संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

Share this news

सञ्जय प्रधान    

दार्जीलिङ पहाड़को मनोरम स्थल मिरिकको रमाइलो गाउँ सौरेनीबाट उदाउँदै सुरक्षा सिन्चुरी आज दार्जीलिङदेखि पूर्व-उत्तर भारतमा चिनिने सशक्त स्वर बनेकी छिन्। घर-आँगनमै गुञ्जिने संगीतसँगै हुर्किएकी सुरक्षा सानैदेखि मञ्चको उज्यालो सपना बोकेर अघि बढ़िन्। खस्रो बाटो र संघर्ष पार गर्दै उनले अहिले एउटा व्यस्त, लोकप्रिय गायिकाको रूपमा आफ्नो छुट्टै पहिचान स्थापित गरेकी छिन्।

सुवास सिन्चुरी र पदमा सिन्चुरीकी छोरी सुरक्षाले गाउने कला पारिवारिक विरासतबाटै पाएकी हुन्। बाबु, बाजे, काका सबै गाउँथे, बजाउँथे। साँझमा घरको वातावरण संगीतमय बन्थ्यो। संगीतमा गहिरो रुचि भएका बाबु आग्रामा सेफ थिए, र सुरक्षाले बाजेसँग गीत सिक्थिन्। यस्तै वातावरणमा हुर्किँदा भविष्यमा गायिका बन्ने लक्ष्य सानैमा बनाइन्। सौरेनीकै पाइनहल एकाडेमीमा १० कक्षासम्म पढ़ेपछि ११-१२ कक्षा सिलगढ़ीको डा. आई.बी. थापा नेपाली विद्यालयमा पूरा गरिन्। विज्ञानमा रुची राख्ने सुरक्षा सिलगढ़ी कलेज पढ़्दै थिइन्, तर गायिका बन्ने लक्ष्यले उनलाई मिरिक फर्कायो।

‘‘एआई संगीतकारहरूको लागि क्षति हो। किनभने संगीत सृजना प्रतिभा हो। संगीत सृजना, गायन कला ईश्‍वरको देन हो, यसमा धेरै साधना र समर्पण हुन्छ’’

संगीतलाई साथमा राखेर मिरिक कलेजबाट अंग्रेजीमा स्नातक र उत्तर बंगाल विश्‍व विश्‍वविद्यालयबाट एमए गरिन्। मिरिक कलेजमा अंग्रेजीमा टपर बनिन्। चार कक्षामै स्कूलको मञ्चमा गाइन्, यहीबाट संगीतको आकाशमा उड़्ने रनवे तयार भयो। सानैदेखि उत्साहले प्रेरित भएर गायन र भजन प्रतियोगिताहरूमा सहभागी भइन् र विजयी हुँदै मञ्चमा प्रभुत्व जमाइन्। साई समितिको बाल विकासमा जाँदा मानव मूल्य बुझिन् र भजनहरू गाउँथिन्। तीन वर्ष सिलगढ़ीको ‘सुर सरगम’मा बर्नाली बसुसँग शास्त्रीय गायनको तालिम लिइन्। सन् २०१८ देखि दुई वर्ष ‘सेन्ट सिसिलियाज म्युजिक स्कूल’ खरसाङमा पाश्‍चात्य गायन सिकिन्।

१६ वर्षको उमेरमा खरसाङको ब्याण्ड ‘बागिना’बाट च्याङ्गामा पहिलो कार्यक्रम गरिन्, यहींबाट उनको पेशादारी संगीत यात्रा अघि बढ़्यो। ‘बागिना’मा सुपरिचत युवा संगीतकार रुपेश रसाइलीबाट संगीतको धेरै गुण सिकिन्। अहिले उनी रुपेश रसाइली रहेकै ब्याण्ड ‘हिमालयन ब्रीज’सँग कार्यक्रम गर्छिन्। भन्छिन्, ‘‘पहिलो प्राथमिकता हाम्रो ब्याण्डलाई दिन्छु।’’ पेशादारी गायिकाको रूपमा एक दशक पूरा गर्दै उनले जहाँ प्रस्तुति दिन्छिन्, त्यहाँका दर्शकलाई मोहित पार्दै अमिट छाप छोड़्दै आएकी छिन्।

