खरसाङ, (सुवास छेत्री): दार्जीलिङ पहाड़मा चियासँगै अर्को प्रख्यात मानिने खेती हो सुन्तला। दार्जीलिङ पहाडको अम्बटे चियाबारी, मिरिकका विभिन्न क्षेत्रहरू, सिटोङ लगायत दार्जीलिङका केही स्थानहरू आज पनि सुन्तलाको निम्ति प्रख्यात मानिन्छ। तर आजभोलि यी क्षेत्रहरूमा पनि सुन्तला खेतीमा निक्कै ह्रास आएको छ। विशेषगरी सुन्तलामा लाग्ने एक प्रकारको रोगले सुन्तलाको बोटलाई नै टुप्पोबाटै मारिदिने गरेकोले कृषकहरू हैरान छन्।
सुन्तलाको बोटमा यसरी किरा लाग्ने तथा टुप्पोबाटै सुक्ने रोग लागेपछि अचेल सुन्तला उत्पादनमा निक्कै कमी आएको छ भने यता सुन्तलाको भाव पनि बजारमा निक्कै बढ़ेको छ, तर यता कृषकहरूलाई भने निक्कै नोक्सानमा पारेको कृषकहरूलाई बताउँछन्। तिनीहरू अनुसार यस रोगलाई रोकथाम गर्ने चेष्टा पनि नगरेका होइनन्, तर रोगको सटीक उपचार गर्न नसकिएपछि सुन्तलाको खेती गर्न नै छोड़िदिएको बताएका छन्।
मिरिको सौरेनी बस्ती लगायत संलग्न क्षेत्रमा पनि सुन्तला खेतीमा निक्कै कमी आएको देखिएको छ। मिरिक अनि अम्बटेको सुन्तला धेरै स्वादिष्ठ हुन्छन् तर आजभोलि यी क्षेत्रहरूमा पनि सुन्तलाको उत्पादनमा कमी आएपछि चिन्ता व्यक्त गर्छन् क्षेत्रका मानिसहरू। यी रोगहरूको स्थायी उपचार गरेर पुनः सुन्तला खेतीलाई फ्रस्टाउने सल्लाह दिन्छन् उनीहरू।










