काठमाडौँ — ‘बुलबुल’ निर्देशक विनोद पौडेलको निर्देशनमा बनेको फिल्म ‘भूठान’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा दुई धर्म अंगाल्ने व्यक्तिको मृत्युपछाडि हुने संस्कारलाई लिएर हुने अन्यौल देखाइएको छ ।
फिल्ममा प्रमुख भूमिका रहेको अभिनेता हरिवंश आचार्यसहित फिल्मका अन्य कलाकारहरु ट्रेलरमा अटाएका छन् ।
ट्रेलरअनुसार प्रमुख पात्रले दुई धर्ममा आस्था राखेको देखाइएको छ । अब उक्त संस्कार हिन्दूधर्म अनुसार होला या इसाई ? त्यो थाहा पाउन भने वैशाख १२ नै पर्खनु पर्ने हुन्छ । म्याड मंकी फिल्मको प्रस्तुतिमा तयार यो फिल्ममा घर हराएको व्यक्तिको कथा समेटिएको निर्माण पक्षले बताउँदै आएका छन् । यो फिल्ममा हरिवंशसँगै अभिनेता दयाहाङ राई, पूजा चन्द, ब्रुस डर्न र ऋचा घिमिरेलगायतको अभिनय छ ।
सुसन प्रजापतिले खिचेको यो फिल्ममा जेफ्री चान्सको रंग संयोजन, अन्जन गजुरेलको कला, अन्जन खड्काको सम्पादन छ । फिल्मलाई अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, सुशांक मैनाली, किर्तना बास्कोटा र निर्देशक पौडेल आफैंले निर्माण गरेका हुन् ।