हिजो पश्चिम बंगाल विधानसभा (West Bengal Legislative Assembly) को बजेट अधिवेशनको उद्घाटन सम्बोधनमा राज्यका माननीय राज्यपाल आर.एन. रविले गोर्खाल्याण्ड शब्द उच्चारण गर्दै जुन ऐतिहासिक सम्बोधन गरे त्यसले समग्र भारतीय गोर्खाहरुमा एउटा नयाँ उर्जा सञ्चार भएको छ। “लामो समयदेखि समाधान हुन नसकेको गोर्खाल्याण्ड मुद्दाको स्थायी राजनैतिक समाधानमा पुग्ने प्रतिबद्धता जनाउँदै सबै सरोकारवालाहरु सँग वार्ता बस्ने” उनको बयानले गोर्खा जातिको आकाङ्क्षालाई लिएर काम गरि रहेका सबै सरोकारवालाहरुले अब कुनै प्रकारको गल्ति नगरी गोर्खा जातिको निम्ति सबै एउटै मुद्दा गोर्खाल्याण्डको निम्ति बोल्नु पर्ने र गोर्खाल्याण्ड कै निम्ति एकबद्ध बन्नु पर्ने अवस्था सृजना भएको देखिएको छ। माननीय राज्यपालको उक्त बयानको गोर्खाल्याण्ड एक्टिभिष्ट समूह स्वागत जनाउँदछ। राज्यको संवैधानिक प्रमुखले राज्य बिधानसभाबाट यसरी सम्बोधन गर्नु भनेको गोर्खा जातिको भविष्य निर्माणकै निम्ति ठूलो शुभ सङ्केत हो। तर यसमा पनि हामी चुक्यौं भने त्यसमा अरू कसैको गल्ति नभएर हाम्रो आफ्नै ठूलो गल्ति हुनेछ।
हामी गोर्खाल्याण्ड एक्टिभिष्ट समूह चाहान्छौं, यतिबेला सबै राजनीतिक दल, संघ संस्था अनि जातीय संगठनहरु एकबद्ध बनेर सरकारलाई छुट्टै राज्य गोर्खाल्याण्डको आवश्यकता बताउन अघि आउनु पर्नेछ। यतिबेला कुनै पनि राजनीतिक दल, संघ संस्था अनि जातीय संगठनहरुले राज्य भित्रकै कुनै व्यवस्था अथवा अन्य सानो-तिनो कुराहरुको बिषयमा कुरा नगरेर पश्चिम बङ्गालबाट छुट्टिएर देशभित्रै एउटा पूर्ण राज्य गोर्खाल्याण्ड गठनको कुरालाई स्पष्ट रूपमा राख्न तैयारी शुरू गर्नु पर्नेछ। यतिबेला स्थायी राजनैतिक समाधान भनेको राज्य भित्रको कुनै पनि व्यवस्था नभएर छुट्टै राज्य गोर्खाल्याण्ड हो भन्ने कुरा सबैले एकै स्वरमा भन्न सक्नु पर्छ। दार्जीलिङ, तराई र डुवर्समा बसोबास गर्ने गोर्खा-आदिवासी अनि अन्य अल्पसङ्ख्यक जाति र समुदायका मानिसहरूको उन्नति र उत्थान सँगै भारत भरि छरिएर बसेका भारतीय गोर्खाहरूको राष्ट्रिय चिन्हारी र राजनैतिक अधिकार अनि सुरक्षाको निम्ति गोर्खाल्याण्ड आवश्यक छ। यसैले राज्य भित्रको व्यवस्थाले भारत भरि छरिएर बसेका भारतीय गोर्खाहरुको राष्ट्रिय चिन्हारी र राजनैतिक सुरक्षा र अधिकार सुनिश्चित गर्दैन। त्यसै पनि बिगतका दुई-दुईवटा राज्य भित्रको व्यवस्था असफल बनि सकेको हाम्रो अघि छर्लङ्गै छ। गोर्खाल्याण्ड नाम भएकै व्यवस्थाले पनि हाम्रो इच्छा र आकाङ्क्षा पूरा गर्न नसकेको कारण केवल नाम भएको व्यवस्था नभएर गोर्खाल्याण्ड नाम भएको राज्यले हाम्रो इच्छा र आकाङ्क्षा पूरा गर्नेछ भन्ने कुरा सबै सरोकारवालाहरुले बुझ्नु आवश्यक छ। अनि हामी यो पनि चाहान्छौं, आज राज्य बिधानसभाबाट माननीय राज्यपालले दिएको बयानले मात्र उत्साहित नभएर गोर्खाल्याण्डको आवश्यकतालाई आत्माबाटै अवबोध गरेर, गोर्खाल्याण्डको निम्ति शहीद बनेका बीर-बीराङ्गनाहरुको बलिदानलाई स्मरण गर्दै प्रतिबद्ध बनेर ईमान्दारपूर्वक आउँदो समयको निम्ति योजना बनाउँ तर यसलाई मौकाको रूपमा लिएर छल-कपट गर्ने, राजनीतिक फाईदा उठाउने, आफ्नो श्वार्थ पूरा गर्ने, आफुलाई नै प्रोजेक्ट गर्ने जस्ता मनसायहरू नबनाई दिनुहोस् भन्ने सबै सबैलाई हार्दिक अनुरोध पनि गर्दछौं।












