लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकसँग एचपीडब्ल्यु नेतृत्वको भेट, शीघ्र न्याय दिलाउन सरकार र मालिक पक्षसँग आग्रह। बन्द अवस्थामा रहेको लङ्भ्यु चियाबारीका अनशनरत श्रमिकहरूको स्वास्थ्य अवस्था बुझ्न आज हिमालयन प्लान्टेसन वर्कर्स युनियन (एचपीडब्ल्यु) केन्द्रीय समितिका अध्यक्ष बी. के. राई, महासचिव एस. के. लामा, कार्यालय सचिव प्रणय राई, एचपीडब्ल्यु खर्साङ शाखा समितिका महासचिव बिरेन्द्र छेत्री लगायत गोरामुमोका कार्यकर्ताहरू अनशन स्थलमा पुगेका थिए।
टोलीले अनशनरत श्रमिकहरूसँग भेटघाट गर्दै उनीहरूको स्वास्थ्य अवस्था, माग तथा वर्तमान परिस्थितिबारे जानकारी लिएको जनाएको छ। यस क्रममा एचपीडब्ल्यु नेतृत्वले श्रमिकहरूको जायज मागप्रति आफूहरूको पूर्ण ऐक्यबद्धता रहेको र श्रमिकको हक, हित तथा न्यायका पक्षमा संगठन सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
भेटपश्चात् एचपीडब्ल्यु केन्द्रीय समितिका अध्यक्ष बी. के. राई र महासचिव एस. के. लामाद्वारा संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा हाल केन्द्र र राज्यमा डबल इन्जिनको सरकार रहेको उल्लेख गर्दै श्रमिकहरूको समस्यालाई थप लम्ब्याउन नहुने बताइएको छ।
विज्ञप्तिमा सरकार तथा चियाबारी व्यवस्थापन पक्षले आवश्यक पहल गर्दै बन्द चियाबारीका श्रमिकहरूलाई यथाशीघ्र न्याय दिलाउन, उनीहरूको जीविकोपार्जनको सुनिश्चितता गर्न तथा समस्याको स्थायी समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ।












