असहायहरूको सहारामा समर्पित मानवसेवी कार्यकर्ता

Authored By: सञ्जय निरौला, बिजनबारी

Share this news

मानव जीवन सृष्टिको सबैभन्दा अमूल्य र सम्मानित अस्तित्व मानिन्छ। त्यसैले प्रत्येक व्यक्तिले समान हक, अधिकार र सम्मानका साथ बाँच्न पाउनुपर्छ भन्ने मान्यता सभ्य समाजको आधार हो। तर व्यवहारमा हेर्दा हाम्रो समाज अझै पनि समानता र मानवीय संवेदनाको वास्तविक अभ्यासबाट निकै टाड़ा छ। अधिकार र समावेशिताका नाराहरू भाषण, नीति र औपचारिक कार्यक्रममा सीमित भइरहँदा सड़कमा अलपत्र परेका, घरविहीन, बिरामी तथा मानसिक रूपमा अस्वस्थ मानिसहरू आधारभूत मानवीय आवश्यकताबाट वञ्चित भएर जीवन बिताइरहेका छन्।

‘‘देशका हरेक कुनादेखि ठूला ठूला विकसित महानगरसम्म सड़कमा जीवन बिताउनेहरूको कमी छैन…’’

यस्ता असहायहरूको पीड़ा महसुस गर्दै उनीहरूको जीवनमा आशाको किरण बन्ने मानिसहरू भने निकै कम छन्। यिनै कम व्यक्तित्वमध्ये एक हुन् सुमन बरदेवा, जसले सिलगढ़ी तथा वरपरका क्षेत्रमा सड़कमा बेसहारा जीवन बिताइरहेका मानिसहरूको उद्धार, उपचार र पुनःस्थापनालाई आफ्नो जीवनको उद्देश्य बनाएकी छिन्। अस्पतालदेखि सेल्टर होमसम्मको यात्रामा धेरै असहायहरूको सहारा बनेकी सुमनको जीवन निःस्वार्थ मानव सेवाको प्रेरणादायी उदाहरण बनेको छ।

सानैदेखि आवश्यक परेकाहरूका निम्ति आफूलाई समर्पित गर्ने सोच बोकेकी सुमन बरदेवाको समाजसेवाको यात्रा सन् २०१८ तिर दार्जीलिङको सामाजिक संस्था नमस्ते फाउन्डेसनकी संस्थापक पिंकी विश्‍वकमर्र्सँग एक कार्यक्रममा भेट भएपछि नयाँ मोड़मा पुग्यो। आफूलाई मनपर्ने सेवामूलक कार्यलाई संस्थागत रूपमा अघि बढ़ाउने अवसर पाएपछि उनी नमस्ते फाउन्डेसनसँग आबद्ध भइन्। त्यहाँ उनले आवश्यक परेकाहरूलाई प्रभावकारी रूपमा कसरी सेवा पुर्‍याउने भन्ने व्यावहारिक ज्ञान हासिल गरिन्। विभिन्न सामाजिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आफ्नो जिम्मेवारीलाई अझ फराकिलो बनाइन्।

समाजप्रतिको उनको समर्पण र सक्रियतालाई मूल्यांकन गर्दै नमस्ते फाउन्डेसनले उनलाई सिलगढ़ी क्षेत्रको संयोजकको जिम्मेवारी सुम्पियो। त्यसपछि उनले सड़कमा जीवन बिताइरहेका असहायहरूको पीड़ालाई अझ नजिकबाट बुझ्ने अवसर पाइन्। बिस्तारै सुमन सामाजिक कार्यकर्ताका रूपमा चिनिन थालिन्। सम्पर्क र जिम्मेवारी दुवै बढ़्दै जाँदा अझ उर्जावान बनेर सेवाकार्यमा निरन्तर लागिन्।

पछि संस्थागत रूपमा अलग भए पनि उनको सेवायात्रा रोकिएन। उनले एक्लै नयाँ यात्रा शुरु गरिन्। प्रारम्भिक दिनहरू निकै चुनौतीपूर्ण रहे पनि उनी कहिल्यै विचलित भइनन्। झन् दृढ़ संकल्पका साथ सड़कमा भेटिएका बिरामी, बेवारिसे तथा मानसिक रूपमा अस्वस्थ मानिसहरूलाई अस्पताल पुर्‍याउने, उपचारको व्यवस्था मिलाउने र आवश्यक सहयोग जुटाउने कार्यलाई निरन्तरता दिइन्। आज पनि उनको यो अभियान अविराम रूपमा चलिरहेको छ।

