खरसाङ, 29 जून (निसं)ः खरसाङका मानिसहरूले असार 15 दही–चिउरा अनि अन्य स्वदिष्ट खानेकुरो खाएर पालन गरेका छन्। असार 15 विक्रम सम्वतको असार महिनाको 15 गते पालन गरिन्छ। आइतवार असार 15 को अवसरमा खरसाङका धेरै मानिसहरूले बिहानै उठेर आफ्नो घरमा अघिबाटै ल्याइएको दही, चिउरा, अनि भान्सामा स्वदिष्ट खानेकुरो तयार गरेर परिवारको साथमा असाल 15 पालन गरेका छन्। मानिसहरूले यो पर्व पालन गर्दै आफ्ना छिमेकी, इष्टमित्रहरूको साथमा पनि दही–चिउरा अनि आफूले तयार पारेको मिठो खानेकुरो आदान–प्रदान गरेको पनि देखिएको छ। आइतवार बिहानैदेखि सामाजिक सञ्जाल फोसबुकमा मानिसहरूले दही–चिउरा अनि आफ्नो घरमा तयार गरिएका स्वदिष्ट पकवान, फल–फूलको फोटो अपलोड गरेर आफ्ना साथी–भाई, शुभचिन्तक अनि आफन्तजनमा असार 15 को शुभकामना आदान–प्रदान गरेका थिए। असार 15 को अघिल्लो दिन शनिवार खरसाङको विभिन्न दोकानहरूबाट चिउरा अनि दही राम्रोसित बिक्री भएको थाहा लागेको छ। कतिपय दोकानहरूमा बेलुकाको समयमा चिउरा सकिएको थियो भने दही कतिपय दोकानमा सधैँको भन्दा अधिक बिक्री भएको थियो। असारको 15 नेपाली भाषी समाजमा दही–चिउरा खाएर पालन गरिने परम्परा रहेको छ भने यस दिन धान रोपाईको व्यस्त दिन पनि मानिन्छ। अघिको समयमा नापाली भाषीहरूको प्रमुख पेशा खेती–पाती थियो। मानिसहरूले असारको 15 लाई धान रोपाई आरम्भको शुभ दिन मान्ने चलन पनि छ। यस दिन खेतमा सबै मिलेर धान रोपाई गर्दै व्यस्त रहने र व्यस्ताको समयमा दही–चिउरा खाने चलन रहेको पाइएको छ। असारको 15 मा धान रोपाई गर्दै हिलो खेल्ने, हिलो छेपाछेप गर्ने, जुहारी गीत, हाक्पारे गीत गाउँदै नाच–गान गर्ने चलन पनि रहेको बताइन्छ। खरसाङ लगायत दार्जीलिङ पहाड़को धेरै स्थानमा अहिले धान रोप्न छोड़िएको छ। तथापि कतिपय स्थानमा अझ पनि धानको खेती गरिन्छ। धानको खेती गरिने गाउँ–बस्तीहरू बुङकुलुङ, दुधे, रोहिणी, बाघमारा बस्ती आदि स्थानमा धान रोपाई गर्दै असार 15 पालन गरिएको खबर छ। नेपाल एउटा कृषि प्रधान देश मानिन्छ, नेपाल सरकारले असार 15 लाई धान दिवसको रुपमा 2004 मा नै घोषणा गरिरहेको छ। नेपाली भाषीहरूको सांस्कृतिक पर्व असार 15 खरसाङका धेरै मानिसहरूले दही–चिउरा अनि अन्य स्वदिष्ट खानेकुरो खाएर एक–अर्कासित शुभकामाना आदान–प्रदान गर्दै असार 15 सांस्कतिक पर्वलाई पालन गर्ने प्रक्रियालाई यथावत राखेका छन्।
