नयाँ जलपाइगुडी (एनजेपी) रेलवे स्टेशनमा सरकारी रेलवे प्रहरीले (जीआरपी) ठूलो मात्रामा गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। शनिबार गरिएको विशेष जाँच अभियानका क्रममा सराइघाट एक्सप्रेसको एसी टू-टियर (2AC) कोचबाट ७.५ किलोग्राम गाँजा बरामद गरिएको हो।प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा स्टेशनमा रेल पुगेपछि जीआरपीको टोलीले सम्बन्धित एसी डब्बामा खानतलासी गरेको थियो। जाँचका क्रममा एक यात्रुको सामानबाट झन्डै ७.५ किलोग्राम गाँजा फेला परेको थियो। त्यसपछि प्रहरीले तत्काल उक्त व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका व्यक्तिको पहिचान कैलाश राय, जलपाइगुडी निवासी, का रूपमा भएको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा अवैध रूपमा तस्करी गर्ने उद्देश्यले रेलमार्फत ओसारपसार भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।प्रहरीले लागूऔषध नियन्त्रणसम्बन्धी कानुनअन्तर्गत मुद्दा दर्ता गरी पक्राउ परेका व्यक्तिसँग सोधपुछ गरिरहेको छ। साथै, गाँजा कहाँबाट ल्याइएको थियो र कसलाई पुर्याउने योजना थियो भन्ने विषयमा विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ। हालै उत्तर बंगाल क्षेत्रमा रेलमार्फत लागूऔषध तस्करीका घटनामा वृद्धि भइरहेका बेला एनजेपी रेलवे स्टेशनमा सुरक्षा जाँच अझ कडा बनाइएको छ। जीआरपीले यस्ता अवैध गतिविधिविरुद्ध नियमित निगरानी र विशेष अभियानलाई निरन्तरता दिने जनाएको छ।