संगीतको क्षेत्रमा परिवारको सहयोग छँदैछ, तर यसमा अझ बढ़ी उर्जा भर्ने आमा हुन्। ‘भ्वाइस अफ् नेपाल सिजन-3’को भोटिङ राउण्डको शीर्ष दशमा पुगेकी उनी सुपरिचित गायक प्रमोद खरेलको टिममा थिइन्। प्रतियोगिता निकै कड़ा रहेको उनी बताउँछिन्। अहिले २७ वर्षीया सुरक्षाका एक सयभन्दा बढ़ी गीत रेकर्ड भइसकेका छन्, जसमा ५० भन्दा बढ़ी बजारमा आइपुगेका छन्। पहिला क्यासेट, सीडी निस्किन्थ्यो भने उनको पालासम्म आइपुग्दा क्यासेट बन्द भइसकेको थियो र सीडी पनि अन्तिम अवस्थातिर थियो। त्यसैले उनका गीत युट्युब तथा अन्य सोसल मिडियामै सुन्न सकिन्छ। ‘जिन्दगी यस्तै यस्तै नै रहेछ’ (सुरक्षा र अजय कार्की) युट्युबमा २२ लाख ७६ हजारभन्दा बढ़ी, ‘छोड़ेर गयौ नि’ (फिमेल भर्जन) १० लाख ७३ हजारभन्दा बढ़ी हेरिएको छ। उनका ‘चिसो चिसो बतासैले’, ‘नि:शब्द’, ‘भैलेनी आयो आँगन’, ‘तिमी सँग’लगायत गीतहरू राम्रो चलेका छन्। ‘सम्बोधन तिम्रो मायाको’ चलचित्रमा पनि गएकी छिन्।

सुरक्षा प्रायः वर्षभरि नै व्यस्त रहने गायिका हुन्। दार्जीलिङका विभिन्न ठाउँ, सिक्किम, डुवर्स र छिमेकी देश नेपालमा उनका कार्यक्रमहरू निरन्तर भइरहन्छन्। उनको सबैभन्दा धेरै कार्यक्रम असममा हुने गर्छ, र त्यहाँका दर्शकमाझ निकै लोकप्रिय छिन्। असममा करिब २५ वटा ठाउँमा कार्यक्रकम गरिसकेकी छिन्। बंगलोरमा चारपटक र उत्तर प्रदेशको आजमगढ़मा समेत प्रस्तुति दिएकी छिन्। असममा उनका कार्यक्रममा बाक्लो भीड़ लाग्ने भएकाले दर्शकको उर्जालाई आफ्नो उपलब्धि मान्छिन्। उनी नेपाली, हिन्दी गीतहरू गाएर दर्शकलाई मोहित पार्न सक्षम छिन्।

यसै वर्ष १२ अक्टोबरमा बंगलोरको ‘इण्डो-नेपाल फेस्ट-२०२५’मा सुरक्षाले प्रस्तुति दिइन्। तीन सय सदस्यीय टिमले आयोजना गरेको उक्त कार्यक्रममा पाँच हजारभन्दा बढ़ी दर्शक थिए। कार्यक्रममा नेपाली चलचित्रका लोकप्रिय अभिनेता पल शाह, कलाकार रामचन्द्र काफ्ले र ‘ब्रिटिश गट ट्यालेन्ट’की दोस्रो उपविजेता असमकी बिनिता छेत्री पनि सहभागी थिए।

