काठमाडौँ — काठमाडौं महानगरपालिकाले बिहीबार च्यासलस्थित कवाडी संकलन केन्द्रमा डोजर चलायो। स्थानीयको अनुरोधमा कवाडी संकलन केन्द्र हटाउनेक्रममा दुई जना मजदुरले विरोधस्वरूप ढुंगामुढा गरे। ढुंगाले डोजरको सिसा फुट्यो। नगर प्रहरीले लाठी चार्ज गरे । एक जनाको टाउकोमा चोट लाग्यो । अर्का एक जना घाइते बने ।
प्रहरीले लछारपछार गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा छताछुल्ल छ। धेरै पटक सडक व्यापारीमाथि नगर प्रहरीले बुट बर्साएका घटना देखिएका छन् । तर नगर प्रहरीलाई यसरी बुट बर्साउने र लाठी प्रहार गर्ने अधिकार नै हुन्छ कि हुँदैन त ? के नगर प्रहरीले यस्तो अमानवीय व्यवहार गर्न मिल्छ ? प्रश्न उब्जिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगर प्रहरीको काम, कर्तव्य र अधिकार तोकेको छ । ऐनको परिच्छेद ३ मा नगरपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन, सम्पत्तिको संरक्षण, चाडपर्वको सुरक्षा व्यवस्थापन जस्ता काममा नगर प्रहरी परिचलन गर्न सक्ने व्यवस्था गरेको छ । ऐनले नगर प्रहरीलाई धरपकड, लाठीचार्ज, लछारपछार, कुटपिट गर्ने त्यस्तो अधिकार दिएको छैन ।