रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जित सिंह 

Share this news

सञ्जय प्रधान⇒  

दार्जीलिङबाट सिक्किम हुँदै रंगमञ्चको गल्ली गल्लीमा चार दशकदेखि घोटिएका एक नाट्यकर्मी हुन्- रञ्जित सिंह। कहिले भूतनाथ बनेर आत्माको आवाज बोलाउने, कहिले वनजंगलको रक्षाको आहवान गर्ने, त कहिले आध्यात्मिक मानव मूल्यको खोज गर्ने उनको अभिनय संसार सामाजिक सन्देशले भरिएको छ। चलचित्र ‘दार्जीलिङ मेल’मा एक बंगाली पात्रको रुपमा उनको अभिनयले दर्शकको मन जित्नु एउटा उदाहरण हो।

दार्जीलिङको सन्त रोबर्ट्स स्कूलमा पढ़्दा विद्यार्थी जीवनदेखि नै रंगमञ्चको यात्रामा उनको पाइला चल्न थालेको हो। दार्जीलिङ सरकारी महाविद्यालयबाट उच्च शिक्षा हासिल गरेका रञ्जित सिंह युवा हुँदादेखि नै नाटक लेख्ने, निर्देशन र अभिनय गर्थे। उनका अनुसार, सन् १९८० को दशकमा दार्जीलिङमा एमेच्योर थिएटर ग्रुप थियो। यसै ग्रुपमा समकालीन नाट्यकर्मी सुरेश खरेल, सोहेनका साथमा नाटक गर्थे। त्यही समयमा दार्जीलिङमै रञ्जित सिंहले आफ्नो हास्य नाटक ‘दिन्छु नि हौ बुढ़िया’ र ‘ठूली फूपु’ मञ्चन गरे। सो अवधिमा अलाहाबादमा भएको अखिल भारतीय नाटक प्रतियोगितामा पनि ‘दिन्छु नि हौ बुढ़िया’ मञ्चन गरेका थिए। यसमा उनले उत्कृष्ट अभिनेता र नाटकले उत्कृष्ट पुरस्कार पाएको उनी बताउँछन्।

‘‘नाटक दर्शकलाई आकर्षित गर्नसक्ने हुनुपर्छ। हामी नाटककारहरूको जिम्मेदारी हो, राम्रो भन्दा राम्रो नाटक प्रस्तुत गर्नुपर्छ’’

दार्जीलिङमै नाटक यात्रा चल्दै थियो, यसैबीच ब्यांक अफ् बरोड़ामा नियुक्ति पाए। नोकरीले उनलाई कोचबिहारको दुर्गम ठाउँ सालमारा, बंगलादेश सीमा नजिक पुर्‍यायो। ब्यांकको काममै व्यस्त रहँदै नाटक लेखन जारी राखे। त्यहाँको पुरानो जमिनदारी प्रथाबारे सुनेर, देखेर, अध्ययन गरी ‘खुनको बदला खुन’ नामक नाटक नेपालीमा लेखे। त्यता नेपाली नाटक नचल्ने हुँदा त्यसलाई बंगला भाषामा अनुवाद गरी ‘रक्तेर बदलाये रक्तो’ शीर्षकमा मञ्चन गरे। यो नाटक कोचबिहारका दुई तीन ठाउँमा मञ्चन भएको उनी बताउँछन्।

सन् १९९१ मा गान्तोक सरुवा भएपछि मानवीर कोलोनी बुर्तुकमा बस्न थाले। गान्तोकमा नाटकको क्षेत्रमा प्रशस्त ठाउँ र साथीहरू पाए। नेपाली संसारका वरिष्ठ संगीतकार तथा गायिका शान्ति ठटालको माध्यमबाट सिक्किममा नाटक गर्ने अवसर पाएको रञ्जित सिंह बताउँछन्। सो बेला शान्ति ठटाल सिक्किममा सांस्कृतिक निदेशक थिइन्। अहिलेको मनन् केन्द्र रहेको ठाउँमा पहिला कम्युनिटी हल थियो, जहाँ नाटकहरू मञ्चन गर्ने गरेको उनी बताउँछन्। उपभोक्ता मामिला, दुर्व्यसनहरूबारे जनचेतनामूलक सड़क नाटकहरू गर्दै जाँदा विभिन्न सरकारी विभागहरूले पनि उनलाई सड़क नाटक गर्न लगाउन थाले।

