इण्डियन गोर्खा जनशक्ति फ्रण्टले 2013 मा टेण्डर भएको खरसाङ नगरपालिकाको स्वेरेज प्रणाली निर्माण कार्यको पनि जाँज हुन पर्ने माग गरेको छ। उक्त माग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट खरसाङ महकुमा समितिको पक्षबाट यसका अध्यक्ष दया देवानले भनेका छन् कि पश्चिम बङ्गालको सुवेेन्दु अधिकारी सरकारले पश्चिम बङ्गाल राज्यमा एवं जीटीए व्यवस्थामा बिगत 2011 सालदेखिको विभिन्न परियोजना अन्तर्गतको सरकारी रकम हिनामिना (भ्रष्टचार) भएको जाँच गर्न भनी एक सदस्यी जाँच आयोग गठन गरेको छ। उक्त जाँच आयोगको आईजीजेएफ पार्टीको खरसाङ महकुमा समिति स्वागत गर्दछैाँ अनि मुख्यमन्त्रीप्रति आभार व्यक्त पनि गर्दछौँ। विकासको नाममा धेरै वटा परियोजनाहरू कागजमा मात्र भएको प्रमाण हामीसित छ। सरकारी योजनाको कामको मेजरमेन्ट बुक भर्ने एसएई, मेजरमेन्ट बुकमा हस्ताक्षर गर्ने सहायक अभियन्ता, कार्यकारिणी अभियन्ता, सरकारी नोकरशाही ज-जसले पनि विकासको निम्ति आएको रकम कागजमा मात्र पुरा गरेर सम्पूर्ण सरकारी रकम भ्रष्टाचार गरेका छन्, ती भ्रष्टचारीहरूलाई कड़ा भन्दा कड़ा सजाय भएको हुन पर्छ।
देवानले दावीको साथमा अघि भनेका छन्- जीटीए व्यवस्था संगै खरसाङ नगरपालिकामाथि पनि जाँच हुन अति आवश्यक छ। केन्द्रीय योजना अन्तर्गत खरसाङ नगरपालिकाको कतिपय वार्डहरूमा स्वेरेज लाईन बिछ्याउन भनी भिन्न भिन्नै डायोग्रामको पीभीसी पाइपको निम्ति नगरपालिकाद्वारा 2013 मा 45 लाख रुपियाँको टेण्डर बोलाइएको थियो। उक्त टेण्डर कलकत्ताको आलोम पोली एक्सट्रक्सनले पाएको थियो। पाइप खरसाङ्मा आयो, पाइप खरसाङ नगरपालिका प्रथमिक कन्या पाठशालाको खेल मैदानमा राखिएको थियो। तर एकाबिहानै आगलागी भएर सम्पूर्ण पाइप खरानीमा परिणत भयो। त्यस समय गोजमुमोको नगरपालिका बोर्ड थियो। समीर दीप ब्लोन नगरपालिका अध्यक्ष थिए। उक्त आगलागी काण्डको खरसाङ थानामा एफआइआर पनि गरिएको थियो। अध्यक्ष समीर दीप ब्लोनले सीबीआई जाँचको समेत माग गरेका थिए। तर आजसम्म उक्त पाइप अग्नि काण्ड जाँचको नतिजा निस्किएको छैन। उक्त काण्ड भएको आज लगभग 13 वर्ष भईसक्यो।
देवानले दावी गर्दै अझ भनेका छन्- यो पाइप अग्निकाण्ड हुनुको पछि धेरै रहस्य लुकेको छ। यसमा भ्रष्टचार अवश्यै भएको छ। वास्तवमा 45 लाख रुपियाँ रकमको पाइप पाठशाला मैदानमा अटाउँदैन थियो। पाइप आधा मात्र ल्याइएको थियो त्यो पनि मेल-फिमेल हुन पर्नेमा सबै मेल पाइप ल्याइएको थियो भन्ने पछिबाट जान्नमा आएको थियो। देवानले आरोपको साथमा दावी गर्दै भनेका छन्- यस प्रकारको भ्रष्टाचार नगरपालिकामा धेरै भएको छ। अन्य धेरै परियोजनामा भ्रष्टचार भएको छ, जसको खुलासा अब आईजीजेएफ पार्टीले गर्दै जानेछ।











