खरसाङकी नारी स्रष्टा, साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिकी सदस्या एंव गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा डा आशा मुखिया लामाद्वारा सम्पादित पूर्ण गुरुङ ‘निरुपम’ अभिनन्दन ग्रन्थ पूर्ण परिचय लोकार्पण गरिएको छ। उक्त अभिनन्दन ग्रन्थको लोकार्पण गोर्खा जनपुस्तकालय खरसाङको डा पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भएको छ। उक्त लोकार्पण कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार जीबी बलले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार राजु प्रधान ‘हिमांशु’ उपस्थित रहेका थिए।
गोमा सुब्बाद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत सम्भाषण ज्ञानकुञ्ज बुक्स खरसाङका निर्देशक सञ्जीव छेत्रीले राखेका थिए। यसै कार्यक्रममा डा आशा मुखिया लामाद्वारा सम्पादित पूर्ण गुरुङ ‘निरुपम’ अभिनन्दन ग्रन्थ ‘पूर्ण परिचय’ को लोकार्पण सभाध्यक्ष वरिष्ठ साहित्यकार जीबी बल, प्रमुख अतिथि वरिष्ठ साहित्यकार राजु प्रधान ‘हिमांशु’, विशिष्ट अतिथिहरु क्रमैले सोनादा डिग्री कलेजका प्राचार्य डा योगेस खाती, पूर्ण गुरुङ ‘निरुपम’, मुक्ति बराल उपाद्यय, शताब्दी पुरुष डीएस दर्नाल, गोर्खा जनपुस्तकालय खरसाङका अध्यक्ष रबीनकुमार प्रधान, विष्णु ठकुरी, पण्डित तुलसी अधिकारी, सुदर्शन अम्बटे, ललिता जोशी, सम्पादिका आशा मुखिया लामा आदिको बाहुलीबाट विधिवत् रूपमा लोकार्पण गरिएको छ। उक्त अभिनन्दन ग्रन्थ लोकार्पण भएको घोषणा प्रमुख अतिथि राजु प्रधान ‘हिमांशु’ ले गरेका थिए।
कार्यक्रममा पूर्ण गुरुङ ‘निरुपम’को परिचय गोमा सुब्बाद्वारा राखिएको थियो। कार्यक्रममा सम्पादिकाको पक्षमा बोल्दै आशा मुखिया लामाले यस अभिनन्दन ग्रन्थ प्रकाशित गर्न अनुमति दिने पूर्ण गुरुङ ‘निरुपम’, प्रकाशक पति पारस लामा, लेखकहरु र उपस्थित सबैलाई धन्यवाद दिएकी छन्। कार्यक्रममा वरिष्ठ साहित्यकार एवं नाट्यकर्मी पूर्ण गुरुङ ‘निरुपम’, प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ साहित्यकार राजु प्रधान ‘हिमांशु’, सभाध्यक्ष वरिष्ठ साहित्यकार जीबी बलले आफ्नो सम्बोधन गरेका थिए।
कार्यक्रममा पूर्ण गुरुङ ‘निरुपम’ अभिनन्दन ग्रन्थमा रचना दिएर सहयोग गर्ने सबैप्रति अभिनन्दन ग्रन्थ प्रदान गरिएको थियो। यस कार्यक्रम र पूर्ण गुरुङ ‘निरुपम’ अभिनन्दन ग्रन्थ ‘पूर्ण परिचय’ विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सम्पादिका आशा मुखिया लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।












