कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। कतारको शाही दरबार अमिरी दिवानले आइतबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको हो। यद्यपि, उनको मृत्युको कारणबारे तत्काल कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। उनको निधनसँगै कतार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ भने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा झण्डा आधा झुकाउने निर्णय गरिएको छ। शेख हमादले सन् १९९५ मा आफ्ना पिता शेख खलिफा बिन हमाद अल थानीबाट सत्ता ग्रहण गरेका थिए। उनले करिब १८ वर्षसम्म कतारको नेतृत्व गर्दै देशलाई आर्थिक, राजनीतिक र कूटनीतिक रूपमा उल्लेखनीय उचाइमा पुर्याएका थिए। विशेषगरी प्राकृतिक ग्यासको विशाल भण्डारको प्रभावकारी उपयोग गर्दै कतारलाई विश्वकै प्रमुख तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यातक राष्ट्रमध्ये एक बनाउने श्रेय उनलाई दिइन्छ। उनको शासनकालमा कतारले तीव्र आर्थिक विकासका साथै शिक्षा, स्वास्थ्य, पूर्वाधार, विज्ञान–प्रविधि र अन्तर्राष्ट्रिय लगानीमा व्यापक विस्तार गरेको थियो। राजधानी दोहामा विश्वस्तरीय सडक, विमानस्थल, बन्दरगाह तथा आधुनिक सहर विकासका योजनाहरू अघि बढाइएका थिए। साथै, कतारलाई मध्यपूर्वको प्रभावशाली आर्थिक केन्द्रका रूपमा स्थापित गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
शेख हमादको नेतृत्वमा स्थापना र विस्तार भएको अल जजिरा समाचार सञ्जालले अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रमा नयाँ पहिचान बनाएको थियो। साथै, कतारले सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गर्नु पनि उनको नेतृत्वको महत्वपूर्ण उपलब्धिमध्ये एक मानिन्छ। खेलकुद कूटनीति, अन्तर्राष्ट्रिय लगानी र विश्वव्यापी साझेदारीमार्फत कतारको प्रभाव विस्तार गर्न उनले दीर्घकालीन रणनीति अपनाएका थिए। सन् २०१३ मा उनले स्वेच्छाले सत्ता त्याग गर्दै आफ्ना छोरा तथा वर्तमान अमिर शेख तमिम बिन हमाद अल थानीलाई शासनको जिम्मेवारी सुम्पिएका थिए। खाडी क्षेत्रका राजतन्त्रमा यस्तो शान्तिपूर्ण र स्वेच्छिक सत्ता हस्तान्तरण दुर्लभ मानिने भएकाले त्यसलाई ऐतिहासिक कदमका रूपमा हेरिएको थियो। सत्ता हस्तान्तरणपछि पनि उनले राष्ट्रिय विकास र कूटनीतिक विषयमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका थिए। उनको निधनप्रति विश्वभरका नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, खाडी मुलुकका शासकहरू तथा विभिन्न अन्तर्राष्ट्रिय नेताहरूले श्रद्धाञ्जली अर्पण गर्दै कतारको आधुनिकीकरण, क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय कूटनीतिमा उनले पुर्याएको योगदानको प्रशंसा गरेका छन्। विश्लेषकहरूका अनुसार शेख हमाद आधुनिक कतारका प्रमुख निर्माणकर्तामध्ये एक थिए, जसले सानो खाडी राष्ट्रलाई विश्व राजनीतिक र आर्थिक मञ्चमा प्रभावशाली राष्ट्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेले।












