गोर्खाल्याण्डको विधेयक संसदमा पेश गराउने मूल उद्देश्य अलग राज्य गोर्खाल्याण्डको मागलाई मूलरूपले केन्द्र गरेर आयोजना गरिएको प्रथम सर्वदलीय बैठक आधा सफल अनि आधा विफल भयो। किनभने, यस बैठकमा नयाँ पार्टी निर्माण समितिले दार्जीलिङ पहाड़का गोर्खाल्याण्डपन्थी राजनैतिक पार्टीहरूका शीर्ष नेतृत्व अर्थात अध्यक्ष अनि सचिवहरूलाई नै उपस्थित भइदिने निमन्त्रणा गरेको थियो। तर यस बैठकमा सामेल रहेका बेसी जस्तो पार्टीका अध्यक्ष, सचिवहरू अनुपस्थित रहे।
यस बैठकमा नयाँ पार्टी निर्माण समितिले दार्जीलिङ पहाड़का मोठ 9 वटा पार्टीलाई निम्तो दिएको थियो, जसमध्ये क्रामाकपा, गोर्खालीग अनि जन आन्दोलन पार्टीबाट कुनै प्रतिनिधि उपस्थित रहेन। गोर्खा जनमुक्ति मोर्चा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले पार्टीका प्रतिनिधिहरूलाई बैठकमा पठाएका थिए भने इण्डियन गोर्खा जनशक्ति फ्रण्ट, सुमेटी मुक्ति मोर्चा र गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाबाट भने शीर्ष नेतृत्वहरू नै उपस्थित रहेका थिए। यसैले नयाँ पार्टी निर्माण समितिले जुन उद्देश्यले यो बैठक डाकेको थियो, त्यसलाई आधा सफल अनि आधा विफल मान्न सकिन्छ।
तरै पनि समितिका कार्यकर्ता संजय थुलुङले आजको बैठक सफल भएको बताएका छन्। यस बैठकमा विशेषरूपले आगामी 13 जुलाईको दिन दार्जीलिङका सांसद राजु विष्टसिट भेट गर्ने सहमति भएको छ, जसमा सबै पार्टी एकजुट भएर सांसद विष्टसित भेट गर्ने भएका छन्। उक्त भेटघाटको समय सांसद विष्टसित आगामी 21 जुलाईदेखि शुरू हुने संसद सत्रको अवधि अलग राज्य गोर्खाल्याण्डको सरकारी विधेयक पेश गर्न लगाउनेबारे कुराकानी गर्ने भएको समितिका संयोजक विरेन्द्र रसाइलीले बताएका छन्। उनले भने-यसपालिको संसद सत्रको अवधि अलग राज्य गोर्खाल्याण्डको विधेयक पेश गरियोस् भन्ने विषय लिएर नै आज यो सर्वदलीय बैठकको आयोजना गरिएको हो। जसमा दार्जीलिङ पहाड़का क्षेत्रीय पार्टीका शीर्ष नेतृत्वहरू नै उपस्थित होस् भन्ने उद्देश्य थियो।
ताकि यसै बैठकमा एउटा ठोस निचोड़ निकाल्न सकियोस्। यसपालि केन्द्र अनि राज्यमा एउटै पार्टीको सरकार छ अनि यस्तो अवसर चुकाउनु हुँदैन भन्ने मूल उद्देश्य हो। यसैले सबै गोर्खाल्याण्डपन्थी पार्टीहरू एकजुट भएर काम गर्नुपर्छ भनेर नै यो बैठकको आयोजना गरिएको हो। यस बैठकको स्पष्ट विषयबारे एक ज्ञापनको ड्राफ्ट बनाएर गत 7 जूनको दिन नै सबै पार्टीलाई प्रदान गरिएको थियो अनि उनीहरूले त्यो ड्राफ्ट अवश्यै पढ़े होलान्।
तर कतिवटा पार्टीले हाम्रो यस विषयलाई पत्तो नदिएको जस्तो लागेको छ। तर फेरि यो ड्राफ्ट लिएर सबै पार्टीका अध्यक्ष अनि सचिवहरूसित भेट गरी त्यसमा उनीहरूको हस्ताक्षर गराउने योजना रहेको पनि रसाइलीले बताएका छन्। केन्द्रीय गृहमन्त्री अमित शाहलाई सम्बोधन गरेर तयार पारिएको यस ड्राफ्टमा सबै पार्टीका अध्यक्ष अनि सचिवहरूले हस्ताक्षर गरेपछि सांसद राजु विष्टमार्फत केन्द्रीय गृहमन्त्री अमित शाहलाई पठाइने भएको छ।
यसैबीच, समितिका समन्वयक संजय थुलुङले एक प्रश्नको उत्तर दिँदै भने-संसदमा अलग राज्य गोर्खाल्याण्डको लागि सरकारी विधेयक पेश गर्न लगाउन जनताको तर्फबाट सांसद राजु विष्टसमक्ष अपील गरिनेछ। यदि उनले यो काम गर्न नसके उनले जनतालाई जवाब दिनुपर्छ। यसैले अब यस दिशामा सांसदको पहल अनि उत्तरदायित्व हेर्नपर्छ। यसमाथि ठोस कार्य नभए आगामी दिनमा पुनः बैठकहरू गरेर भावी रणनीति तयार पार्ने योजना बनाइएको छ।












