तो समयमा ठीकसित शिक्षा ग्रहण गर्न नपाएपछि उनीहरूको परीक्षा परिणाम कस्तो हुनेछ, त्यो अर्को चिन्ताको विषय छ। यदि साँच्चै उनीहरूले ठीकसित शिक्षा नपाएको कारण उनीहरूको परीक्षा परिणाम नकारात्मक भए उनीहरूले राम्रो कलेजमा भर्ना पाउन सक्छन्? भविष्यमा उनीहरूले उच्च शिक्षाको लागि असल मौका पाउँछन्? यस्ता कैयौं प्रश्न अनि चिन्ताहरूमाझ अघि बढ़िरहेका छन् दार्जीलिङ पहाड़का यी 313 जना शिक्षक-शिक्षिका साथै हजारौं विद्यार्थी र उनीहरूका अभिभावकहरू।









