आज सात माइल साउथ रेन्जका रेन्ज अफिसर श्री उत्तम चन्द्र प्रधानको नेतृत्वमा सिङ्गीझोडा इन्द्रमाया प्राथमिक नेपाली पाठशालाको परिसरमा ‘अरण्य सप्ताह–२०२६’ अन्तर्गत वृक्षारोपण तथा वातावरण संरक्षण सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रमअन्तर्गत विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै वृक्षारोपणको महत्त्वबारे जानकारी प्रदान गरिएको थियो। त्यसपछि विद्यार्थीहरूलाई पेटल्स एन पल्स स्कुलमा लगेर वन, वन्यजन्तु र वातावरण संरक्षण विषयक चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनशीलता अभिवृद्धि गर्नुका साथै प्रकृतिप्रतिको माया र संरक्षणको भावना अझ सुदृढ बनाएको थियो।
कार्यक्रममा भक्तिनगर थानाका प्रभारी निरीक्षक (IC) श्री महेश्वर माजी, बङ्गाल सफारीका रेन्ज अफिसर श्री द्वैपायन राणो, चमकडाङ्गी–लालटुङ्ग JFMCका अध्यक्ष श्री गौतम कुमार छेत्री, तोरीबारी–सिङ्गीझोडा JFMCका अध्यक्ष श्री राजेश सुनुवार, तोरीबारी पञ्चायत सदस्य श्रीमती यसोदा सुनुवार, बेतगढा पञ्चायत सदस्य श्रीमती सम्फा बर्मन, विद्यालयका प्रधानाध्यापक श्री उत्तम सुब्ब, शिक्षिकाहरू, सात माइल साउथ रेन्जका बिट अफिसरहरू, वन कर्मचारीहरू तथा अन्य विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य वन तथा वन्यजन्तुको संरक्षणप्रति जनचेतना फैलाउनु, वृक्षारोपणमार्फत हरियाली विस्तार गर्नु, वातावरणीय सन्तुलन कायम राख्नु, जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान पुर्याउनु तथा विद्यार्थीहरूमा प्रकृतिप्रतिको प्रेम, जिम्मेवारी र संरक्षणको संस्कार विकास गर्नु रहेको थियो।
अरण्य सप्ताहको उद्घाटनमा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले १ करोड बिरुवा रोप्ने लक्ष्य घोषणा गरे र विकास परियोजनाहरूमा एक तिहाइ जमिन वृक्षारोपणका लागि छुट्याउन अनिवार्य गरे – साथै अप्रत्यक्ष रूपमा अघिल्लो सरकारलाई वन क्षति पुर्याएको आरोप पनि लगाए।