एक दशकको पेशादारी संगीत यात्रामा सुरक्षाले धेरै संघर्ष गरिन्। कति दशैँ-तिहारजस्ता ठूला चाड़हरूमा परिवारसँग रमाइनन्, गीत गाएरै दर्शकलाई रमाइलो गराइन्। उनी भन्छिन्, ‘‘चाड़पर्वमा परिवारलाई धेरै मिस गर्छु, घरको सम्झना आउँछ। कोई बेला त आमा रुन्छिन् पनि।’’ कलाकारको जीवन भनेकै दर्शक-श्रोतालाई आनन्दित पार्नु हो, सुरक्षा पनि त्यही यात्रामा छिन्। दर्जनभन्दा बढ़ी सम्मान पाइसकेकी उनी ‘फेस अफ् जाइलिश’-‘जिल अवार्ड’ले सम्मानित भएकी छिन्।

सुरक्षा गायनलाई करियर बनाएर आत्मनिर्भर बनेकी गायिका हुन्। तर दार्जीलिङ पहाड़मा बसेर मात्र गायनलाई पेशा बनाउनु चुनौतीपूर्ण काम हो। त्यसैले सुरक्षाजस्ता धेरै कलाकारले संगीतलाई दीर्घकालीन पेशा मान्न अझै जोखिम ठान्छन्। पहिला महिलाहरू आर्थिक रूपमा श्रीमानमै निर्भर हुनुपर्ने अवस्था थियो। यसबारे उनी भन्छिन्, ‘‘अहिले सोच परिवर्तन भएको छ, महिलाहरू पनि आर्थिक रूपमा स्वतन्त्र हुनुपर्छ भन्ने छ अहिले। संगीत एउटा निश्‍चित चरणको लागि हुन्छ।’’ सधैं पेशादारी रहन सम्भव नहुने बताउँदै उनी दिगो काम आवश्यक हुने धारणा राख्छिन्। संगीत दीर्घकालीन दह्रो पेशा बन्नेमा शंका व्यक्त गर्छिन्।

संगीतको क्षेत्र ग्ल्यामरले भरिएको रोमाञ्चक क्षेत्र हो। उनी कार्यक्रमका लागि टाढ़ा टाढ़ा जान्छिन्, थुप्रै चुनौतीहरू सामना गर्छिन्। संगीतमा एआईको प्रभावबारे उनी भन्छिन्, ‘‘एआई संगीतकारहरूको लागि क्षति हो। किनभने संगीत सृजना प्रतिभा हो। संगीत सृजना, गायन कला ईश्‍वरको देन हो, यसमा धेरै साधना र समर्पण हुन्छ। यो एआईले नराम्रो असर पार्छ जस्तो लाग्छ। किनभने हामी जीवन स्तर कायम राख्न संगीतमा लागिरहेका हुन्छौँ।’’ उनी अझ भन्छिन्, ‘‘एआई सजिलो देखिन्छ र सजिलो भएपछि धेरैले यसको प्रयोग गर्छन्। यसले संगीतकारहरूको जीवनमा असर पारिरहेको छ।’’

दार्जीलिङ पहाड़मा संगीत दीर्घकालीन दिगो पेशा बन्नेमा भर नपरे पनि उनी यहाँ संगीतको विकासका लागि काम गर्न संकल्पित छिन्। उनी भन्छिन्, ‘‘संगीतलाई निरन्तरता दिइरहनेछु, आफ्नै सृजनाहरू गर्नेछु।’’ अझ सिकेर आफ्ना अनुभवहरू अरुलाई सिकाउन एकेडेमी खोल्ने इच्छा व्यक्त गर्छिन्।

यही यात्राले सुरक्षालाई केवल सफल गायिका मात्र बनाएन, आफ्नो पहिचान र मेहनतप्रतिको आस्था झन् गहिरो बनाइदियो। संघर्ष, साधना र समर्पणको यात्राबाट आएको उनको स्वर आज अनेकौँ सपनाहरूको ऊर्जा बनिरहेको छ। संगीतप्रतिको अथाह प्रेम र सिर्जनाको संकल्पसहित उनी भोलि अझ सशक्त रूपमा उदाउँदै जाने विश्‍वसनीय नाम बनेकी छिन्।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