सुकेपोखरी खण्ड प्राथमिक स्वास्थ्य केन्द्र अन्तर्गतका आशाकर्मीहरूले सियोक गुदामधुराकी आशाकर्मी पनिना राईलाई राहतस्वरूप अत्यावश्यक सामग्री तथा रु. ५०,००० आर्थिक सहयोग गरेका छन्। राई गत अक्टोबर ४ र ५ तारिखको भीषण वर्षाका कारण आएको पैह्रोबाट घरविहिन बनेकी थिइन्। सहयोग कार्यक्रमका क्रममा आशाकर्मीहरूले सरकारबाट आफ्नो सेवा अनुसार उचित पारिश्रमिक नपाएको, साथै कामको क्रममा कुनै दुर्घटना वा मृत्यु भए पनि क्षतिपूर्ति र बीमाको व्यवस्था नहुँदा ठूलो कठिनाइ भोग्नुपरेको गुनासो व्यक्त गरे। त्यसै कारण सुकेपोखरी खण्डका आशाकर्मीहरूले आफ्नै मानदेयबाट मासिक रूपमा केही रकम बचत गरी आकस्मिक अवस्थाका लागि राहत कोष स्थापना गरेका छन्। यही कोषबाट उक्त सहयोग गरिएको सोनादा क्षेत्रकी आशाकर्मी सारिका राईले जानकारी दिइन्।











