पखावजका साधक, लोकबाजाका संवाहक पण्डित निशान्त

Authored By: सञ्जय प्रधान  

Share this news

पहाड़को रमाइलो शहर कालेबुङबाट शुरु भएको ४२ वर्षीय पण्डित निशान्त सिंहको सांगीतिक यात्रा आज अमेरिका र युरोपका प्रतिष्ठित मञ्चसम्म पुगेको छ। भारतीय शास्त्रीय संगीतका साधक र संस्कृतिका संवाहकका रूपमा उनले आफ्नो प्रतिभा र समर्पणले अन्तर्राष्ट्रिय मञ्चमा छुट्टै पहिचान बनाएका छन्।

‘‘कसैको भाषा, कसैको संस्कृति अप्नाउनु राम्रो हो, तर आफ्नो बिर्सिनु भएन। आफ्नो पनि त्यतिकै प्रचार गर्नुपर्छ’’

स्व० काजी सिंह (पद्मश्री) र श्रीमती गङ्गा सिंहका छोरा निशान्त सिंहले संगीत विरासतमा पाएका हुन्। निशान्तका बाबु पद्मश्री पुरस्कारले सम्मानित स्व० काजी सिंह नेपाली संसारमा मादलका विशेषज्ञका रूपमा परिचित छन्। कालेबुङको सात माइलस्थित उनको घरमा बराजु-बाजेको पालादेखि मादल र मारुनीको जमघट निरन्तर चल्थ्यो। कालेबुङमा जन्मिएका निशान्त गान्तोकमा हुर्किए र त्यहीं टीएनएबाट १२ कक्षा पूरा गरे। सन् २००१०२ मा खरसाङमा स्व० गुरु प्रतापसिंह लोहारसित ताबलाको तालिम लिए। त्यसपछि विश्‍व भारती, शान्ति निकेतनबाट बी. म्यूज (तबलामा अनर्स) अनि तबला-पखावजमा एम. म्यूज गरे।

प्रधानमन्त्री नरेन्द्र मोदीका साथमा निशान्त सिंह।

चार वर्षको कलिलो उमेरदेखि नै उनले मादल र तबला बजाउन शुरु गरेका हुन्। परिवारमा उनी चौथो पुस्ताका संगीतकार हुन्। सन् १९७० को दशकमा उनका बाबु स्व० काजी सिंह बम्बई (अहिले मुम्बई) मा भारतका दिग्गज संगीतकारहरू लक्ष्मीकान्त-प्यारेलाल, शंकर जय किशन, कल्याणजी-आनन्दजीहरूसित बजाउँथे। दश वर्ष त्यहाँ काम गरेर फर्किएपछि गान्तोकको टीएनएमा संगीत साथै नेपाली र हिन्दी भाषाका शिक्षकको रूपमा काम गरे।

विश्‍वप्रसिद्ध तबला वादक उस्ताद जाकिर हुसैनसित निशान्त सिंह।

मादल-तबलाबाट शुरु भएको निशान्तको यात्रा आज पखावज वादकको रूपमा विश्‍वमञ्चमा पुगेको छ। मादल र पखावजबारे सोध्दा उनी भन्छन्, ‘‘मादल र पखावज एकै परिवारका हुन्। यी सबै मृदङ हो र सबैको अलग अलग नाम छ। तबला, पखावज, ढोलक, नाल, कङ्गो यी सबै मृदङहरू हो- छुट्टिएर सबै आ-आफ्नो नाम भएको हो। यसको गोत्र रुद्र डमरु हो- प्रजाति भन्नुपर्दा मृदङ भनेर मानियो, त्यसपछि यिनीहरूको नाम चाहिँ थरहरू भने जस्तै हो।’’

गएको केही वर्षदेखि उनले पखावज र मादलबारे शोधकार्य गरिरहेका छन्। प्रथमपटक यसको शोधपत्र उनले हालैमा त्रिभुवन विश्‍वविद्यालयअन्तर्गत ललित कला क्याम्पस काठमाड़ौंमा पाँच दिवसीय अन्तर्राष्ट्रिय संगीत महोत्सवमा प्रस्तुत गरिसकेका छन्। विश्‍व भारतीमा उनले गरेका बी. म्यूज र एम. म्यूज शैक्षिक क्षेत्रको बीए-एमएकै बराबरी हो। यताका समाजमा संगीत एकाडेमिक शिक्षा हो भन्ने जागरुकता खासै आउन सकेको छैन। निशान्त भन्छन्, ‘‘अहिले शास्त्रीय संगीतको उच्च शिक्षा दिगो करियर बन्नसक्छ। अहिले यसैमा नेट (एनईटी) गर्न पाइन्छ, यसैमा प्राध्यापक पनि बन्न सकिन्छ, र अझ धेरै काम गर्न सकिन्छ।’’

