नाटक-एक जीवनशैली: ललित तिवारीको रंगमञ्चीय संकल्प

Share this news

सञ्जय प्रधान

सन् १९८९ मा गोर्खाल्याण्ड आन्दोलन बिसाएको केही महिना भएको थियो। आन्दोलनमा कति शहीद भए, कतिको घर उजाड़ियो। रहेको थियो प्रश्‍न- ‘के शहीदको सपना साकार भयो?’ सन् १९८६ को रक्ताम्मे आन्दोलनको घटनाक्रम स्मरण गराउने नाटक ‘अमर आत्मा’ त्यही वर्ष दार्जीलिङमा मञ्चन भयो। भारतीय नेपाली नाटकका सुपरिचित नाटककार, निर्देशक, अभिनेता किरण ठकुरीको उक्त नाटकमा ‘शहीद’को प्रभावकारी भूमिका निर्वाह गरेका ललित तिवारी आज पनि धेरैको स्मृतिमा होलान्।

स्व. बलबहादुर तिवारी र स्व. सीतामाया तिवारीका छोरा ललित तिवारी (मेरी भिल्ला पावर हाउस निवासी) दार्जीलिङका अग्रपंक्तिका कलाकार हुन्। नाटकमा सानैदेखि रुचि थियो। सन् १९७० को दशकमा सिद्राबुङ पावर हाउसमा उनका बाबु सुपरभाइजर थिए। त्यहीँ नगरपालिकाको प्राइमरी स्कूलमा शिक्षक श्याम छेत्री ‘आँसु’ सरुवा भएर आएका थिए। उनले गोर्खा दु:ख निवारक सम्मेलन (गोदुनिस)मा नाटकहरू मञ्चन गरिसकेका थिए। उनकै नाटक ‘अभिनय’ सिद्राबुङकै ‘सहायक सम्मेलन पुस्तकालय’को सानो मञ्चमा गर्दा ललित तिवारीलाई अभिनय गराएका थिए। त्यो बेला उनी सानै केटा थिए। त्यही नाटकबाट उनको रंगमञ्च यात्रा शुरु भयो। त्यसपछि श्याम ‘आँसु’कै ‘परिवर्तन’, ‘एक फूल एक भूल’मा पनि अभिनय गरे। नाटकको प्रारम्भिक ज्ञान श्याम ‘आँसु’बाटै पाएको उनी बताउँछन्।

नाटक यस्तो विषय हो- जसले समाजमा घटिरहेका राम्रो राम्रो घटनाहरूलाई प्रस्तुत गर्छ, र सरकारको नजरमा पनि पुग्छ”

ललित तिवारी भन्छन्, ‘‘त्यतिबेला नाटकभित्र डुबेको थिइनँ। तर गर्दै जाँदा हौसला बढ़्यो।’’ श्याम ‘आँसु’सितै सिलगढ़ीलगायत विभिन्न ठाउँमा ससाना नाटक गरे। सन् १९७० को दशकमा नेपाली नाटकको चर्चा हुँदा सबैको नजर दार्जीलिङतर्फ हुन्थ्यो। त्यो समय गोदुनिसमा दिग्गज नाट्यकर्मीहरूको जमघट हुन्थ्यो। गोदुनिसमा अभिनय गर्ने सपना देखे पनि मौका जुरेको थिएन।

सन् १९७३ मा गोदुनिसमा ‘सुर संगम’ क्लबले विविध कार्यक्रम गर्ने हुँदा यसका सदस्य कमल छेत्रीलाई मोनोएक्टको लागि अनुरोध गरे। मौका पाएपछि ‘अन्तिम याद’ नामक १२ मिनटको मोनोएक्ट गरे, यसमा उनी दक्ष छन्।त्यहाँ सुपरिचित नाटककार मनबहादुर मुखिया र पी अर्जुन उपस्थित थिए। मनबहादुर मुखियाले अभिनय मन पराएर सन् १९७४ मा ‘अनि देवराली रुन्छ’ कालजयी नाटकमा ‘सन्ते’को भूमिकामा खेलाए। किरण ठकुरीले यस नाटकमा मूल पात्र ‘रणध्वज’को भूमिका गरेका थिए। यस नाटकमा हुँदा सुपरिचित कलाकार मेनुका प्रधान र किरण ठकुरीबाट धेरै कुरा सिकेको उनी बताउँछन्। सन् १९७२ मा यो नाटक पहिलोपल्ट दार्जीलिङमा हुँदा ‘रणध्वज’को भूमिकामा पी अर्जुन थिए। सन् १९७५ तिर मञ्चन हुँदा ‘रणध्वज’को भूमिका आफूले नै गरेको ललित तिवारी बताउँछन्। ‘‘यो नाटकबाट ठूलो मौका पाइयो’’, उनी सम्झन्छन्। सन् १९७६ मा नेपालबाट निमन्त्रणा पाएर रोयल नेपाल एकाडेमी काठमाड़ौंमा मञ्चन गर्दा तत्कालिन राजा वीरेन्द्र पनि उपस्थित थिए। नाटकपछि राजाले मञ्चमा आएर कलाकारहरूसँग परिचय गरेका थिए, जुन क्षण उनी गौरवका साथ सम्झन्छन्।

