पूर्व सिक्किमको सानो गाउँ नान्डोकबाट उठेको एउटा कथाले आज विश्वका विभिन्न समाजलाई छोएको छ। परम्परा, पितृसत्ता र नारी अस्तित्वका प्रश्नलाई साहसपूर्वक पर्दामा उतार्दै युवा निर्देशक त्रिवेणी राईले आफ्नो पहिलो फिचर चलचित्र ‘शेप अफ् मोमो’ (नेपाली नाम- ‘छोरा जस्तै’) मार्फत भारतीय नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइमा पुर्याएकी छिन्। सिनेमाघरमा प्रदर्शन हुनुअघि नै १५ वटा अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित यो चलचित्रले सानो गाउँको कथाले पनि सीमाना नाघेर विश्वलाई छुने शक्ति राख्छ भन्ने सन्देश दिएको छ।
‘‘…आफ्नो वरिपरिका अनुभवलाई इमान्दारीपूर्वक प्रस्तुत गरेको छ भने संसारका मानिसहरू जोड़िनसक्दो रहेछ…’’
स्व० विष्णुप्रसाद राई र गीता राईकी छोरी त्रिवेणीले कुनै दिन अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने चलचित्र बनाउँछु भन्ने सोचेकी थिइनन्। पूर्व सिक्किमको आसाम लिङ्जेमा जन्मिएकी त्रिवेणी राई सेन्ट प्याट्रिक्स स्कूल गौचरणमा कक्षा पाँच पढ़ेपछि सेन्ट जोसेफ स्कूल मार्तमबाट पूरा गरिन्। स्कूलको पाठ्यक्रमको नेपाली साहित्यका कथाहरूले उनलाई गहिरो प्रभाव पारेको थियो। यस्तै कथाहरू पढ्दा लेखिका बन्ने चाहनामा थिइन्। प्राय: जस्ता अभिभावकहरू छोराछोरीले साइन्स, कमर्शहरू लिएर पढ़ोस् भन्ने चाहन्छन्। त्रिवेणी पनि ११–१२ कक्षासम्म कमर्श नै पढ़िन्। यसपछि आमाले भनिछन्, ‘‘मेरो लागि दुई वर्ष पढ़िदियौ, अब जे पढ़्नु इच्छा छ पढ़।’’
यसपछि सानोमा लेखिका बन्ने चाहनाले जर्नलिज्म पढ़्नका लागि सेन्ट जोसेफ कलेज दार्जीलिङबाट मास कम पढ़िन्। यसपछि कलकतामा सत्यजित राय फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युटबाट शिक्षा पूरा गरिन्। चलचित्रप्रतिको झुकावले सानो गाउँको कथालाई चलचित्रबाट विश्वका समाजहरूमा साझा गर्ने माध्यम बनिन्। कलकतामा पढ़्दा सन् २०१२ मा पहिलो नेपाली लघु चलचित्र ‘पेसेन्ट न० सिक्स सिक्स सिक्स एण्ड अदर्स’, ‘लास्ट राइट्स’, ‘फर चिल्ड्रेन ओन्ली’ र ‘यथावत’जस्ता लघु चलचित्रहरू बनाइन्।
सन् २०१६ मा त्रिवेणी गान्तोक फर्किएपछि लघु चलचित्र ‘मेमोरी अफ् हार्ट’ बनाइन्, यसले ‘नर्थ-ईष्ट फिल्म फेस्टिभल’मा ‘बेस्ट फिल्म’को पुरस्कार प्राप्त गरेको थियो। नेपाली जनजीवनसित जोड़िएको डल्ले खोर्सानीलाई अघि राखेर गान्तोकमा आफ्नै प्रोडक्सन हाउस ‘डल्ले खोर्सानी प्रोडक्सन्स्’ खोलिन्। यसबाट लघु चलचित्र ‘छोरी’, ‘सिक्किम सकर गर्ल्स’ बनाइन्। त्रिवेणीले दूरदर्शनका लागि पनि वृत्तचित्रहरूको काम गरिन्। स्वच्छ भारत अभियानका