रेडक्रस सोसाइटी खरसाङ्का सचिव विजय सिंह सिञ्चुारीले खरसाङ्का जनसंख्यालाई ध्यानमा राखेर, यहाँका जनतालाई चिकित्सा सेवा उपलब्ध गराउनको लागि 2 सय 50 देखि 3 सय शय्याको अस्पतालको अति आवश्यकता रहेको बताएका छन्। तिनले खरसाङ्मा आइतवार सम्पन्न भएको रक्तदान शिविरको कार्यक्रममा बोल्दै उक्त कुरो बताएका हुन्।
सिञ्चुरीले खरसाङ क्षेत्रमा रक्त ब्याङ्कको चुनौतीबारे प्रकाश पार्दै खरसाङ्मा सङ्कलन गरिएको रगतलाई कम्पोनेन्ट सेपरेसनको लागि हाल दार्जीलिङ वा सिलगढ़ी पठाउनुपर्ने बाध्यता छ। कम्पोनेन्ट सेपरेसन भनेको रगतलाई रातो रक्तकण, सेतो रक्तकण र प्लेटलेट्समा विभाजन गर्ने प्रक्रिया हो। यो विभाजन अत्यावश्यक छ, किनभने यसो गरिएपछि रगतलाई विभिन्न रोगीको आवश्यकता अनुसार प्रभावकारी रूपमा उपयोग गर्न सकिन्छ, भने। खरसाङ क्षेत्रमा मानव संसाधन प्रशस्त मात्रामा भए पनि रक्त प्रशोधन र भण्डारणको पर्याप्त स्थानीय पूर्वाधारको अभावमा रहेको छ भन्दै तिनले दुःख व्यक्त गरे। तिनलेले दान गरिएको रगत 35 दिनभित्र प्रयोग गर्नुपर्ने भएकोले एकदिने शिविर मात्र नभएर नियमित रक्तदान अभियान चलाउन सके असल हुने पनि बताए।
भारतीय मानवाधिकार एसोसिएसन खरसाङ इकाईको आयोजनामा पार्क लोकेसनस्थित सामुदायिक भवनमा सम्पन्न रक्तदान शिविरको समन्वय रक्तदान संयोजक डीके प्रधानले गरेका थिए भने चिकित्सकीय निरीक्षण डा. सुधांशु सराय र उनको टोलीले गरेका थिए। प्राविधिक सहयोग रेडक्रस सोसाइटीले प्रदान गरेको थियो, टेक्निसियन राजीव प्रधान र अरुणा प्रधानले रक्त सङ्कलन र जाँच प्रक्रियामा सहयोग पुऱ्याएका थिए। शिविरमा निःशुल्क रक्त समूह (ब्लड ग्रुपिङ) र मधुमेह (डायबिटिज) परीक्षणको पनि व्यवस्था गरिएको थियेो। यस अवसरमा भारतीय मानवाधिकार एसोसिएसन, खरसाङ इकाईका अध्यक्ष सन्दीप प्रसादले शिविरको मुख्य उद्देश्य बारे बोल्दै भने, रक्तदानको महत्त्वबारे जनचेतना फैलाउने र खरसाङ अस्पतालको बारम्बार रक्त आवश्यकता पूरा गर्न सहयोग पुर्याउनु रहेको बताए। शिविरमा खरसाङ्का विधायक सोनाम लामा र तिनकी धर्मपत्नीले रञ्जना प्रधानले पनि रक्तदान गरेका थिए। शिविरमा मानव अधिका एसोसिएशनका राष्ट्रीय लिगल सचिव रहागिर फजलले अनि अन्यान्य उपस्थित रहेका थिए।