आफ्नो व्यक्तिगत जीवनभन्दा आपतमा परेकाहरूका निम्ति जीवन समर्पित गर्नुपर्ने सोच राख्ने सुमन भन्छिन्, ‘‘हुन त मैले रोजेको यात्रा यति सहज छैन। तथापि यो कार्यबाट धेरैलाई अकाल मृत्यु हुनबाट बचाउने प्रयास गरेकी छु। समाजले हेर्ने दृष्टिकोण जस्तोसुकै भए पनि परिवारको साथ र सहयोगले सधैं काम गर्ने ऊर्जा मिल्छ।’’

सुमन थप्छिन्, ‘‘शुरुमा आफ्नै इच्छाले यो काम थालेकी थिएँ। तर अहिले जिम्मेवारी निकै बढ़ेको छ। बिहानदेखि अबेर रातिसम्म अस्पतालकै चक्कर काट्दै बित्छ। कहिलेकाहीँ मानसिक सन्तुलन गुमाएका मानिसहरूलाई उपचारका लागि लैजान निकै कठिन हुन्छ। तर मेरो मनोबल कहिल्यै घट्दैन।’’

विभिन्न कारणले परिवारबाट बिछोड़िएका मानिसहरूलाई पुनः परिवारसँग मिलाउने प्रयासमा पनि उनी उत्तिकै सक्रिय छिन्। कसैलाई उपचारका लागि आर्थिक सहयोग आवश्यक परे सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गर्छिन् र संकलित रकमको पारदर्शी विवरण पनि सार्वजनिक गर्छिन्। यही पारदर्शिताका कारण उनलाई सहयोग गर्न धेरै मानिसहरू तत्पर रहन्छिन्। सहयोगकै बलमा जटिल रोगबाट समेत धेरैलाई निको पार्न सफल भएको अनुभव उनीसँग छ। यस्तै उनको कामलाई देखेर आवश्यक परेकाहरूका निम्ति प्रयोगमा ल्याउन निरन्तर सहयोग गर्नेहरूको कमी नरहेको उनी बताउँछिन्। जसमा मुख्यत देश-विदेशमा कार्यरत् रहँदै मानवसेवालाई प्रमुखता दिने व्यक्तिहरू छन्, जसले यथाशक्ति आर्थिक सहयोग राशि उनीसम्म पठाउने गर्दछन्।

सड़कबाट उद्धार गरी अस्पताल, त्यसपछि परिवार वा सेल्टर होमसम्म पुर्‍याउने क्रममा उनले एउटा गम्भीर सामाजिक यथार्थ नजिकबाट देखेकी छिन्। उनको अनुभवमा परिवारभित्रको माया, स्नेह र आत्मीयताको कमी नै धेरै मानिस सड़कमा पुग्नुको प्रमुख कारण हो। वृद्धवृद्धा, मानसिक तथा शारीरिक रूपमा अस्वस्थ व्यक्तिप्रति परिवारले प्रेम, सम्मान र जिम्मेवारी निर्वाह गर्नसके सड़कमा पुग्नेहरूको संख्या धेरै हदसम्म घट्नसक्ने उनी बताउँछिन्।

यस्ता असहाय नागरिकका लागि सरकारले पनि गम्भीरतापूर्वक दीर्घकालीन योजना बनाउनुपर्ने उनको धारणा छ। उनी भन्छिन्, ‘‘देशका हरेक कुनादेखि ठूला ठूला विकसित महानगरसम्म सड़कमा जीवन बिताउनेहरूको कमी छैन। तर यसको उचित व्यवस्थापन गर्ने घोषणा औपचारिकता मात्रै सीमित रहे केही हुँदैन। यसैले सरकारको ध्यानाकर्षण गराउँदै उनीहरूका निम्ति उचित व्यवस्थापन गर्ने सेल्टर होम बनाउन नितान्त आवश्यक छ।’’ उनले सरकारसँग सड़कमा पुगेका मानिसहरूको उद्धार, पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनका लागि ठोस नीति तथा पर्याप्त पूर्वाधार निर्माण गर्न आग्रह गरेकी छिन्।

यस्तै परिवार तथा समाजमा अनुशासनको दैनिक रूपमा कमी भएको हुनाले समाज बिस्तारै कुरितीतिर धकेलिँदै गएको छ। यसैले बाल्यकालदेखि नै बालबालिकाहरूलाई किताबी शिक्षासँगै नैतिक शिक्षा दिन अत्यन्तै जरुरी छ। यसबारेमा उनी भन्छिन्, ‘‘हामीले हाम्रो परिवार तथा समाजलाई शिक्षित त बनाउँदैछौं। तर बिस्तारै अनुशासन भुल्दैछौं। यसैले शिक्षा र अनुशासन दुवै एकैसाथ लिन नसके भोलिको समाज अन्धकार छ। यसैले म सम्पूर्ण अभिभावकहरूलाई छोराछोरीलाई किताबको ज्ञान मात्रै होइन, डिग्रीको थाक थुपार्ने काम मात्रै होइन, अनुशासन र नैतिक शिक्षाको पनि ज्ञान दिने अनुरोध गर्दछु।’’