लागि जनजागरणमूलक सिरिज ‘देवी’ बनाइन्। यो सिरिज ‘जल देवता र दाउरे’को कथाको अवधारणामा बनाएको उनी बताउँछिन्। दूरदर्शनकै लागि सिक्किममा जैविक खेती गर्ने छजना महिला किसानहरूबारे छ एपिसोडको वृत्तचित्र बनाइन्। दूरदर्शनको उत्तरपूर्वको च्यानल ‘डीडी अरुणप्रभा’का लागि बाल शिक्षामा आधारित १३ वटा एपिसोडको हिन्दी सिरिज ‘ओम्’ बनाइन्।
सन् २०२५ मा नारीवादी विषयलाई प्रमुखता दिँदै त्रिवेणीको पहिलो फिचर चलचित्र ‘शेप अफ् मोमो’ अघि आयो। यो चलचित्रले सिनेमाघरमा आउनुअघि नै व्यापक चर्चा पायो। त्रिवेणी १५ वर्षकी हुँदा नान्डोकमा परिवारको स्थायी बसाईं सर्यो। ‘शेप अफ् मोमो’को छायांकन पनि नान्डोककै वरिपरि गरिएको उनी बताउँछिन्। यो चलचित्रले बज्यै, आमा, नातिनी तीन पुस्ताको कथा बोकेको छ।
मानव समाजको प्रारम्भिक कालमा समाज मातृसत्तात्मक थियो, तर परिवर्तनको क्रममा पितृसत्तात्मक बन्यो। समाजमा पितृसत्ताको वर्चस्व यस्तो किसिमले स्थापित भयो- युग परिवर्तन भइसक्दा पनि छोरा र छोरीमा विभेद उस्तै छ। छोरा मान्छे रुँदा, डराउँदा केटीजस्तो नहुनु, अनि छोरीले कुनै राम्रो साहसिलो काम गरे छोराले जस्तै गर्यो भन्ने कुरा सुन्दा सामान्य लाग्छ। तर यसबाट उत्पन्न भएको ठूलो असमानतालाई समाजमा नजरअन्दाज गरिएको छ। यस्तै नजरअन्दाजबाट सिर्जना हुन्छ ‘शेप अफ् मोमो’-‘छोरा जस्तै’।
‘शेप अफ् मोमो’ केवल चलचित्र मात्र होइन, यो असमानताबाट समानताको मार्ग पहिल्याउने एउटा ‘विमर्श’ हो। आमा-छोरीहरू मात्र भएको घरमा पितृसत्ताको कमि महसुस गरिन्छ। आमा-छोरीहरू मात्र भएको घरलाई त्रिवेणीले व्यक्तिगत रुपमा अनुभव गरेकी छिन्। छोरी मात्र भएको घरमा समाजको नजर परेको हुन्छ अनि प्रश्न उठाइन्छ, छोरा छैन परिवारको वंश कसरी अघि बढ़ाउने? यो एउटा सामाजिक दबाव हो। गाउँ-घर, शहर-बजार वरिपरि देखिने सुनिने कुराहरूले आफूमा गहिरो छाप छोड़ेको उनी महसुस गर्छिन्। उनी भन्छिन्, ‘‘मैले पढ़ाईहरू गरेर होइन, नारीवादका बुझाइहरू मैले व्यावहारिक जीवनमै देख्दाखेरि व्यावहारिक कुराहरूबाटै पाएको जस्तो लाग्छ।’’
‘शेप अफ् मोमो’को अन्तर्राष्ट्रिय मञ्चको चर्चाबारे कुरा गर्दा त्रिवेणी भन्छिन्, ‘‘आमाबाबुको छोरा नहुँदा सानैदेखि छोरा हुने मेरो कोशिश निरन्तर थियो। म महत्वाकांक्षी नै थिएँ, र मैले चलचित्र निर्माण चयन गरेँ। मलाई लाग्थ्यो यो चीजले कहिँ न कहिँ केही दर्शाउनसक्छु, र जहाँबाट समाजमा एउटा विमर्श शुरु हुनसक्छ भन्ने लाग्थ्यो।’’ उनी अझ भन्छिन्, ‘‘यो चलचित्र बनाउँदा फेस्टिभलमा जान्छु भनेर मलाई थाहा थियो, कारण मेरो ट्रेनिङ त्यस्तै रहेको छ। तर धेरै अवार्ड र मानिसहरूबाट राम्रो प्रतिक्रिया पाउँछु भनेर सोचेकी थिइनँ।’’
