अमेरिकाले इरानलाई विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हर्मुज जलडमरूमध्यमा आवतजावत गर्ने व्यावसायिक जहाजमाथि हुने आक्रमण तत्काल रोक्ने र जलमार्ग पूर्ण रूपमा सुरक्षित तथा खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न दबाब दिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार यस्तो स्पष्ट प्रतिबद्धताबिना इरानसँगको वार्ता अगाडि बढ्न कठिन हुने चेतावनी दिइएको छ। अमेरिकाले हालैका दिनहरूमा इरानी पक्षसँग प्रत्यक्ष तथा क्षेत्रीय मध्यस्थकर्तामार्फत संवाद भइरहेको जनाएको छ। तर, हर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजमाथि भएका आक्रमणले दुवै देशबीच भएको अस्थायी समझदारी कमजोर बनेको अमेरिकी दाबी छ। वाशिङ्टनले इरानले सार्वजनिक रूपमा जहाजमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाए मात्रै विश्वास पुनःस्थापित हुने जनाएको छ। विश्वको करिब २० प्रतिशत कच्चा तेल यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले हर्मुज जलडमरूमध्यमा उत्पन्न तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्वव्यापी व्यापारमा प्रत्यक्ष असर पार्ने विश्लेषण गरिएको छ। हालैका आक्रमणपछि तेल ढुवानी गर्ने जहाजहरूको सुरक्षाबारे चिन्ता बढेको छ। यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमान भ्रमण गरी मध्यस्थकर्ताहरूसँग समुद्री सुरक्षा, हर्मुज जलडमरूमध्यको अवस्था तथा अमेरिका–इरान सम्बन्ध सुधारका विषयमा छलफल गर्ने तयारी गरेका छन्। ओमानले दुवै पक्षबीच संवादलाई निरन्तरता दिन मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ। अमेरिका र इरानबीच आणविक कार्यक्रमलाई लिएर पनि समानान्तर वार्ता जारी रहेको छ। अमेरिकी पक्षले इरानसँग उच्च मात्रामा संवर्द्धित युरेनियमको भण्डार नियन्त्रणमा ल्याउने विषयलाई पनि वार्ताको प्रमुख एजेन्डा बनाएको छ। यदि समुद्री सुरक्षा र आणविक कार्यक्रमसम्बन्धी विषयमा प्रगति हुन नसके थप आर्थिक तथा सैन्य दबाब आउन सक्ने अमेरिकी अधिकारीहरूले संकेत दिएका छन्।