ललित तिवारीले मनबहादुर मुखियाको ‘क्रसमा टाँगिएको जिन्दगी’, ‘विद्रोही राज रक्त’, ‘पैंचो मागेको विश्‍वास’लगायत अन्य नाटकमा अभिनय गरे। मुखियाको निर्देशनमा संवाद प्रस्तुत गर्ने शैली, अभिनय सीप धेरै सिक्न पाएको उनी बताउँछन्। पी अर्जुनद्वारा निर्देशित शरतचन्द्र चट्टोपाध्यायको ‘महेश’मा ‘गफुर मियाँ’को भूमिका र पिटर च्याङको ‘म मरेपछि’ नाटकमा पनि अभिनय गरे।

किरण ठकुरीका नाटकहरू ललित तिवारीको रंगमञ्च यात्राको अभिन्न हिस्सा बन्यो। उनका नाटक ‘अमर आत्मा’मा शहीदको प्रभावकारी भूमिका थियो। सन् १९८९ मा मञ्चन भएको यो नाटकलाई कीर्तिमानी नाटक मान्न सकिन्छ। सो बेला यो नाटक दुई दिन चलेपछि निरन्तर पब्लिक डिमाण्डका कारण दिनमा दुई शो हुँदै करिब एक महिना चलेको थियो। नाटकबारे रोचक कुरा उनी सुनाउँछन्, ‘‘दार्जीलिङमा सत्तर अस्सीको दशकमा सांगीतिक कार्यक्रम, नाटक हुँदा बाटाको अगाड़ि टेबल राखेर टिकट बिक्री गरिन्थ्यो। ‘अमर आत्मा’को टिकट पनि त्यसरी बिक्री गरियो। तर भीड़ले ट्राफिक जाम हुँदा पहिलोपटक होला पुलिसले थानामा लगेर टिकट बिक्री गर्नु लगाएको थियो, यो एउटा ऐतिहासिक नै भयो।’’ ‘‘नाटक निरन्तर गर्दा थाकिन्थ्यो’’, उनी थप्छन्, ‘‘डा. एस. आर. खाँड़ाले नि:शुल्क स्वास्थ्य परीक्षण गरेर औषधी दिन्थे।’’ खरसाङमा पनि यो नाटक एक हप्ता बढ़ी चलेको थियो भने अन्य ठाउँमा पनि निक्कै चल्यो।

किरण ठकुरीकै ‘कालो गुलाब’, ‘सुल्तान’, ‘कंकाल’, ‘सामाजिक ऐनाभित्र’, ‘एक शहर अनेकौं लाशहरू’, १४ श्रृंखलाको धारावाहिक ‘असली नकली’जस्ता नाटकमा अभिनय गरे। चलचित्र क्षेत्रमा पनि उनले उल्लेखनीय उपस्थिति जनाए। सुपरिचित उपन्यासकार प्रकाश ‘कोविन्द’को उपन्यास ‘अर्को जन्म’मा फकिरको भूमिका, प्रताप सुब्बाको ‘बाँच्न चाहनेहरू’, पश्‍चिम बंगाल वन विभागको लगानीमा बनिएको तरुण मजुमदारद्वारा निर्देशित ‘अरण्य रक्खा’, किरण ठकुरीद्वारा निर्मित र भवेश सी ठकुरीद्वारा निर्देशित ‘तुँवालो’मा अभिनय गरे। सुपरिचित नाटककार जीवन गुरुङको ‘पर्सनल डायरी’ र भिडियो चलचित्र ‘अभिनय’मा पनि उनले अभिनय गरे।

सन् १९९२ देखि पश्‍चिम बंगाल वन विभागमा कार्यरत ललित तिवारी अहिले दार्जीलिङको लोयड बोटानिकल गार्डनमा कार्यरत छन्। पाँच दशकदेखि नाटकलाई निरन्तरता दिँदै आएका छन्। उनको योगदानलाई कदर गर्दै २७ सेप्टेम्बर २०२४ मा सोनादामा डिग्री कलेज र मनबहादुर गुरूङ स्मृति प्रतिष्ठानको आयोजनामा ‘मनबहादुर स्मृति नाट्य सम्मान’ प्रदान गरियो।

दार्जीलिङमा नाटकको रौनक घटेको सन्दर्भमा उनी भन्छन्, ‘‘गोदुनिसले वर्षेनी प्रतियोगिता गरेर नाटक बचाउने प्रयास गरिरहेको छ।’’ दार्जीलिङमा नाट्यकर्मीहरूबीच नाटक बचाउन विचार-विमर्श भइरहेको बताउँछन्। उनी भन्छन्, ‘‘नाटक यस्तो विषय हो- जसले समाजमा घटिरहेका राम्रा नराम्रा घटनाहरूलाई प्रस्तुत गर्छ, र सरकारको नजरमा पनि पुग्छ।’’

कलाकारहरूलाई उकेरा दिन सरकारको पनि सहयोग हुनुपर्ने उनको भनाइ छ। उनी थप्छन्, ‘‘नाटक बचाउन युवाहरू नयाँ अवधारणासहित आउनुपर्छ। दर्शकमा उत्साह जगाउन नयाँ कलाकार आवश्यक छन्। राम्रो विषय रोजिनुपर्छ, किनभने नाटक खेलाँची होइन।’’ उनी भन्छन्, ‘‘नाटक मेरो प्रिय विधा हो। यसैले निरन्तरता दिएको छु।’’ अब आउने कलाकारहरूले सम्पूर्ण भारतीय नेपालीहरूको निम्ति काम गर्नुपर्छ भन्ने उनको भनाइ छ। दार्जीलिङमा नाटकको विकास गराउन उनी प्रतिवद्ध छन्।


Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