एउटै चलचित्रले विश्वको ठूला मञ्चमा चर्चा पाइँदो रहेछ भन्ने उनले प्रमाणित गरिन्। एउटा सानो गाउँमा सिर्जित कथाले विश्वका समाजहरूलाई छुनसक्नु चलचित्रको ठूलो सफलता हो। गाउँबाट लेखेको कथा भारतमै मानिसहरूले बुझ्छन् कि बुझ्दैनन् भन्ने त्रिवेणीलाई लाग्थ्यो। उनी भन्छिन्, ‘‘विदेशमा मानिसहरूले उनीहरूको जीवन पनि यस्तै छ भन्ने कुरा गर्दाखेरि आफ्नो वरिपरिका अनुभवलाई इमान्दारीपूर्वक प्रस्तुत गरेको छ भने संसारका मानिसहरू जोड़िनसक्दो रहेछ भन्ने बुझें।’’
समाज गजबकै हुन्छ, कुनै समाजमा रोटी गोलो बेल्नसके महिलालाई परिपक्व ठानिन्छ। यस्तै क्रममा त्रिवेणी भन्छिन्, ‘‘दक्षिण कोरियामा एकजना दर्शकले भने उनीहरूको पनि एउटा परिकार ‘मान्डु’ हुँदो रहेछ मोमो जस्तै- यो कुनै पनि गर्भवती महिलाले राम्रो बनाउनसक्यो भने नानी सुन्दर जन्मिन्छ भन्ने विश्वास रहेछ।’’ यसले गर्दा विश्वका कुनाकुनाका महिलाहरू पुस्ता-पुस्तादेखि यसरी नै गुज्रिँदै आएको उनले बुझिन्। स्पेनमा ‘शेप अफ् मोमो’ हेरेर कोलम्बियाकी एक महिलाले यसको कथा दश वर्षदेखिको आफ्नो जीवन रहेको सम्झिँदै सोधिछिन्, ‘‘तपाईंले सिक्किममा बसेर यसैलाई कसरी चलचित्र बनाउनुभयो?’’ त्रिवेणी भन्छिन्, ‘‘कुनै पनि ठाउँमा जति नै प्रगतिशील समाज भए पनि कहिँ न कहिँ महिलाहरूको संघर्ष अहिलेसम्म एकैखाले छन्।’’
मानवीय सम्बन्ध र भावनाहरूमा रहेको गहिराइ र जटिलतालाई उजागर गर्न त्रिवेणी रचाउँछिन्। निक्कै अध्ययन गर्ने उनी चर्चित रुसी लेखक फ्योदोर दोस्तोयेभ्स्कीका किताबहरू मन पराउँछिन्। चलचित्र निर्माण क्षेत्रमा सिक्किममा सरकारको सहयोग भएकाले सुरक्षित महसुस गरेको उनी बताउँछिन्। ‘‘चलचित्र निर्माणका लागि कथा दह्रो हुनुपर्छ’’, उनी भन्छिन्। ‘शेप अफ् मोमो’ विश्वकै ठूला मञ्च दक्षिण कोरियाको बुसान, ‘कान्स चलचित्र महोत्सव’, स्पेनको सान सेबास्टियन साथै अन्य युरोपीय मुलुकहरूमा प्रदर्शन भइसकेको छ। भारतमा दिल्ली, मुम्बई, कलकतामा पनि यो चलचित्रले राम्रो चर्चा पाएको छ।
त्रिवेणी राईको ‘शेप अफ् मोमो’ केवल एउटा चलचित्रको सफलता होइन, सानो गाउँको अनुभवलाई विश्वव्यापी विमर्शमा रूपान्तरण गर्ने साहसी यात्राको प्रतीक बनेको छ। नान्डोकबाट शुरु भएको यो कथा आज विभिन्न देशका दर्शकहरूको मन छुने आवाज बनेको छ। यस चलचित्रले भारतीय नेपाली चलचित्रको नयाँ सम्भावना र पहिचानलाई उजागर गर्दै प्रमाणित गरेको छ- इमान्दारीपूर्वक भनिएको स्थानीय कथा सीमाना नाघेर विश्वकै साझा अनुभव बन्नसक्छ।












