मानेबोङ–देन्ताम निर्वाचन क्षेत्रका विधायक तथा सिक्किम सरकारका नागरिक उडान बिभाग सल्लाहकार सुदेश कुमार सुब्बा आज बहुप्रतिक्षित चिवाभञ्ज्याङ करिडोर पूर्वाधार निर्माण परियोजनाको अन्तिम स्थलगत सर्वेक्षणका लागि पैदल यात्रा गर्दै चिवाभञ्ज्याङ सीमावर्ती क्षेत्र पुगेका छन्। करिब २५ किलोमिटर लामो प्रस्तावित सडक मार्गको निरीक्षण तथा अवलोकन गर्दै उनले सम्बन्धित विभागीय अधिकारीहरूलाई आवश्यक सुझाव तथा निर्देशन समेत दिएका छन्। यस महत्वपूर्ण भ्रमणमा वाणिज्य तथा उद्योग विभाग, वन विभागका वरिष्ठ अधिकारीहरू, जिल्ला पंचायत सदस्यहरू, वार्ड पंचायत प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू तथा विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो। टोलीले प्रस्तावित सडकको सम्भाव्यता, वातावरणीय पक्ष, भौगोलिक अवस्था तथा भावी विकासका सम्भावनाहरूको स्थलगत अध्ययन गरेको बताइएको छ।चिवाभञ्ज्याङ क्षेत्र सिक्किमको ऐतिहासिक तथा रणनीतिक दृष्टिले महत्वपूर्ण नाका मानिन्छ। नेपालसँग जोडिएको यस क्षेत्रलाई व्यापार, पर्यटन तथा सीमावर्ती विकासको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले राज्य सरकारले विगत केही वर्षदेखि विभिन्न पहलहरू गर्दै आएको छ। केही समयअघि सम्पन्न उच्चस्तरीय बैठकहरूमा पनि यस करिडोरलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरिएको थियो।विधायक सुब्बाले यस परियोजना सम्पन्न भएपछि पश्चिम सिक्किमका ग्रामीण तथा सीमावर्ती बस्तीहरूको आर्थिक सामाजिक तथा पर्यटन क्षेत्रको विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन्। उनले चिवाभञ्ज्याङ करिडोर केवल सडक निर्माण परियोजना मात्र नभई सम्पूर्ण क्षेत्रको समग्र विकासको आधार बन्ने बताएका छन्।स्थानीयवासीहरूले समेत लामो समयदेखि अपेक्षा गरिएको यस परियोजना अन्तिम चरणको सर्वेक्षणसम्म पुग्नु सुखद उपलब्धि भएको बताएका छन्। सडक निर्माण सम्पन्न भएपछि कृषि उत्पादनको बजार पहुँच विस्तार, पर्यटक आगमनमा वृद्धि, रोजगारका अवसर सिर्जना तथा सीमावर्ती क्षेत्रको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। राज्य सरकारको प्राथमिकतामा रहेको यस महत्वाकांक्षी परियोजनाले भविष्यमा पश्चिम सिक्किमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन र व्यापारिक सञ्जालसँग अझ सशक्त रूपमा जोड्ने विश्वास गरिएको छ।हालमा अत्यधिक वर्षाका कारण नयाँ खनिएको सडकमा वहानहरु गुड्न सक्दैनन् । (केएन शर्मा)












