सञ्जय प्रधान→
ठूलो क्यामेरा र चम्किला बत्तीहरूको बीचमा चलचित्र छायांकन हेर्दा त्यो संसार ग्ल्यामरस लाग्छ। तर पर्दाको त्यो दृश्य पछाड़ि लुकेको हुन्छ- कठोर परिश्रम, धैर्यता र संघर्षको लामो यात्रा। यही यात्रा पार गर्दै दार्जीलिङका निगम बम्जन आज बलिउडका सफल सिनेमाटोग्राफर बनेका छन्। विज्ञानका विद्यार्थीबाट चलचित्रको पर्दासम्मको उनको यो यात्रा धैर्य, समर्पण र लगातार मेहनतको परिणाम हो।
दार्जीलिङको चानमारी निवासी वीरेन्द्र बम्जन र कामिनी बम्जनका छोरा निगम बम्जनले दार्जीलिङमै विद्या विकास एकाडेमीमा स्कूलको शिक्षा पुरा गरे। उच्च शिक्षाको लागि दिल्ली लागे, अनि त्यहीं दिल्ली विश्वविद्यालयमा विज्ञान लिएर स्नातक गरे। कुनै दिन बलिवुडमा सिनेमाटोग्राफर बन्ने सोचेका थिएनन्, तर स्टिल फोटोमा भने चासो राख्थे। दिल्लीमा पढ़्दा ‘बजरंगी भाईजान’का निर्देशक कबीर खानसित भेट भएपछि जीवन बलिवुडतिर मोड़ियो। त्यति बेला कबीरले वृत्तचित्रहरू निर्माण गर्थे। निगमले खिचेका फोटोहरू कबीरले मनपराए, उनीसित सहायकको रुपमा काम शुरु गरे। कबीरसित पहिलो प्रोजेक्ट सन् १९९९ को कारगिल युद्धमा आधारित ‘हेन्ड्रेड डे वार’ थियो। यसको निर्माणक्रममा उनले लेह-लद्दाख र कारगिलको गहिरिएर यात्रा गरे। सेनाका अधिकारी र जवानहरूसँग अन्तर्वार्ता लिए, र युद्धको औपचारिक अन्त्यपछि एलओसी (लाइन अफ् कन्ट्रोल)मा पुगे।
‘‘धैर्य मुख्य हो, यो सजिलो छैन, तर धैर्य र कड़ा मेहनत चाहिन्छ’’
दिल्लीबाट कबीर मुम्बई लाग्दा उनकै सुझावले निगम पनि उतै लागे। यूएनडीपीका लागि ‘मेकानिक्स अफ चेन्ज’, भारतीय विदेश मन्त्रालयका लागि ‘द ग्रेट इण्डियन डायस्पोरा’, इण्डिया टुडेका लागि ‘अ थाउजन्ड म्युटिनिज’ जस्ता वृत्तचित्रहरूमा सहायकको रूपमा काम गरे। कबीरसितै काम गर्दै स्वतन्त्र रूपमा काम गरे। कबीरका सहायक अंशुमन महालेसित पाँचवटा चलचित्रमा सहायक सिनेमाटोग्राफरको रूपमा काम गरे। अंशुमनसँग पूजा भट्टद्वारा निर्देशित, जोहन अब्राहम र उदिता गोस्वामी अभिनीत चलचित्र ‘पाप’मा सहायक सिनेमाटोग्राफरको रूपमा काम गरे। कबीरसँग ‘काबुल एक्सप्रेस’मा सहायक सिनेमाटोग्राफरको रूपमा काम गरे। यसको छायांकन हुँदा अफगानिस्तानको काबुलमा एक महिना बसे। त्यतिबेला काबुलमा बस्नु तनावपूर्ण थियो, जोहन अब्राहमसहित टोलीले तालिबानी चेतावनीको सामना गर्नुपर्यो। यो चलचित्रले राष्ट्रिय पुरस्कार जित्यो।

‘काबुल एक्सप्रेस’पछि निगमले स्वतन्त्र सिनेमाटोग्राफरको रूपमा काम गर्न थाले। उनको पहिलो ब्रेक तनवीर अहमद निर्देशित ‘अदा- अ वे अफ् लाइफ’ थियो, जसमा अस्कर विजेता संगीतकार ए.आर. रहमानको संगीत थियो। यो चलचित्र सन् २०१० मा सार्वजनिक भएको थियो। त्यसपछि निगम बम्जनले ‘फक्स’, ‘जिस्म-२’, ‘ब्लड मनी’, ‘खामोशियाँ’, ‘पोस्टर ब्वाइज’, ‘पल्टन’, ‘सत्यमेव जयते’, ‘मरजावाँ’, ‘राख’, ‘ग्रेट ग्राण्ड मस्ती’, ‘फिर से’, ‘वाइल्ड वाइल्ड पञ्जाब’लगायत धेरै चलचित्रहरू अनि चर्चित लघु चलचित्र ‘द् मोल’, ‘ड्राइभिङ मी क्रेजी’को छायांकन गरिसकेका छन्।
