गोर्खा राष्ट्रिय नारी संगठन केन्द्रीय समिति तथा गोर्खा राष्ट्रिय नारी संगठन दार्जीलिङ ब्राञ्च कमिटीको संयुक्त आयोजनामा आज गोर्खा समुदायको मौलिक सांस्कृतिक पर्व असार पन्ध्र गोरामुमो केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमका साथ उल्लासपूर्वक मनाइएको छ। यसबारे जानकारी पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले दिएका छन्।
कार्यक्रम गोर्खा राष्ट्रिय नारी संगठन केन्द्रीय समितिकी अध्यक्ष मणिकला तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गोरानासं दार्जिलिङ ब्राञ्च कमिटीकी अध्यक्ष बसुन्धारा प्रधान, गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय कार्यालय सचिव अमर तामाङ, केन्द्रीय समिति सदस्य के.बी. गुरुङ, गोरानासं केन्द्रीय तथा दार्जिलिङ ब्राञ्च समितिका प्रतिनिधिहरू र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अवसरमा गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङको तस्वीरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि सहभागीहरूले परम्पराअनुसार दही–चिउराको टीका लगाई सामूहिक रूपमा दही–चिउरा ग्रहण गर्दै असार पन्ध्र पर्व मनाएका थिए।
सो अवसरमा अध्यक्ष मणिकला तामाङले विशेष मन्तव्य राख्दै गोर्खा समुदायको मौलिक संस्कृति, भाषा, परम्परा र पहिचानको संरक्षण गर्नु प्रत्येक गोर्खाको साझा दायित्व भएको बताइन्। उनले गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङको मार्गदर्शनअनुसार पार्टीले विगतदेखि नै असार पन्ध्रजस्ता मौलिक सांस्कृतिक पर्वहरूको संरक्षण र प्रवर्द्धन गर्दै आएको तथा वर्तमान अध्यक्ष मन घिसिङको नेतृत्वमा पनि यस परम्परालाई निरन्तरता दिइँदै आएको उल्लेख गरिन्।
उनले असार १५ किसानहरूको श्रम, सम्मान र समृद्धिसँग जोडिएको पर्व भएको बताउँदै गोर्खा समुदायमा दही–चिउरा खाएर पर्व मनाउने विशिष्ट परम्पराले हाम्रो सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने कार्य गरेको धारणा व्यक्त गरिन्। किसानहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्तामा आफ्नो मौलिक संस्कृतिप्रति गर्व र अपनत्वको भावना विकास गर्न यस्ता पर्वहरूको संरक्षण अपरिहार्य रहेको उनले जोड दिइन्।
अन्त्यमा अध्यक्ष मणिकला तामाङले सम्पूर्ण गोर्खा समुदायलाई असार पन्ध्रको हार्दिक शुभकामना व्यक्त गर्दै सबै एकजुट भएर आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षणमा लाग्न आह्वान गरिन्। उनले “संस्कृति बाँचे मात्र जाति बाँच्छ” भन्ने सन्देश दोहोर्याउँदै गोर्खा समाजको गौरवशाली सांस्कृतिक सम्पदाको संरक्षण नै भावी पुस्ताप्रतिको हाम्रो जिम्मेवारी भएको बताइन्।













