साझा साहित्य सरंक्षण संस्था गोरूबथानद्वारा पाँचौ आर.बी. राई पुरस्कार बरिष्ठ साहित्यकार तथा संगीतकार समीर राई शान्तिलाई अलङ्करण गरियो भने गोरूबथान नागरिक सम्मान बरिष्ठ पत्रकार अरुण कुमार राईलाई नागरिक सम्मान जनायो। गोरुबथान सोमबारे बजार स्थित सद्भाव मण्डप भवनमा आयोजित ३४ औं नेपाली भाषा मान्यता दिवस पालन समारोहमा दुइ व्यक्तित्वलाई सम्मान जनाएको हो।
विशिष्ट समाजसेवी र लेखक विलियम फिपनको अध्यक्षतामा आयोजित कार्यक्रमको आरम्भ प्रमुख अतिथि पूर्व लोकसभा सांसद आर.बी. राईको बाहुलीबाट दीप प्रज्वलनबाट गरिएको थियो भने स्वागत वक्तव्य संस्थाका सचिव रुस्तम शर्माले राखे। समारोहमा
डा. सोनाम चुक्छे कृत मदिराको सभा लघुकथा संग्रह आजको प्रमुख अतिथि, साथै विशिष्ट अतिथिहरूको हातबाट बिमोचन गरियो।
कार्यक्रममा अतिथि कवि सुरक्षा भुजेल (सामसिङ)ले कविता वाचन गरेका थिए भने कविता वाचनको क्रममा युद्धबीर उच्चतर माध्यमिक विद्यालयका छात्र आयुष राईले मीठो कविता वाचन गरेका थिए। समारोहमा ४३ नम्बर समष्टि सभासद रतन थापा, बरिष्ठ साहित्यकार सुवास सोताङ, पञ्चायत समिति सभापति सूर्यमणि राई, शिशिर चन्द्र राई आदि उपस्थित थिए ।