उनका अनुसार, पखावजका तीनवटा घराना- ब्रज-मथुरा, बंगाल र लखनउ छन्। उनको घराना हो- लाला केवल किशन घराना- बंगाल परम्परा। यसमा ब्रज-मथुरा मूल हो। यो सोह्रौं शताब्दीमा शुरु भएको हो। भारतमा ब्रज-मथुरा सबैभन्दा पुरानो घराना हो। उनले आफ्ना गुरु पण्डित चञ्चल कुमार भट्टाचार्यसित सिकेको २० वर्ष भइसकेको छ। ‘‘अहिले पनि सिक्दैछु’’, निशान्त भन्छन्।

निशान्त पखावज विधामा सबैभन्दा कान्छो र पहिलो फुलब्राइट एसोसिएट हुन्। अमेरिकी सरकारको यो विश्‍वकै प्रतिष्ठित छात्रवृत्ति हो। उनले क्यालिफोर्नियाको सान राफाएलस्थित अली अकबर कलेज अफ् म्यूजिकमा पद्मश्री पण्डित स्वपन चौधरीको मार्गदर्शनमा अध्ययन गरेका हुन्। सन् २०२१२२ मा दुई वर्ष क्यालिफोर्नियामा बसेर उनले सन् २०२३ मा प्रमाणपत्र प्राप्त गरेका छन्।

पखावजको हराइसकेको कम्पोजिसनलाई फिर्ता ल्याउने काम उनको शोधकार्यको विषय थियो। यस्तो कार्य गर्ने भारतमा उनी पहिलो र सबैभन्दा कान्छो हुन्। यसले गर्दा सन् २०२२ देखि एसएससी सीएचएसएल परीक्षाहरूमा संगीतको जेनरल नलेजमा उनको बारेमा पढ़्नुपर्छ।

दार्जीलिङ-कालेबुङ र सिक्किममा पखावज र शास्त्रीय संगीतको अवस्थाबारे उनी भन्छन्, ‘‘भारतीय शास्त्रीय संगीतबारे हेर्दा अझ पनि त्यस्तो चासो राख्ने देखिएको छैन। हामीले स्कूलहरूमा गएर प्रचार गर्‍यौँ भने यस विषयमा जान्नेछन् होला। हाम्रोबाट पनि त्यस किसिमको पहल भएको छैन। यदि सहयोग पाएँ मेरोतर्फबाट गर्नेछु। यो कुरा स्कूलदेखि नै हाल्न पाए राम्रो हुनेछ। यसलाई करियर बनाउन सकिन्छ भन्ने जागरुकता ल्याउन सकिन्छ।’’

अमेरिकामा बस्दा निशान्तले भारतीय शास्त्रीय संगीतप्रति अमेरिकीहरूको दृष्टिकोण उच्चकोटीको रहेको बुझेका छन्। उनी भन्छन्, ‘‘उनीहरू त्यहाँ के विद्या सिकेर बसेका छन् भन्ने कुरा भारतमा विश्‍वास गर्न सक्दैन। भारतीय शास्त्रीय संगीतका ठूला ठूला उस्तादहरूले त्यहाँ गएर सिकाए, जसको सबै अडियो-भिडियो रेकर्ड गरेर लाइब्रेरी बनाएर राखेका छन्।’’ उनी अझ भन्छन्, ‘‘मलाई शोधकार्य गर्न अमेरिका पुग्नुपर्‍यो। पखावजमाथि त्यहाँ शोध गर्न गएको म पहिलो व्यक्ति हो। हाम्रो असली विद्या बाहिर गइसक्यो।’’ 

निशान्तले आफ्नो संगीत यात्रामा भारतका विश्‍वप्रसिद्ध तबला वादक उस्ताद जाकिर हुसैन, पण्डित स्वपन चौधरी, कथक सम्राट पद्म विभूषण बिर्जु महाराज, उस्ताद आशिष खान तथा इण्डो-ज्याज फ्यूजन ब्याण्ड शक्तिका स्याक्सोफोन वादक जर्ज ब्रुक्ससित उनले मञ्च साझा गरेका छन्। विदेशमा पहिलोपटक उनले सन् २०१५ मा मेक्सिको र क्यानाडामा प्रस्तुति दिए। त्यसपछि थाइल्याण्ड, बंगलादेश, सिंगापुर, जर्मनी, मलेसिया र लण्डनलगायत देशहरूमा कार्यक्रम प्रस्तुत गरिसकेका छन्।

साउदी अरबका युवराज मोहम्मद-बिन-सलमानको भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा उनको सम्मानमा आयोजित सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा निशान्तको टोलीले सांगीतिक प्रस्तुति दिएको थियो।

