बलिउड अभिनेता अजय देवगण अभिनीत बहुप्रतीक्षित कमेडी फिल्म ‘धमाल ४’ ले दर्शकमाझ ठूलो अपेक्षा बोकेर प्रदर्शनमा आए पनि समीक्षकहरूबाट मिश्रितदेखि नकारात्मक प्रतिक्रिया पाएको छ। द इन्डियन एक्सप्रेस ले फिल्मको समीक्षा गर्दै कमजोर कथा, फितलो हास्य, अत्यधिक कम्प्युटर ग्राफिक्स (सीजीआई) र दोहोरिने शैलीका कारण फिल्मले दर्शकलाई हँसाउन असफल भएको उल्लेख गरेको छ। निर्देशक इन्द्र कुमारले पुरानै ‘धमाल’ शैलीलाई नयाँ रूपमा प्रस्तुत गर्ने प्रयास गरे पनि पटकथा कमजोर बनेको समीक्षामा उल्लेख छ। फिल्ममा हास्य सिर्जना गर्न पुराना जोक्स, अतिरञ्जित एक्सन दृश्य र अत्यधिक सीजीआई प्रयोग गरिएको छ, जसले कथालाई अझ कृत्रिम र अविश्वसनीय बनाएको टिप्पणी गरिएको छ। फिल्ममा अजय देवगण, अरशद वारसी, रितेश देशमुख, जावेद जाफरी, सञ्जय मिश्रा र रवि किशनलगायत कलाकारको अभिनय रहे पनि बलियो पटकथा र प्रभावशाली संवादको अभावले उनीहरूको क्षमता पूर्ण रूपमा प्रयोग हुन नसकेको समीक्षकको भनाइ छ। विशेषगरी रवि किशनले निर्वाह गरेको पात्र केही हदसम्म मनोरञ्जनात्मक देखिए पनि समग्र फिल्मलाई उकास्न पर्याप्त नभएको उल्लेख गरिएको छ।समीक्षाअनुसार फिल्मको कथा खजाना खोज्ने पुरानै सूत्रमा आधारित छ, जसमा पात्रहरू लगातार अविश्वसनीय परिस्थिति र दृश्यमा फस्छन्। तर हास्य सिर्जना गर्ने उद्देश्यले राखिएका अधिकांश दृश्य जबर्जस्ती जस्तो लाग्ने र दर्शकलाई स्वाभाविक रूपमा हँसाउन नसक्ने बताइएको छ। यद्यपि सामाजिक सञ्जालमा भने फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ। केही दर्शकले पुरानो ‘धमाल’को सम्झना दिलाउने भन्दै मनोरञ्जनात्मक मानेका छन् भने धेरैले कमजोर लेखाइ, फितलो कमेडी र अनावश्यक दृश्य प्रभावको आलोचना गरेका छन्। ‘धमाल ४’ को पोस्ट–क्रेडिट दृश्यमार्फत ‘धमाल ५’ निर्माण हुने संकेतसमेत दिइएको छ। यद्यपि चौथो श्रृंखलाप्रति आएको मिश्रित प्रतिक्रियाका कारण आगामी सिक्वेलले दर्शकको विश्वास पुनः जित्न कथा र प्रस्तुतीकरणमा उल्लेखनीय सुधार गर्नुपर्ने विश्लेषण गरिएको छ।











