स्पेनको दक्षिणी क्षेत्र एन्डालुसियामा फैलिएको भीषण डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २३ जना अझै बेपत्ता रहेका छन्। मृतकमध्ये चार जना कारभित्रै जलेर मृत्यु भएको हो भने सात जनाले आगोबाट जोगिन पैदल भाग्ने प्रयास गर्दा ज्यान गुमाएका छन्। यो पछिल्ला वर्षहरूमा स्पेनमा देखिएको सबैभन्दा घातक डढेलोमध्ये एक मानिएको छ। डढेलो तीव्र हावा, अत्यधिक गर्मी र सुख्खा मौसमका कारण केही घण्टामै तीव्र रूपमा फैलिएको थियो। आगोले अल्मेरिया प्रान्तको बेदार र लस गालार्डोस आसपासका बस्तीहरूलाई घेरेपछि स्थानीय प्रशासनले बासिन्दाहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको थियो। तर केही मानिसहरूले आफ्नै पहलमा भाग्ने प्रयास गर्दा दुर्घटनामा परेका थिए अधिकारीहरूका अनुसार चार जनाको शव दायाँतर्फ स्टेयरिङ भएको जलेको कारभित्र फेला परेको छ, जसका आधारमा उनीहरू बेलायती नागरिक हुन सक्ने अनुमान गरिएको छ। साथै, नौ जनाको एउटा समूहले प्रशासनको निर्देशन अवज्ञा गर्दै सुक्खा खोल्साको बाटोबाट भाग्ने प्रयास गरेको थियो। तीमध्ये दुई जनालाई गम्भीर अवस्थामा उद्धार गरिए पनि बाँकी सात जनाको मृत्यु भएको पुष्टि गरिएको छ। स्पेनका आपतकालीन सेवा अधिकारीहरूले आगोको दिशा हावाका कारण बारम्बार परिवर्तन भइरहेकाले उद्धार कार्य निकै कठिन बनेको बताएका छन्। स्थानीय प्रशासनले मोबाइल सन्देशभन्दा प्रहरी र नगर प्रमुखमार्फत घर–घरमा पुगेर चेतावनी दिएको भए पनि केही मानिसहरूले आधिकारिक निर्देशन पालना नगरेका कारण ठूलो मानवीय क्षति भएको जनाएको छ। डढेलो नियन्त्रणका लागि १५० भन्दा बढी अग्निनियन्त्रक, २२० सैनिक, हेलिकोप्टर तथा अग्नि नियन्त्रण विमान परिचालन गरिएको छ। हालसम्म हजारौँ हेक्टर वन क्षेत्र जलेको छ भने करिब एक हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। अधिकारीहरूले जलवायु परिवर्तनका कारण युरोपभर अत्यधिक गर्मी र डढेलोका घटना बढ्दै गएको उल्लेख गर्दै भविष्यमा यस्ता विपद्सँग जुध्न थप तयारी आवश्यक रहेको बताएका छन्।










