साहित्य सुनौं परिवार मिरिक अनि रिपोर्टर्स क्लब अफ मिरिकको आयोजना अनि साहित्यकार विजय वान्तवा “कैलाशी”को प्रायोजनामा सम्पन्न हुने चौथो शशिप्रभा स्मृति पुरस्कार २०२५ निरङ्कर थापालाई उनको उपन्यास मार्साङ-का लागि प्रदान गरिने भएको छ। साहित्यकार विजय वान्तवा “कैलाशी”ले आफ्नो धर्मपत्नी स्व. शशिप्रभा वान्तवाको स्मृतिमा वर्ष २०२२ देखि प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेका छन्। आज साहित्य सुनौं परिवार अनि रिपोर्टर्स क्लब अफ मिरिकले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै यो घोषणा गरेको हो। यस क्रममा साहित्य सुनौं परिवारका अध्यक्ष अमर दुङमाली, सचिव यज्ञनिधि ढकाल, सह सचिव अजम प्रधान, सलाहकार राजबहादुर राई, रिपोर्टर्स क्लब अफ मिरिकका अध्यक्ष मुस्कान राई खेसहाङ, उपाध्यक्ष विनोद प्रसाई अनि सचिव प्रवेश हाङ्खिम उपस्थित थिए। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोजक समितिको पक्षबाट अजम प्रधानले पुरस्कारको घोषणा गर्दै उपन्यासकार निरङ्कर थापालाई आगमी २७ दिसम्बर गिरी जयन्तीको अवसरमा मिरिकमा उक्त पुरस्कार प्रदान गरिने बताए। उनले पुरस्कारमा नगद राशी पचास हजार रूपियाँ, अङ्गवस्त्र अनि स्मृति चिन्ह प्रदान गरिने बताए। उनले चौथो शशिप्रभा स्मृति पुरस्कारका लागि भारतभरिका साहित्यकारहरूको ६५ वटा पुस्तकहरू प्राप्त भएको जसमध्ये प्रथम चरणको छनौटमा जुरीहरूले उत्कृष्ट दस पुस्तकहरू छनौट गरेपछि दोस्रो चरणको छनौटमा जुरीहरूको निर्णय अनुसार उपन्यासकार निरङकर थापाको उपन्यास मार्साङलाई पुरस्कारका लागि छनौट गरिएको बताए।










