देशका अन्य स्थानहरू झैँ दार्जीलिङ खरसाङ्मा पनि भगवान् श्री जगन्नाथको पवित्र रथयात्रा पूर्ण श्रद्धा, आस्था र भक्तिभावको साथ भव्य रूपमा सम्पन्न भएको छ। बिहीवार बिहानदेखि नै भारी वर्षा भए तापनि खरसाङ्को नयाँबजारस्थित श्री जगन्नाथ मन्दिरबाट विगतका वर्षहरू झैँ भगवानको रथयात्रा एवं शोभायात्रा भक्तिभाव, भजन-कीर्तनको साथमा निकालियो। रथयात्रामा धेरै संख्यामा भक्तजनले सहभागिता दर्शाएका थिए। रथयात्रा नगर परिक्रमा गर्दै विभिन्न मार्ग हुँदै पुनःजगन्नाथ मन्दिरमा पुगेपछि विशेष पूजा-अर्चना, आरती तथा भक्तजनहरूमा प्रसाद वितरण संगै भगवान जगन्नाथको यात्रा सम्पन्न भयो।
रथयात्रामा साना बाल-बालिकादेखि ज्येष्ठ नागरिकसम्मले सहभागिता जनाएका थिए साथै विभिन्न क्षेत्रका भक्तजन पनि धेरै उत्साहको साथमा सहभागी थिए। यस अवधि केवल सनातन धर्मावलम्बीहरू मात्र होइन तर विभिन्न सामाजिक तथा धार्मिक संस्थाका प्रतिनिधिहरूले पनि भगवान जगन्नाथको रथयात्रामा आफ्नो उपस्थिति दिएको थिए। शोभायात्रामा खरसाङ ब्रह्माकुमारी संस्थाका प्रतिनिधिहरू एवं सदस्यहरू, नयाँबस्ती गुम्बाका लामाहरू, नेपाली सांस्कृतिक बाजा टोली, नेपालको विर्तामोड़बाट आएको नौमती बाजाको टोली, जलपाईगढ़ीबाट हरे कृष्ण हरे रामाको कीर्तनको टोली सहभागी रहेका थिए। यी विभिन्न टोलीहरूले आकर्षक धार्मिक एवं सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए।
यात्राको क्रममा शहरका विभिन्न प्रसिद्ध मन्दिर अघि भगवान् जगन्नाथको विशेष आरती कार्यक्रम प्रस्तुत गरिएको थियो भने खरसाङ मोटर स्ट्याण्डमा भजन-कीर्तन, धार्मिक नृत्य, सांगीतिक प्रस्तुति संगै श्रद्धालुहरू भक्तिमय वातावरणमा रमाएका थिए। यस अवधि पत्रकारहरूसित बोल्दै, श्री जगन्नाथ रथयात्रा महोत्सव आयोजक अखण्ड हरि संकीर्तन समिति खरसाङका वरिष्ठ प्रतिनिधि राजेन्द्र प्रसाद अग्रवालले जनाए अनुसार, पूर्वजदेखि चल्दै आएको परम्परा एवं आस्था र विश्वास अनुसार रथयात्राको अवधि, असार शुक्ल तृतीयमा भगवान जगन्नाथजी आफ्नो छेमाको घर जानु हुन्छ एवं यसरी परिक्रमाको क्रममा भगवानले आफ्नो भक्तजनहरुलाई दर्शन एवं आशीर्वाद दिने गर्छन्।
तिनले भने- खरसाङ्का पनि लगभग डेढ़ सय वर्ष अघिदेखि नै भगवान जगन्नाथजीको रथ यात्रा आयोजन हुने गर्छ। विगतका वर्षहरूमा खरसाङस्थित जगन्नाथ मन्दिरपक्षद्वारा भक्तजनहरूको सहयोगमा समान्य रूपमा रथयात्रा आयोजन हुने गरेको थियो। गत केहि वर्षदेखि खरसाङ्का विभिन्न सनातनी धर्मवालम्बीहरूको सहयोगमा अखण्ड हरि संकीर्तन समितिको आयोजनामा एवं सबैको सहभागितामा भव्यरुपमा रथयात्रा महोत्सव पालन गर्ने गरिन्छ। रथ यात्रामा स्थानीय एवं क्षेत्रका भक्तजनहरू सहित देशको अन्य विभिन्न ठाउँ अनि शहरबाट पनि कतिपय भक्तजनहरू प्रति वर्ष आउने गर्छन् एवं यात्रामा सहभागिता जनाउने गर्छन्। यस वर्ष पनि भगवान जगन्नाथको रथयात्रा खरसाङ्मा धार्मिक सद्भाव, सामाजिक एकता र सांस्कृतिक समन्वयको सुन्दर सन्देश प्रवाह गर्दै भक्तिभावपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले बताएका छन्।











