दार्जिलिङ जिल्लाको फाँसिदेवाकी एक महिलाको बैंक खातामा अकस्मात् ७४० करोड रुपैयाँभन्दा बढी मौज्दात देखिएपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ। बैंकको पासबुक अद्यावधिक (अपडेट) गर्दा आफ्नो खातामा यति ठूलो रकम देखिएपछि ती महिला स्वयं अचम्ममा परेकी थिइन्।जानकारीअनुसार ती महिला दैनिक ज्यालादारी गर्ने परिवारकी सदस्य हुन्। बैंकमा सामान्य कारोबारका लागि पुगेकी उनले पासबुक अपडेट गराउँदा खातामा करिब ७४० करोड रुपैयाँ रहेको देखिएको थियो। त्यसपछि उनले तुरुन्तै बैंक अधिकारीलाई जानकारी गराएकी थिइन्। बैंक प्रशासनले प्रारम्भिक रूपमा यो प्राविधिक त्रुटि वा प्रणालीगत गडबडी हुन सक्ने आशंका गर्दै घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। अधिकारीहरूले खातालाई निगरानीमा राख्दै रकम कसरी देखियो भन्ने विषयमा आन्तरिक जाँच अघि बढाएका छन्। बैंकका अधिकारीहरूले अनुसन्धान पूरा नभएसम्म खाताधनीलाई उक्त रकम प्रयोग नगर्न निर्देशन दिएका छन्। साथै, वास्तविक खाता शेष (ब्यालेन्स) पुष्टि गर्न बैंकको केन्द्रीय प्रणालीबाट पनि विवरण मागिएको बताइएको छ। यस घटनापछि स्थानीय बासिन्दामाझ व्यापक चासो पैदा भएको छ। बैंकले भने अनुसन्धानपछि मात्र वास्तविक कारण सार्वजनिक गरिने जनाएको छ। हालसम्म कुनै आर्थिक अनियमितता वा साइबर अपराधसँग प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भइसकेको छैन।











