खरसाङ, (निसं)ः खरसाङ नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला उठाउने गरिन्छ। फोहोर-मैला उठाउनको निम्ति नगरपालिका कर्मचारीहरू बिहान सिटी फुक्दै आउछन्। नगरवासीले आफ्नो घरमा जमा भएको फोहोर-मैला नगरपालिका कर्मचारीहरूलाई दिन्छन्, अहिले धेरै नगरवासीले आफ्नो घर, दोकान, होटल, कार्यालयबाट निस्किएको फोहोर-मैला रातिको समयमा बाटो किनार, गल्ली, कुना-काप्चामा थुपारेर राखिदिने गरेका छन्। नगरपालिका कर्मचारीहरूले यस्ता फोहोर-मैला संकलन गरेर नगरपालिकाको फोहोर-मैला बोक्ने गाड़ी सम्म पुऱ्याउछन्। उक्त गाड़ीले संकलन भएको फोहोर-मैला स्प्रिङ साईड चिया बगानको सुन्तलेमा पुऱ्याउछ। तथापि नगरपालिकाले फोहोर-मैला संकलनको कार्य नियमित आइतवारको दिन पनि गर्नु पर्ने कतिपय नगरवासीको माग रहेको छ। कतिपय नगरवासीले फोहोर-मैला संकलन छुट्टीको समयमा अनि आइतवार नगरिने भएको गुनासो गरेका छन्। आइतवारको दिन फोहोर-मैला संकलन नहुने भएकोले खरसाङ शहरको विभिन्न बाटो, गल्ली, कुना-काप्चाहरूमा फोहोर-मैलाको थुप्रो बन्ने गरेको मानिसहरूको गुनासो छ। खरसाङ्को डोको लाइनमा पसल गर्ने एक महिलाले भनिन्, भारतीय स्टेट ब्याङ्क शहर शाखाको अघि प्रत्येक आइतवार फोहोर-मैला थुप्रिने गर्छ। कुनै आइतवार थुपारिएको फोहोर-मैला कुकुरहरूले छरिदिएर बाटोभरी हुन्छ। आइतवार नगरपालिका कर्मचारीहरूको छुट्टी भएकोले फोहोर-मैला नलगेपछि यसरी फोहोर-मैला थुप्रिएको हो। फोहोर-मैला जस्तो कुरो प्रत्येक दिन, नियमित र आइतवारको दिन पनि संकलन गरिन पर्ने हो। कतिपय मानिसहरूले छुट्टीको दिन पनि फोहोर-मैला नउठाइने भएकोले शहरको विभिन्न स्थानमा फोहोर-मैला थुप्रिने गरेको गुनासो गरेका छन्। धेरैले फोहोर-मैवा जस्तको कुरो आइतवार अनि छुट्टीको दिन पनि व्यस्था मिलाएर संकलन गर्न पर्ने माग गरेका छन्। स्मरण गराइन्छ, नगरपालिकाले सरकारको सोलिड वेस्ट मेनेजमेन्ट प्रकल्प अन्तर्गत नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला संकलन गर्न आरम्भ गरेपछि शहरमा रहेको धेरैवटा मैदादानी (भ्याट) बन्द गरिसकेको छ। शहरका ती भ्याटहरू बन्द गरिएकोले खरसाङ शहरका मानिसहरूले आफ्नो घर, दोकान, होटल, कार्यालयबहाट निस्किएको फोहोर-मैला बिहान फोहोर-मैला संकलन गर्न आउने नगरपालिका कर्मचारीहरूलाई दिन पर्ने हुन्छ। तर धेरै जसो नगरवासीले आफ्नो घर, दोकान, होटल, कार्यालयबाट निस्किएको फोहोर-मैला बाटो किनार, गल्लीको एक कुना, घरको अघि रातिको समयमा राखिदिने गरेका छन्। यसरी एक स्थानमा धेरैले फोहोर-मैला राखिदिनाले फोहोरको रास बन्ने गरेको छ। यस्तो अवस्थामा नगरपालिका कर्मचारीहरू एक दिन पनि फोहोर-मैला उठाउन नआएको खण्डमा फोहोर-मैलाको थुप्रो बढ़ेर जाने गरेको देखिएको छ। कुनै समय यसरी थुपारिएको फोहोर-मैला कुकुर अनि बाँदरले छरेर परिवेश फोहोर-मैला युक्त बनाउने गरेको पाइएको छ।
