बिजनबारी,15 जुलाई(निसं): दार्जीलिङ विधानसभा विधायक नोमन राई र दार्जीलिङ-पुलबजार खण्ड विकास अधिकारी (बीडीओ)-वीच मंगलबार सौहार्दपूर्ण शिष्टाचार भेटघाट भयो। उक्त जानकारी विधायक राईले सार्वजनिक गरेका छन्।
विधायक निर्वाचित भएपछि पहिलोपटक खण्डविकास अधिकारीसँग औपचारिक भेटघाट तथा शिष्टाचार बैठक गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले बैठकमा बिजनबारी खण्डको समग्र विकास, जनतामुखी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने तथा आगामी दिनमा प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने योजनाका विषयमा विस्तृत छलफल भएको जानकारी दिएका छन्।
विधायक राईको जानकारी अनुसार, बैठकमा निकट भविष्यमा बिजनबारी खण्डका सबै विभागीय अधिकारीहरूसँग संयुक्त बैठक आयोजना गर्ने सहमति समेत भएको बताइएको छ। उक्त बैठकमार्फत जनताको आवश्यकता र अपेक्षाअनुसार विकासका योजनाहरूलाई तीव्र, पारदर्शी तथा परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
विधायक राईले खण्डका प्रत्येक नागरिकले विकासको प्रत्यक्ष अनुभूति गर्न सकून्, सरकारी सेवा सहज र प्रभावकारी रूपमा प्राप्त गर्न सकून् तथा जनताको हितलाई केन्द्रमा राखेर प्रत्येक योजना कार्यान्वयन गरिने आफ्नो उद्देश्य रहेको बताएका छन्। साथै, विकासको यस यात्रामा सम्पूर्ण जनसमुदायको साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा रहेको पनि उनले उल्लेख गरेका छन्।
भेटघाटको क्रममा बिजनबारी लगायत वरिपरिका समष्टिका प्रतिनिधिहरुको समेत उपस्थिति रहेका थिए।











