अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी समुद्री तटमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा ११ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’ (एबीसी) का अनुसार घटनामा घाइते भएका कम्तीमा १६ जनालाई अस्पताल भर्ना गरिएको छ भने अन्य धेरैको घटनास्थलमै उपचार भइरहेको छ।
सिड्नी प्रहरीले एक अज्ञात समूहद्वारा गरिएको आक्रमणमा ‘केही व्यक्तिको’ मृत्यु भएको पुष्टि गर्दै घटनामा संलग्न हुन सक्ने आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको जनाएको छ।
घटनाको समयमा यहुदी समुदायका धेरै सदस्यहरू साँझ दीप प्रज्वलन गरी मनाइने आठ दिने यहुदी पर्व हनुक्का मनाउने क्रममा छुट्टी बिताउन समुद्र तटमा भेला भएका थिए।अस्ट्रेलियाको यहुदी संघका प्रमुख रोबर्ट ग्रेगरीले बोन्डी बिचमा हनुक्का कार्यक्रमकै क्रममा भएको उक्त गोलीकाण्डलाई ‘दुःखद भए पनि पूर्ण रूपमा पूर्वानुमानित’ घटना भएको टिप्पणी गरेका छन्। फ्रान्सको समाचार संस्था एएफपीका अनुसार ग्रेगरीले अल्बानिज सरकारलाई पटक–पटक चेतावनी दिइए पनि यहुदी समुदायको सुरक्षाका लागि पर्याप्त कदम चाल्न सरकार असफल भएको आरोप लगाएका छन्।












