खरसाङ, (निसं)ः दार्जीलिङ पहाड़ अनि तराईका ट्याक्सी चालक सङ्गठनहरूमाझमा भएको विवादको कारण तराईका ट्याक्सी चालक सङ्गठनहरूले दार्जीलिङ्का वाहनहरूलाई सिलगढ़ी, बागडोग्रा, एनजेपी अनि यी क्षेत्रका कुनै पनि होटल, रिसोर्टहरूबाट यात्री उठाउन नदिने घोषणा गरेको थियो। यो घोषणापछि पहाड़ र तराईका ट्याक्सी चालक सङ्गठनहरूमाझ विवाद बढ़ेर गएको छ। यो विवादलाई सुल्झाउनको निम्ति विभिन्न पक्षबाट प्रयास पनि चलिरहेको छ।
तथापि दार्जीलिङ अनि तराईका ट्याक्सी चालक सङ्गठनहरूमाझमा रहेको विवादको असर खरसाङ्का ट्याक्सी चालकहरूलाई भने रत्तीभर परेको छैन। खरसाङ्का ट्याक्सी चालकहरूले अघिको जस्तै प्रत्येक दिन खरसाङबाट यात्री अनि पर्यटकहरू लिएर सिलगढ़ी अनि तराईको अन्य स्थानमा गइरहेका छन्। तिनीहरूले सिलगढ़ीको सेण्डिकेटबाट पनि अघिको समयमा जस्तै यात्री अनि पर्यटकहरू लिएर आइरहेका छन्।
खरसाङको अनइम्प्लोइड ट्याक्सी सेण्डिकेटका अजित छेत्रीले बताए अनुसार दार्जीलिङ अनि तराईका ट्याक्सी चालक सङ्गठनहरूको विवाध र तिनीहरूले एकअर्का विरुद्ध गरेका घोषणाले खरसाङ्का चालकहरूलाई अहिलेसम्म कुनै समस्या भएको छैन। खरसाङ सेण्डिकेटबाट अघिको जस्तै प्रत्येक दिन गाड़ी सिलगढ़ी यात्री अनि पर्यटकहरूलाई लिएर झरिरहेका छन्, सिलगढ़ीबाट पनि अघिको जस्तै यात्री र पर्यटकहरूलाई लिएर खरसाङ आइरहेका छन्। दार्जीलिङ पहाड़ अनि तराईका ट्याक्सी सेण्डिकेटको विवाद अनि उठाइएका कदलहरूले खरसाङ्को ट्याक्सी सेण्डिकेटका गाड़ीहरूलाई रत्तीभर असर परेको छैन। तिनले यो विवाद दार्जीलिङ अनि तराईका ट्याक्सी चालक सङ्गठनहरूमाझ रहेको खरसाङ ट्याक्सी सेण्डिकेटको यस विषयमा कुनै संलग्नता नरहेको पनि बताए।









