विश्व संगीत दिवसको अवसरमा प्रधाननगरस्थित देवकोटा संघमा शनिबार अशोक राई स्कूल अफ म्युजिक (एआरएसएम) ले उत्साह र उल्लासका साथ विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको थियो। भारतीय शास्त्रीय संगीतकी शिक्षिका स्नेहश्री थापा तथा वेस्टर्न कन्टेम्पोररी संगीतका शिक्षिका सान्निध्य थापाद्वारा सञ्चालित एआरएसएमको उक्त कार्यक्रमको सञ्चालन अनुराधा शर्माले गरेकी थिइन्। कार्यक्रमको शुभारम्भ श्रीमती रमा ब्राह्मिण, श्री बिनय गजमेर तथा श्रीमती शोभा गजमेरले दीप प्रज्वलन गरी गरेका थिए। त्यसपछि एआरएसएमकी सह–संस्थापक स्नेहश्री थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रमको सुरुआत भारतीय शास्त्रीय संगीत विभागका वरिष्ठ विद्यार्थीहरूले अशोक रायको चर्चित गीत ‘बैशाखी बनमा फूलको शृङ्गार’ प्रस्तुत गरेर गरेका थिए। त्यसपश्चात् वेस्टर्न भोकल विभागका कनिष्ठ विद्यार्थीहरूले ‘कभर मी इन सनसाइन’, ‘अ मिलियन ड्रीम्स’ तथा ‘मम्मा मिया’ गीत प्रस्तुत गरेका थिए।भारतीय शास्त्रीय संगीत विभागका कनिष्ठ विद्यार्थीहरूले राग खमाजमा आधारित मेड्ली प्रस्तुत गरेका थिए भने आयुष लामाले गायक भक्तराज आचार्यको लोकप्रिय भजन राम यहीं छन्, श्याम यहीं छन्….. एकल रूपमा प्रस्तुत गरेका थिए। त्यसैगरी, वेस्टर्न विभागका वरिष्ठ विद्यार्थीहरूले अंग्रेजी, नेपाली तथा अरुणाचली गीतहरूको मिश्रित प्रस्तुति दिएका थिए। भारतीय शास्त्रीय संगीत विभागका वरिष्ठ विद्यार्थीहरूले राग मुल्तानीमा छोटा ख्याल तथा राग भूपालीमा चतुरङ्ग प्रस्तुत गरी दर्शकको मन जितेका थिए। कार्यक्रमको अन्तिम प्रस्तुति भायोलिनवादक श्री सागर राउथले दिएका थिए। उनलाई तबलामा श्री बिश्वजीत सेवाले साथ दिएका थिए। साथै, गितारमा आयुष शशाङ्कर, बास गितारमा राहुल बजाज, किबोर्डमा विवेक बागदास तथा इलेक्ट्रिक ड्रम्समा बिश्व सुनारले संगत गरेका थिए। उक्त कार्यक्रमलाई ओलिभ ट्री बेकरी, रोबिन मिक्स एन्ड मास्टर तथा आर्टिस्ट्स इन्, रोहिणीले प्रायोजन गरेका थिए। विश्व संगीत दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले संगीतप्रेमीहरूलाई विशेष सांगीतिक अनुभूति प्रदान गरेको थियो।