रञ्जित सिंहको नाटक लेखाइ प्रायः प्रयोगात्मक, यथार्थवादी र सामाजिक देखिन्छ भने उनका कुरा सुन्दा कतै प्रतीकात्मक रहेको पनि बुझिन्छ। उनको पूर्णाङ्की नाटक ‘आत्माको चाहना’ राम्रो चलेको उनी बताउँछन्। आफैद्वारा लेखिएको र निर्देशन गरिएको यस नाटकमा उनी ‘भूतनाथ’को भूमिकामा देखिएका थिए। उनी हाँस्दै भन्छन्, ‘‘मलाई आज पनि धेरैले भूतनाथ भनेर चिन्ने गर्छन्।’’ यसमा भूतनाथ एकजना तान्त्रिक हुन्छन्, जसले आत्मालाई बोलाउँछन्। मान्छे जिउँदो हुँदा कोही राम्रो, कोही नराम्रो कर्म गर्छन्। मरेपछि ती आत्मालाई भूतनाथले बोलाएर सोध्दा नराम्राले पश्‍चत्ताप गरेको प्रतीक प्रस्तुत गरिएको थियो। जन्म लिएपछि सबैले बाँचुन्जेल राम्रो कर्म गर्नुपर्छ भन्ने सन्देश यसले दिन्छ। यो नाटक सिक्किमभरि मञ्चन भएको उनी बताउँछन्।

नाटकबारे कुरा गर्दा रञ्जित सिंह सामाजिक जनचेतनामूलक नाटकमार्फत समाजका सबै वर्गलाई जिम्मेवारीबारे सचेत गराउन केन्द्रित देखिन्छन्। पर्यावरण संरक्षणका लागि वनजंगलको आवश्यकता झल्काउने नाटक ‘रुख बाजे’, आध्यात्मिक दृष्टिकोणबाट मानव मूल्य बुझाउने ‘सन्त कवीर’ मञ्चन गरे। यस्तै, डरलाई विषय बनाएर नाटक ‘अरित्रास’ प्रस्तुत गरे। महाभारतको कथामा आधारित नाटक ‘कर्ण’मा कर्णको भूमिका उनी आफैले निर्वाह गरेका थिए भने वर्तमान सिक्किम प्रेस क्लब अध्यक्ष भीम रावतले पनि अभिनय गरेका थिए। सन् २०२४ मा कालेबुङमा नाट्य उत्सवमा सुपरिचित नाटककार विक्रम पराजुलीको निमन्त्रणामा सहभागी भई आत्महत्याबारे चेतनामूलक नाटक ‘ममता’ मञ्चन गरे।

नाटकलाई निरन्तरता दिँदै उनले म्यूजिक भिडियो एल्बमहरूको काम गरे। सिक्किमका गायक सुनिल मोहोराको गीत ‘चिसो रात’को म्यूजिक भिडियोको लागि अवधारणा तयार गरेको, र यसको प्रविधि पक्षमा दिलिप राई, अजय प्रधान, प्रशान्त रसाइली अनि मोडल रवि पिल्लै र निशा गुरुङ रहेको उनी बताउँछन्। सिक्किमकै गायक भानु गुरुङको गीतको भिडियोहरू, र अन्य भिडियो एल्बमहरू बनाए। दूरदर्शन गान्तोकका लागि लघु चलचित्रहरू बनाए, अनि प्रशस्तिपत्र पाएको उनी बताउँछन्। आफैले लेखेको कथा ‘भूल’, ‘उपहार’, ‘लौ न हौ गाउँ फर्किउँ’ आफै निर्देशन गरेर लघु चलचित्र निर्माण गरे।

