दार्जीलिङ,16 जुलाई(निसं): मेहनत र लगनले पहिचान बनाएकी सिभिक भोलिन्टियर तथा धाविका प्रतिभा राईको सफलतामा दार्जीलिङ पहाडवासी साथै विभागले प्रसंशा अनि बधाई दिइएकोछ।
दार्जीलिङ महकुमा अन्तर्गत जोरबङलो–सुकियापोखरी खण्ड अन्तर्गत टर्जम निवासी प्रतिभा राई आजको समाजमा महिलाहरू केवल घरायसी काममा मात्र सीमित छैनन् भन्ने उदाहरण बनेकी छन् भनी जानकारी गराएकोछ। जानकारी अनुसार, पेशागत रूपमा सिभिक भोलिन्टियर रहेकी राईले म्याराथन दौडमार्फत आफ्नो व्यक्तिगत परिचय मात्र नभई समाज र क्षेत्रको नामसमेत उच्च बनाउँदै आएकी छन्।
सानैदेखि दौडप्रति रुचि राख्दै आएकी राईले स्थानीय स्तरदेखि सिलगढी, कोलकाता, जलढका तथा छिमेकी राष्ट्र नेपालका धरान र तरहरासम्म आयोजित विभिन्न म्याराथन तथा ट्रेल रन प्रतियोगितामा सहभागी हुँदै उत्कृष्ट प्रदर्शन गरेकी छन्। उनले विभिन्न प्रतियोगितामा विजेता तथा पुरस्कृत हुँदै आफ्नो प्रतिभा प्रमाणित गरेकी छन्।
प्रतिभा राईले बताए अनुसार, ट्राफिक ईञ्चार्ज पेम्बा लामाको सहयोगले विभिन्न प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त भएको हो। उनी एक गृहिणीसमेत हुन् र आफ्नै मेहनत तथा परिश्रमबाट परिवारको जिम्मेवारीसमेत वहन गर्दै आएकी छन्।
यद्यपि, खेलकुद क्षेत्रमा हालसम्म कुनै विशेष आर्थिक सहयोग वा पर्याप्त प्रोत्साहन नपाएको उनको भनाइछ। उनले आफू भविष्यमा पनि लगनशीलताका साथ खेल क्षेत्रमा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै मेहनत गर्ने व्यक्तिहरूको उचित मूल्यांकन र सम्मान हुनुपर्नेमा जोड दिएकी छन्।
प्रतिभा राईको संघर्ष, आत्मविश्वास र निरन्तर मेहनतले समाजका अन्य महिलाहरूलाई पनि आफ्नो क्षमता पहिचान गरी अगाडि बढ्न प्रेरणा दिएको छ भनी राईले बताइन्।