परिवारको माया र साथ नपाएर सड़कमा पुगेका धेरै मानिसहरूको जीवनमा आशाको किरण बनेकी सुमनले उत्तर बंगाल मेडिकल कलेजबाट धेरैको जीवनलाई नयाँ दिशा दिएकी छिन्। हाल करिब एक दर्जन असहाय व्यक्तिलाई अस्पतालको एक भवनमा सुरक्षित रूपमा राखिएको छ। उनीहरूको परिवारसँग सम्पर्क छैन, ठेगाना छैन, तर सुमनको विशाल हृदयमा उनीहरूका लागि सधैं ठाउँ छ। यद्यपि स्थायी आश्रयको अभावले उनलाई सधैं चिन्तित बनाइरहन्छ। सरकारले व्यवस्थित सेल्टर होम निर्माण गर्नसके यस्ता असहायहरूले पनि सम्मानपूर्वक आफ्नै छानामुनि जीवन बिताउन पाउने उनको विश्‍वास छ। यस विषयमा उनले जनप्रतिनिधिहरूसँग समेत कुरा उठाइसकेकी छिन् र सकारात्मक पहल हुने आशा राखेकी छन्।

आफ्नै लागि मात्र बाँच्ने सोच हाबी हुँदै गएको वर्तमान समाजमा सुमन बरदेवा जस्ता व्यक्तित्वहरू केवल प्रेरणाका पात्र मात्र होइनन्, मानवताको वास्तविक परिभाषा हुन्। निस्वार्थ सेवा, करुणा र समर्पणले समाज परिवर्तन सम्भव हुन्छ भन्ने सत्यलाई उनले आफ्नै कर्ममार्फत प्रमाणित गरिरहेकी छिन्। यस्ता व्यक्तिहरूको सोच, अभियान र योगदानलाई राज्य र समाजले उचित साथ दिनसके एक दिन हाम्रो समाजमा कुनै पनि असहाय व्यक्ति बेवारिसे भएर सड़कमा जीवन बिताउन बाध्य हुने अवस्था अवश्य अन्त्य हुनेछ।

 


Share this news
आजको रोजाइ
‘अरण्य सप्ताह२०२६’ अन्तर्गत वृक्षारोपण र वातावरण संरक्षण सचेतना

‘अरण्य सप्ताह२०२६’ अन्तर्गत वृक्षारोपण र वातावरण संरक्षण सचेतना

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

विधायक भरत छेत्री बने पश्चिम बङ्गाल खेलकूद विभागका उपाध्यक्ष

विधायक भरत छेत्री बने पश्चिम बङ्गाल खेलकूद विभागका उपाध्यक्ष

बदमाशहरूले ज्वेलरी पसल लुट्न सुरुङ जस्तो बाटोको योजना बनाए

बदमाशहरूले ज्वेलरी पसल लुट्न सुरुङ जस्तो बाटोको योजना बनाए

खुला लेभल क्रसिङमा रेलले भ्यानलाई ठोक्दा २विद्यार्थीसहित ३को मृत्यु

खुला लेभल क्रसिङमा रेलले भ्यानलाई ठोक्दा २विद्यार्थीसहित ३को मृत्यु

अरण्य सप्ताह: विद्यार्थीहरूलाई टोय ट्रेन यात्रा, पर्यावरण संरक्षणबारे सचेतना

अरण्य सप्ताह: विद्यार्थीहरूलाई टोय ट्रेन यात्रा, पर्यावरण संरक्षणबारे सचेतना

भारतको पहिलो हाइड्रोजन रेलः स्वच्छ रेल प्रविधितर्फ ऐतिहासिक फड्को

भारतको पहिलो हाइड्रोजन रेलः स्वच्छ रेल प्रविधितर्फ ऐतिहासिक फड्को

ग्यालेक्सी जेड फोल्ड ८: नयाँ स्पाइडर-म्यान प्रोमोले डिजाइन संकेत

ग्यालेक्सी जेड फोल्ड ८: नयाँ स्पाइडर-म्यान प्रोमोले डिजाइन संकेत

दिल कुमार सुब्बालाई सम्मान जनाइयो

दिल कुमार सुब्बालाई सम्मान जनाइयो

आजको रोजाइ