रञ्जित सिंहले आफ्नै कथा र निर्देशनमा सन् २००७ मा रजतपटको चलचित्र ‘त्याग’ निर्माण गरे। यसमा नायक देवाङ सुनार र नायिका निवेदिता परियार छिन्। उनले आफ्नै प्रोडक्सन हाउस ‘कला मल्टिमिडिया सेन्टर’ स्थापित गरेका छन्, जहाँ उनका श्रीमती नर्वदा गुरुङले एडिटिङको काम गर्ने उनी बताउँछन्। मुर्झाउँदै गएको नाटकमा उर्जा भर्ने कार्यलाई जारी राखेका छन्। नोकरीबाट अवकाश पछि भारतीय रिजर्व ब्यांक अफ् इण्डियाको पहलमा अनलाइन ठगीबारे सचेतनामूलक नाटकहरू सिक्किमभरि निरन्तर गरिरहेका छन्। दिलिप राईद्वारा निर्देशित चलचित्र ‘दार्जीलिङ मेल’बाट आफूलाई खुशी लागेको बताउँछन्। यस्तै अर्को चलचित्र सिलगढ़ीदेखि गान्तोकसम्मको यात्रालाई लिएर चन्द्र शेखर गौतमद्वारा निर्देशित ‘गान्तोक एक्सप्रेस’मा पनि बंगाली बाबुकै अभिनय गरेको उनी बताउँछन्। नाटकलाई बचाउन र यसको लोकप्रियता बढ़ाउनेबारेमा कुरा गर्दा उनी भन्छन्, ‘‘नाटक दर्शकलाई आकर्षित गर्नसक्ने हुनुपर्छ। हामी नाटककारहरूको जिम्मेदारी हो, राम्रो भन्दा राम्रो नाटक प्रस्तुत गर्नुपर्छ।’’ उनी भन्छन्, ‘‘सरकारको भरोसामा मात्र पनि हुँदैन हाम्रो पनि जिम्मेदारी छ।’’ नाटकको अघि आर्थिक चुनौतीहरू रहेको, र हलको भाड़ा पनि अहिले पहिलेको भन्दा धेरै महँगो पर्ने उनको भनाइ छ। रञ्जित सिंहको चार दशकको रंगमञ्च यात्रा सामाजिक सन्देश, सांस्कृतिक चेतना र कलात्मक प्रतिबद्धताको प्रतिबिम्ब हो।

 


Share this news
आजको रोजाइ
बदलिएको सपनाले बनायो नयाँ पहिचान

बदलिएको सपनाले बनायो नयाँ पहिचान

रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जित सिंह 

रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जित सिंह 

शारदा उमाविको रजत जयन्ती समारोह भव्य रूपमा आयोजित

शारदा उमाविको रजत जयन्ती समारोह भव्य रूपमा आयोजित

गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो

गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो

जनजाति मान्यताको निम्ति महासंघले इण्टरलोक्युटरलाई रिर्पोट बुझाउने

जनजाति मान्यताको निम्ति महासंघले इण्टरलोक्युटरलाई रिर्पोट बुझाउने

313 शिक्षक-शिक्षिकाको साथमा पेम्बा रिम्पोर्छे

313 शिक्षक-शिक्षिकाको साथमा पेम्बा रिम्पोर्छे

बंगलादेशमा भीडद्वारा युवकको हत्या, मृत्यु पछिसमेत अमानवीय व्यवहार

बंगलादेशमा भीडद्वारा युवकको हत्या, मृत्यु पछिसमेत अमानवीय व्यवहार

भ्रष्ट सरकारको छत्रछायामा नियुक्ति प्रक्रियाको कारण 313 को अवस्था

भ्रष्ट सरकारको छत्रछायामा नियुक्ति प्रक्रियाको कारण 313 को अवस्था

हिमालय दर्पणले नेपाली साहित्यलाई अघि बढ़ाउन ठूलो भूमिका निभाएको छः एमएस खान

हिमालय दर्पणले नेपाली साहित्यलाई अघि बढ़ाउन ठूलो भूमिका निभाएको छः एमएस खान

घैयाबारी ग्राम पञ्चायत 3 मा 3 वटा डिसपोजल मशिन वितरण

घैयाबारी ग्राम पञ्चायत 3 मा 3 वटा डिसपोजल मशिन वितरण

आजको रोजाइ