झण्डै तीन महिनादेखि त्रास र अनिश्चिततामा बाँचिरहेका नक्सलबारी चियाबारीको जबरा डिभिजनस्थित मजदुरहरूले शनिबार बिहान राहतको अनुभूति गरेका छन्। वन विभागले एक चितुवालाई सफलतापूर्वक पिंजडामा थुनेपछि बगान क्षेत्रमा देखिएको भयको अवस्था कम भएको छ। जबरा डिभिजन चिया बगानभित्र चितुवाको आवतजावत बारम्बार देखिन थालेपछि मजदुरहरूमा आतंक फैलिएको थियो। यसले दैनिक कामकाजमा समेत असर परिरहेको थियो भने सुरक्षाप्रति गम्भीर चिन्ता उत्पन्न भएको थियो। परिस्थितिलाई मध्यनजर गर्दै चिया बगान मजदुरहरूले गत दिसम्बर १३ तारिक वन विभागसमक्ष ज्ञापनपत्र बुझाउँदै चितुवा नियन्त्रणका लागि पिंजडा राख्न माग गरेका थिए। मजदुरहरूको मागपछि पानीघाट्टा वन विभागले बिहीबार चिया बगान क्षेत्रमा पिंजडा जडान गरेको थियो। नभन्दै शनिबार बिहान चारो राखेर आकर्षित गरिएको चितुवा पिंजडाभित्र पसेपछि नियन्त्रणमा आएको हो। बिहानै पिंजडामा परेको चितुवा देखेपछि मजदुरहरूले तत्काल वन अधिकारीलाई जानकारी गराएका थिए।
सूचनापछि वन विभागको टोली घटनास्थलमा पुगेर चितुवालाई सुरक्षित रूपमा उद्धार गरेको छ। वन विभाग स्रोतका अनुसार चितुवाको स्वास्थ्य परीक्षण गरिनेछ र त्यसपछि उपयुक्त गहिरो जंगल क्षेत्रमा छाडिने तयारी भइरहेको छ। यद्यपि चितुवा नियन्त्रणमा आएपछि मजदुरहरूमा राहतको वातावरण बनेको छ, तर उनीहरूले अझै अन्य चितुवा पनि आसपास क्षेत्रमा हुन सक्ने आशंका व्यक्त गरेका छन्। दीर्घकालीन सुरक्षाका लागि थप पिंजडा जडान गर्न मजदुरहरूले वन विभागसँग आग्रह गरेका छन्।











