क्यानडाको सबैभन्दा ठूलो सहर टोरन्टोमा आयोजित लोकप्रिय ‘साल्सा अन सेन्ट क्लेयर’ सडक महोत्सवका क्रममा भएको गोलीबारीमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। स्थानीय समयअनुसार शनिबार साँझ सेन्ट क्लेयर एभिन्यु वेस्ट र आर्लिङ्टन एभिन्यु क्षेत्र नजिक भएको घटनापछि महोत्सवस्थलमा भागदौड र अफरातफरी मच्चिएको थियो। हजारौं मानिस सहभागी रहेको महोत्सवमा अचानक गोली चलेपछि उपस्थित सर्वसाधारण सुरक्षित स्थानतर्फ भागेका थिए। टोरन्टो प्रहरीले जनाएअनुसार घटनामा मृत्यु भएका दुवै व्यक्तिको घटनास्थलमै ज्यान गएको थियो भने घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई तत्काल एम्बुलेन्समार्फत नजिकैका अस्पतालमा पुर्याइएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ। प्रहरीका अनुसार प्रारम्भिक रूपमा सक्रिय बन्दुकधारी (एक्टिभ सुटर) भएको सूचना आए पनि अनुसन्धानको क्रममा यो घटना दुई समूहबीचको लक्षित गोली हानाहान भएको देखिएको छ। घटनास्थलबाट दुईवटा बन्दुक बरामद गरिएको छ भने घटनामा संलग्न शंकास्पद व्यक्तिहरूको खोजी तीव्र पारिएको छ। हालसम्म कसैलाई पक्राउ गरिएको छैन।प्रत्यक्षदर्शीहरूले गोली चलेलगत्तै मानिसहरू चिच्याउँदै ज्यान जोगाउन दौडिएको र केही समयका लागि सम्पूर्ण क्षेत्रमा त्रास फैलिएको बताएका छन्। प्रहरीले तत्काल क्षेत्रलाई घेराबन्दी गरी महोत्सव स्थगित गरेको थियो भने फरेन्सिक टोलीले घटनास्थलबाट प्रमाण सङ्कलन गरिरहेको छ। टोरन्टोकी मेयर ओलिभिया चाउले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेकी छन्। क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र ओन्टारियोका प्रिमियर डग फोर्डले पनि घटनाको निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याइने बताएका छन्। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ। साथै, घटनाको भिडियो, तस्बिर वा अन्य कुनै जानकारी भएका व्यक्तिलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको छ। हालसम्म गोलीबारीको स्पष्ट उद्देश्य खुल्न नसकेको भए पनि प्रहरीले यो घटना सर्वसाधारणलाई लक्षित अन्धाधुन्ध आक्रमणभन्दा पनि आपराधिक समूहबीचको विवादसँग सम्बन्धित हुन सक्ने आशंका गरेको छ।