नेपाली लोकबाजाहरूको प्रवर्द्धनका निम्ति निशान्तले कालेबुङमा पद्मश्री काजी सिंह इन्स्टिच्युट अफ् श्रीमादलस्थापना गरेर अहिले यहाँ २० जनालाई मादलको तालिम दिइरहेका छन्। मादललाई शास्त्रीय रूप दिन उनका बाबु स्व० काजी सिंहले आफ्नो जीवन खर्चिएर मादलको नोटेशन बनाए। सोहीअनुसार मादलको तालिम प्रदान गरिरहेको निशान्त बताउँछन्। अहिले इन्स्टिच्युटमा च्याब्रुङ र डम्फू पनि सिकाइरहेको उनी बताउँछन्।

दार्जीलिङ, सिक्किम पहाड़ी क्षेत्रमा पखावज, भारतीय शास्त्रीय संगीत र मादल युवा वर्गमा प्रचलित गराउन सरकारी तहबाट काम हुनुपर्ने निशान्तको भनाइ छ। यो सबै स्कूलमा लागु गर्नुपर्छ भन्ने उनी बताउँछन्। उनी भन्छन्, ‘‘सिक्नेहरूलाई अहिले भारत सरकारले १४ वर्ष मुनिका र २५ वर्ष मुनिकालाई छात्रवृत्ति दिइरहेको छ। म बाटो देखाइदिन तयार छु, त्यसको निम्ति सरकारले पनि सहायता गर्नुपर्छ।’’ उनी थप्छन्, ‘‘यसलाई अघि बढ़ाउन सामाजिक दायित्व जरुरी छ। यसमा हामी सबै सचेत हुनुपर्छ। हाम्रो संस्कृति बिर्सिएर जानु हुँदैन भन्ने ठानेर यसलाई सहयोग गर्नुपर्छ भनेर अघि बढ़े सफल हुन्छ। कसैको भाषा, कसैको संस्कृति अप्नाउनु राम्रो हो, तर आफ्नो बिर्सिनु भएन। आफ्नो पनि त्यतिकै प्रचार गर्नुपर्छ।’’

साधना, शोध र संस्कृतिप्रतिको अटल समर्पणका साथ निशान्त सिंहले भारतीय शास्त्रीय संगीत र नेपाली लोकबाजालाई विश्‍वमञ्चमा नयाँ उचाइ दिएका छन्। अब उनको लक्ष्य केवल आफू सफल हुनु होइन, नयाँ पुस्तालाई यो अमूल्य सांगीतिक विरासतसँग जोड़ेर त्यसलाई भविष्यसम्म जीवन्त राख्नु रहेको छ।


Share this news
आजको रोजाइ
कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

डाबग्रामको तेलीपाडामा निकास समस्याले जनजीवन प्रभावित, स्थानीयवासी सास्तीमा

डाबग्रामको तेलीपाडामा निकास समस्याले जनजीवन प्रभावित, स्थानीयवासी सास्तीमा

राजु विष्टले गरे जिल्ला विकास समन्वय एवम् निगरानी समिति (DISHA) को पहिलो बैठकको अध्यक्षता

राजु विष्टले गरे जिल्ला विकास समन्वय एवम् निगरानी समिति (DISHA) को पहिलो बैठकको अध्यक्षता

भारतद्वारा तटीय क्षेत्रहरूमा ठूलो व्यापार प्रवर्द्धनका लागि आधार तयार

भारतद्वारा तटीय क्षेत्रहरूमा ठूलो व्यापार प्रवर्द्धनका लागि आधार तयार

इमोसन क्लबद्वारा बाघधारा रोड क्षेत्रमा चलाइयो व्यापक सरसफाइ अभियान

इमोसन क्लबद्वारा बाघधारा रोड क्षेत्रमा चलाइयो व्यापक सरसफाइ अभियान

पखावजका साधक, लोकबाजाका संवाहक पण्डित निशान्त

पखावजका साधक, लोकबाजाका संवाहक पण्डित निशान्त

१ महिना लगातार ओट्स खाँदा पाचन र तौलमा कस्तो असर पर्छ?

१ महिना लगातार ओट्स खाँदा पाचन र तौलमा कस्तो असर पर्छ?

स्टेजमै रोमान्स: ज्यास्मिन स्यान्डलासद्वारा शेखर चौधरीसँग इन्गेजमेन्टको घोषणा!

स्टेजमै रोमान्स: ज्यास्मिन स्यान्डलासद्वारा शेखर चौधरीसँग इन्गेजमेन्टको घोषणा!

के OpenAI को GPT-5.6 क्लासले Anthropic को Fable-क्लास मोडलहरूलाई उछिनेको छ?

के OpenAI को GPT-5.6 क्लासले Anthropic को Fable-क्लास मोडलहरूलाई उछिनेको छ?

टोरन्टोको सडक महोत्सवमा गोलीबारी, दुई जनाको मृत्यु, ६ जना घाइते

टोरन्टोको सडक महोत्सवमा गोलीबारी, दुई जनाको मृत्यु, ६ जना घाइते

आजको रोजाइ