बलिउडमा स्वतन्त्र सिनेमाटोग्राफर बन्नु सजिलो छैन। प्रतिस्पर्धा र चुनौतीका बीच उनी आफ्नै प्रतिभा, धैर्य र समर्पणको बलमा बलिउडमा पहिचान बनाउन सफल भएका छन्। उनी भन्छन्, ‘‘उस्तो चुनौतीको सामना गर्नुपरेन। तर इमान्दारीपूर्वक राम्रो काम गरे सबैले बोलाउँछन्, प्रतिभा हुनुपर्छ, काम राम्रो जानेको हुनुपर्छ।’’ एक दर्जनभन्दा बढ़ी बलिउडका सुपरहिट चलचित्रहरूको उनले सफल छायांकन गरिसकेका छन्।
४८ वर्षीय निगम बम्जनले मुम्बईमा आफ्नै टोली बनाएका छन्, जसमा एलडी मिस्त्री र रोशन राई दार्जीलिङबाट अनि चारजना मुम्बईबाट छन्। डिजिटल क्रान्तिको नयाँ लहरले विश्वलाई छोएको समयमा देशमा ‘आरईडी’ (रेड) डिजिटल क्यामेरामा छायांकन गर्ने प्रारम्भिक सिनेमाटोग्राफरहरूमध्ये उनी एक हुन्। उनले वाईआरएफ (यशराज फिल्म्स)को लागि सोनी टेलिभिजनको सिरिज ‘सेभेन’को छायांकन गरेका छन्। यसको निम्ति सन् २०१० मा इण्डियन टेली अवार्ड (आईटीए) प्राप्त गरेका छन्। उनी ओटीटी प्लेटफर्ममा पनि सक्रिय छन्। अमेजोन प्राइमका लागि सन् २०१९ मा वेब सिरिज ‘द् फेमिली म्यान-१’ छायांकन गरेका छन्। यसमा मनोज बाजपेयी मुख्य भूमिकामा छन्। जसले समीक्षकहरूबाट असाधारण र परम्पराभन्दा भिन्न छायांकनशैलीका लागि निकै प्रशंसा पाएको छ।
निर्देशक निखिल आडवाणीको निर्देशनमा शबाना आजमी, डिनो मोरिया, कुणाल कपूर, दृष्टि धामीद्वारा अभिनीत ‘द् एम्पायर’ (२०२१) डिज्नी हटस्टारका लागि छायांकन गरे। यो श्रृङ्खलाले उनका अघिल्ला कामहरूजस्तै धेरै प्रशंसा प्राप्त गर्यो, यसलाई अन्तर्राष्ट्रिय श्रृङ्खला ‘गेम अफ् थ्रोन्स’सँग तुलना गरियो। यसका लागि उनलाई आईटीए अवार्डमा नामांकन गरिएको थियो। यसबाहेक उनले राहत फतेह अली खानका लागि सारेगामाको तर्फबाट म्युजिक भिडियोहरू निर्देशन तथा निर्माण गरेका छन्। ‘इनक्रेडिबल इण्डिया’ अभियानअन्तर्गत दार्जीलिङको टोय ट्रेनलाई प्रस्तुत गरिएको छायांकन पनि गरेका छन्। नोरा फतेहीको म्यूजिक भिडियो ‘डर्टी लिटल सिक्रेट’को छायांकन उनले गरेका छन्। उनले भर्खरै आउँदो चलचित्र ‘एक दीवाने की दीवानियत’को छायांकन गरिसकेका छन्।
फुर्सदमा उनी युट्युब हेर्छन्, किताब र लेखहरू धेरै पढ़्छन्, आफ्नो कार्यक्षेत्रबारे अध्ययन गर्छन्। भन्छन्, ‘‘जति पढ़्यो उति राम्रो, पढ़ेको छ भने बुझ्न सजिलो हुन्छ।’’ अहिले प्रविधि द्रुत गतिमा बदलिँदैछ, त्यसैले अध्ययन नगरे पछि पर्छ भन्ने उनको भनाइ छ। नेपाली चलचित्रबाट उनलाई अहिलेसम्म कुनै प्रस्ताव आएको छैन। आएमा काम राम्ररी बुझेर गर्न इच्छुक छन्। दार्जीलिङबाट पनि निर्माण गर्ने सोचमा छन्।
‘‘धैर्य मुख्य हो, यो सजिलो छैन, तर धैर्य र कड़ा मेहनत चाहिन्छ’’, नयाँहरूका लागि उनी भन्छन्। बलिवुडमा छाउनुको कारण हो- उनी २२ घण्टासम्म पनि उस्तै किसिमले छायांकनको काममा लागिरहन्छन्। कहिले भतभती पोल्ने घाम, कहिले कठ्याङ्ग्रिने जाड़ोमा पनि उस्तै क्रियाशील छन्। बाहिरबाट चलचित्रको छायांकन मनोरञ्जन र ग्ल्यामरसँग देखिए पनि भित्र त्यस्तो हुँदैन। उनी भन्छन्, ‘‘त्यहाँ ग्ल्यामर हुँदैन। कलाकारहरूलाई स्क्रीन र रेड कार्पेटमा हेर्दा मात्र त्यस्तो देखिन्छ। बिहान चार बजे उठेर आउनुपर्छ घण्टौंसम्म काम गर्नुपर्छ, कड़ा मेहनत छ, संघर्ष छ।’’
दार्जीलिङबाट निगम बम्जन बलिउडमा एक परिचित नाम बनेका छन्। उनका क्यामेराले थुप्रै संघर्षका कथाहरू बोलेका छन्। पर्दा पछाड़िको उनको संसार ग्ल्यामरस होइन- त्यो मेहनत, धैर्यता र सिर्जनशीलताको मिश्रण हो।










